६ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

गर्मीले धमाधम बन्द हुँदै बाँकेका विद्यालय

विद्यालय जाँदै गरेका बाँके, राप्ती सोनारीका विद्यार्थीहरु। तस्बिरः नागरिक

अत्यधिक रुपले गर्मी बढ्दै गएपछि बाँकेका विद्यालय धमाधम बन्द हुन थालेका छन्। जिल्लाका केही स्थानीयले विद्यालय बन्द गर्ने निर्णय नै गरिसकेका छन्। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।  

गर्मी अत्यधिक बढेका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिनका लागि विद्यालयको पठन–पाठन बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाले बताए। उनका अनुसार यही जेठ २७ देखि जेठ ३१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिनेछ।

यस्तै कोहलपुर नगरपालिकाले पनि यही जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ। शाखा प्रमुख रबिलाल मिजारले पाँच दिनका लागि गर्मी बिदा दिइएको बताए।  

आवश्यकताका आधारमा प्रशासनिक कार्य तथा पूर्व निर्धारित परीक्षाहरु नियमित हुनुका साथै मौसम अनुकूलताका आधारमा बिदामा पुनर्विचार हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।  

यसैगरी जिल्लाको खजुरा गाउँपालिकाले पनि सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या आएपछि यही जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म गर्मी बिदा गरिएको जानकारी दिए।  

पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष खुला राखिने उनले बताएका छन्। जिल्लाका अन्य स्थानीय तहले भने गर्मी बिदा दिने विषयमा अझै निर्णय गरिसकेका छैनन्।

प्रकाशित: २६ जेष्ठ २०७९ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App