८ वैशाख २०८१ शनिबार
शिक्षा

केन्द्रीय पुस्तकालय: बिहान ३ बजेबाटै पढ्नेको लाइन

पुस्तक र पुस्तकालयप्रतिको ‘क्रेज’ घट्दो होइन, बढ्दो छ

हामीलाई लाग्न सक्छ, ‘हरेकका घरमा इन्टरनेट छ। हातहातमा मोबाइल छ्न्। अधिकांशले ल्यापटप चलाउँछन्। आइप्याड वा ट्याब्लेट नचलाउने बिरलै छन्। इन्टरनेटसहितका यी उपकरणमा ‘गुगल सर्च इन्जिन’ पनि छदैछ। त्यसैले ज्ञान बटुल्न यीनै उपकरण पाठकहरुका लागि पर्याप्त छन् वा तीनै उपकरणमा आफूले खोजेका पुस्तकहरु पढ्न पाइन्छ। किन चाहियो पुस्तकालय? र, किन जानु पर्‍याे पुस्तकालय?’

तर यसो होइन। तपाई–हामीले अनुमान गरे जस्तो पुस्तकालय र पुस्तकप्रतिको ‘क्रेज’ घटिसकेको छैन। अहिलेपनि सबै किसिमका पाठक पुस्तक पढन पुस्तकालयनै पुग्छन्। पुस्तकलाई स्पर्श गर्न रुचाउँछन्। पुस्तकालयमै बसेर ज्ञान हांसिल गर्न चाहन्छन्। इन्टरनेटमा पढने पाठकहरु पनि पुस्तकालयकै वातावरण रुचाइरहेका छन्। उनीहरु आफ्ना ल्यापटपसहित पुस्तकालयनै पुगिरहेका छन्। घण्टौसम्म पुस्तकालयमा बिताउँछन्।  

त्यसैले होला त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पुस्तक पढने पाठकहरुको लाइन बिहान ३ बजेबाटै सुरु हुन्छ। केशरमहलमा रहेको केशर पुस्तकालयमा पनि पाठकहरुको चाप घटेको छैन। त्यसैले भन्न सकिन्छ, ‘पुस्तक र पुस्तकालयप्रतिको ‘क्रेज’ घट्दो होइन बढ्दो छ।’

कीर्तिपुर खत्री छापका सुर्दशन केसी पेशाले प्राध्यापक हुन्। उनी विहान ६ बजेदेखि १० बजेसम्म कीर्तिपुरको सहिद स्मारक कलेजमा म्यानेजमेन्ट विषय अध्यापन गर्छन्। 

कीर्तिपुर खत्री छापका सुर्दशन केसी।

साथै उनी त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन विषयमा एमफिल दोस्रो समेष्टरमा अध्ययन समेत गर्छन्। उनी दैनिक पाँच/सात घन्टा केन्द्रीय पुस्तकालयमा बिताउँछन्। १० बजे कलेज सकेपछि केसी खाना खाएर पुस्तकाल पुग्छन्। त्यहाँ विभिन्न रिसर्चका साम्रगीहरुको अध्ययन गर्छन् र साँझ पुस्तकालय बन्द भएपछि घर फर्किन्छन्।  

केसी भन्छन्,‘मेरो पाँच सात घन्टा यही वित्छ। यहाँ आएर पढ्दा बेग्लै किसिमको आनन्द पाउनुका साथै अन्य साथीहरुसँग अन्तक्रिया गर्न पाइन्छ जुन वातावरण घरमा मिल्दैन। लाइब्रेरी आएपछि सबै जनाले पढेको देख्दा आफूमा पनि उत्साह बढ्छ। खोजेको सामग्री तत्कालै भेटिन्छ। सामाजिक अन्तक्र्रियाको रुपमा सेयर गर्न सक्छौँ। घर बस्दा नेटको समस्या हुनुको साथै अन्य समस्या पनि आउन सक्छ तर पुस्तकालयमा पुगेपछि टोटल फोकस पुस्तकमा नै हुन्छ। आफ्नो रिसर्चबाहेक सोसल नेटवर्क केही पनि चलाउँदैनौँ। ’

उनको समूहमा चारपाँच जना छन्। नबुझेको कुरा एक आपसमा सल्लाह गर्छन्। उनी दिनमा चार वटासम्म लेख पढ्न भ्याउँछन्। भर्चूअल भन्दा पनि प्रत्यक्ष रुपमा किताब देखेपछि झन पढ्न मन लाग्छ। सिक्नुपर्छ भन्ने वातावरणको विकास हुन्छ कति पय त हाम्रै विद्यार्थी पनि विभिन्न तयारीका लागि आएका हुन्छन्। त्यो देखेपछि हामीलाई पनि थप अपडेट हुन मन लाग्छ।’ घरमा बस्दाखेरी खासै पढ्ने बातावरण नहुने र अन्य समस्या पनि आउने उनी बताउँछन्।  

