coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

चिकित्सा शिक्षामा परसेन्टाइल प्रणाली

चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूको दबाबमा चिकित्सा शिक्षामा धेरै विद्यार्थी पास गराउने उद्देश्यले प्रवेश परीक्षाको नतिजा परसेन्टाइल प्रणालीमा प्रकाशित गरेको छ।

मेडिकल कलेजहरूको दबाबमा आयोगले ५० औं परसेन्टाइल कटअफ स्कोर (परीक्षामा सहभागिता जनाएकामध्ये आधा पास गराउनेगरी यसपटकको नतिजा प्रकाशित गरेपछि एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएएसएलपी, बिपरफ टेक्नोलोजीमा पास हुने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ। आयोगले दुई वर्षदेखि चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ।

गत वर्षसम्म प्रतिशत प्रणालीबाट परीक्षा सञ्चालन गरेको आयोगले यसपटक परीक्षामा सहभागि भएकामध्ये आधा विद्यार्थी पास गराउन परसेन्टाइल अवधारणा ल्याएको हो। गत वर्ष नर्सिङ र बिफारमेसीमा धेरै विद्यार्थी फेल भएका कारण कलेजहरूका धेरै सिट खाली रहे भने एमबिबिएसमा समेत कलेजहरूले विद्यार्थी पाउन सकेनन्।

तर यसपटक भने ५० औं परसेन्टाइल कटअफ स्कोर अर्थात् परीक्षा दिएकामध्येबाट आधा विद्यार्थी पास गराउने अवधारणाले धेरै विद्यार्थी पास हुँदा मेडिकल कलेज सञ्चालकहरूले प्रयाप्त विद्यार्थी भर्ना गर्ने निश्चित बनेको छ। आयोगले प्रकाशित गरेको नतिजाअनुसार यसपटक चिकित्सा शिक्षाका विभिन्न विषय अध्ययन गर्न कुल ३२ हजार ५ सय ६५ विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएका थिए, जसमध्ये १५ हजार ५ सय ६८ विद्यार्थी मेडिकल शिक्षा पढ्न पास भएका छन्।

कुनै पनि विद्यार्थीले कुनै पनि विषयमा सय नम्बर ल्याउन सकेका छैनन्। प्रकाशित नतिजाअनुसार यसपटक एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएएसएलपी र बि परफ टेक्लोजीतर्फ कुल १७ हजार ४ सय ६७ विद्यार्थी परीक्षा दिन योग्य ठहरिएका थिए। जसमध्ये ८ हजार ७ सय ४७ पास भएका छन्। यी विषयको पास हुने कटअफ स्कोर ५१.७५ मात्र तोकिएको थियो।

यसको आधार भने ५० औं परसेन्टाइल कटअफ स्कोर कारण हो। गत वर्ष यी विषयहरू कुल २०० पूर्णाङ्कको हुने गरेको थियो। पास अंक सय अनिवार्य थियो। अर्थात् ५० प्रतिशत ल्याउनैपर्ने। यसले मेडिकल शिक्षाको गुणस्तर कायम गरेको थियो। तर अब परसेन्टाइलमा आधा विद्यार्थी पास गराउने प्रणालीले मेडिकल शिक्षाको गुणस्तरमाथि नै प्रश्न चिह्न खडा गरेको छ। यसपटक मेडिकलको प्रवेश परीक्षामा कुनै पनि विषयमा विद्यार्थीले सय नम्बर कटाउनु परेन।

अर्थात् यी विद्यार्थीहरू विभिन्न कलेजमा अध्ययन गर्न योग्य भएका छन्। गत वर्ष यो संख्या निकै कम थियो। कलेजहरूले यी विषयहरूमा विद्यार्थी नपाएर सिट खालि नै राख्नुपरेको थियो। यसैगरी बिअपटोमेट्रीमा कुल १ हजार ३६ विद्यार्थीले परीक्षा दिएकोमा यसको आधा अर्थात् ५ सय १९ पास गराइको छ। यसैगरी बिएएमएसमा ५ सय ३ ले परीक्षा दिएकामा २ सय ५४ पास भएका छन् भने बिएनएसमा ३ हजार ६ सय ५१ ले परीक्षा दिएकामा १ हजार ८ सय ३१ पास भएका छन्।

यसैगरी बिफार्ममा ३ हजार ९ सय २८ ले परीक्षा दिएकामा १ हजार ९ सय ७३, बिपिटीमा ५ सय ७७ ले परीक्षा दिएकामा २ सय ९० पास भएका छन्। बिएससी एमआइटीमा २ सय ७० ले परीक्षा दिएकामा १ सय ३६ पास भएका छन् भने बिएससी एमएलटीमा ९ सय ९१ ले परीक्षा दिएकामा ४ सय ९८ विद्यार्थी पास भएका छन्। साथै बिपिएचमा २ हजार ६ सय २३ विद्यार्थीले परीक्षा दिएकामा १ हजार ३ सय २० पास भएका छन्। आयोगका अनुसार यी कुनै पनि विषयमा विद्यार्थीले सय नम्बर कटाएका छैनन्। 

आयोगका उपसचिव दामोदर फुँयालले गत वर्ष सञ्चालन गरिएको प्रतिशत प्रणालीको परीक्षामा विद्यार्थीले ५० प्रतिशत अर्थात् सय नम्बर ल्याउनै पर्ने बाध्यताका कारण धेरै विद्यार्थी फेल भएको र कलेजका धेरै सिट खालि नै रहेको जनाए।

‘धेरै विद्यार्थी फेल भएपछि कलेजको लगानी डुब्ने गुनासा आए। आयोगले अध्ययन गर्‍यो। विश्वभर परसेन्टाइल प्रणाली कार्यान्वयन भएको देखियो। नेपालमा पनि लागु गरियो,’ उपसचिव फुँयालले नागरिकसँग भने, ‘५० औं परसेन्टाइल कटअफ स्कोर कायम गरियो अर्थात् परीक्षार्थीमध्ये आधाआधी पास गराउने प्रणाली लागु भयो। सय नम्बर कटाउन परेन।’ उनले थपे, ‘यसपटक धेरै विद्यार्थी पास भए। स्वदेश र विदेशमा समेत अध्ययन गर्न पाए।’

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीका अनुसार प्रतिशत प्रणालीमा प्रश्न गाह्रो आयो भन्दै धेरै विद्यार्थी फेल हुने गुनासो पनि यसपटकदेखि सकिएको छ। ‘परीक्षा दिएका योग्यहरूमध्ये राम्रामध्येबाट आधा विद्यार्थीलाई परीक्षा पास गराइएको हो,’ उपाध्यक्ष गिरीले नागरिकसँग भने, ‘परसेन्टाइलमा आधा पास हुने भएपछि प्रश्न गाह्रो र सजिलोको कुनै सवाल नै रहेन। धेरै योग्य विद्यार्थीले मेडिकल पढ्न पनि पाए।’ उपाध्यक्ष गिरीले परसेन्टाइल प्रणालीले मेडिकल शिक्षाको गुणस्तरसमेत कायम गरेको दाबी गरे।  

मेडिकल शिक्षामा विकृति रोक्न विदेशी विद्यार्थीसँग आयोगले गरायो कबुलियतनामा

आयोगमा उपसचिव दामोदर फुँयालका अनुसार मंगलबार आयोगको प्रवेस परीक्षा पास भएका विदेशी विद्यार्थीहरूको कलेज छनोट गर्न भौतिक उपस्थित गराइएको थियो। यसपटक भारत, श्रीलंका र अमेरिकाका कुल ६३ विदेशी विद्यार्थी पास भएकामध्ये मंगलबार भौतिक रूपमा ३१ मात्र उपस्थित रहे। उपसचिव फुँयालले गत वर्ष अनलाइनबाट कलेज मेचिङ गरेकामध्ये ५० विद्यार्थीले भर्ना नगराएपछि यसपटक भौतिक उपस्थित गराइएको जनाए।

यसपटक भारतबाट २७, श्रीलंकाबाट ३ र अमेरिकाका १ गरी कुल ३१ विदेशी विद्यार्थीले भर्नाका लागि निश्चित गरेका छन्। ‘३१ मध्ये २९ एमबिबिएस र एक–एक जना बिडिएस र बिफार्मका छन्,’ उपसचिव फुँयालले भने, ‘विदेशी विद्यार्थीहरूले गत वर्ष अनलाइनबाट कलेज मेचिङ गरी एउटै कलेजको ५० सिट ओगटे तर एक जना मात्र भर्ना भए। ४९ सिट खालि रह्यो। पछि नेपाली विद्यार्थीले अवसर पाए। यसमा पनि विदेशी विद्यार्थीले नेपाली विद्यार्थीसँग खोजीखोजी बार्गेनिङ गर्ने विकृति पनि छ।’

उनले थपे, ‘त्यही भएर यसपटक यस्ता विकृतिहरू रोक्न र विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न निश्चित गराउन कबुलियतनामा गराइयो। बाँकी रहेका ३२ विद्यार्थीले पनि जेठ अन्तिमसम्म कलेज मेचिङ गर्न भौतिकरूपमा उपस्थित नभए उनीहरूले अवसर गुमाउने छन्।’

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App