काठमाडौँ गोंगबुका शंकरकुमार रावत पनि व्यवस्थापनमा एमफिल सेकेन्ड सेमिस्टर अध्ययनरत छन्। उनी बिहान १० बजेदेखि बेलुका पाँच बजेसमम्म केन्द्रीय पुस्तकालयमै भेटिन्छन्। 

उनी भन्छन्, ‘पुस्तकालयमा पढ्दा निकै रमाइलो हुन्छ। यहाँ पढ्दा दिमाग एकै ठाउँमा केन्द्रित हुन्छ। घरमा हुँदा सोसल मिडिया चलाउनुका साथै कहिले कता कहिले कता अलमल भैरहन्छ मन चारैतिर बहकिन्छ तर यहाँ एउटै कुरामा फोकस हुने भएको हुनाले म हरेक दिन पाँच/सात घन्टा यही विताउँछु।’

केसी र रावत त प्रतिनिधि पात्र मात्रै हुन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा दैनिक तीन चार सयको हाराहारीमा पुस्तक पढ्ने पाठकहरु आउने गरेका छन्। विज्ञानप्रविधिको तीब्र विकास भएपनि पुस्तक पढ्नेको संख्या भने नघटेको त्रिभुवन विश्वविद्यालयका सूचना अधिकृत विजय शर्मा बताउँछन्।

उनका अनुसार किताब पढ्नका लागि विहान ३ बजेदेखि नै पाठकहरुको लाइन लाग्ने गर्छ। पुस्तकालयभन्दा बाहिरको प्रिपेक्स टहारामा १ सय ५० जनाको क्षमता छ। उक्त टहरमा विश्वविद्यालय भन्दा बाहिरका पाठकहरु पनि आएर पढ्ने गर्छन्। उनीहरु आफ्नो किताब ल्याएर पढ्छन् र आफ्नो समय भएपछि जाने गर्छन्।

सूचना अधिकारी शर्मा भन्छन्, ‘कहिलेकाहिँ त सिट नपुग्ने भएकाले कतिपय अवस्थामा सिट थपिदिन्छौँ। प्रिपेक्स टहरा जाडोको बेलामा ६ बजे खुल्छ भने गर्मीको समयमा विहान पाँच बजेदेखि नै खुल्ने गर्छ।’  

उनकाअनुसार विश्वविद्यालयका अनलाइन युजर र बाहिरका अनलाइन युजर आएर पढ्छन्, कतिपय युजरहरुले आफूले चाहेको जस्तो सुविधायुक्त ठाउँ नपाउने भएकाले विहानै ३ बजेनै आएर लाइन लाग्ने गर्छन। मुख्य पुस्तकालयको क्षमता ५ सय छ। त्यो पनि लगभग भरिपूर्ण नै हुन्छ।’ त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयमा हालसम्म चार लाख ६० हजारभन्दा बढी किताहरू  दर्ता भएका छन्।

विश्वविद्यालयले सन् २०२१ म एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग अनलाइन ई-रिसोर्से प्रयोगका लागि सम्झौता भएको थियो। एशियन विकास बंैंकको डाटाबेसमा ३ लाखभन्दा बढी रिसोर्सेस उपलब्ध रहेका छन् साथै भारतको नेशनल डिजिटल लाइब्रेरीकाृ डाटाबेसमा ३५ करोडभन्दा बढी ई पुस्तकका साथै हजारौँ संख्यामा अडियोभिडियो लेक्चर तथा परीक्षासँग सम्बिन्धत प्रश्नपत्र छन्। ती सबै फाइदा प्रत्यक्ष पाठकहरुले उठाइरहेका छन्।  

त्यसैगरी त्रिवि केन्द्रिय पुस्तकालयमा विशेषगरी लोकसेवा, शिक्षा सेवा र विभिन्न देशका तयारी गर्नेको संख्या विद्यार्थीको संख्या तीब्र रहेको छ।  

अधिकारी शर्मा भन्छन्, ‘पाठन संस्कृतिमा पाठकको क्रेज बढिरहेको छ। त्रिभुवन विश्व विद्यालयको सेन्टर लाइब्रेरी भनेको विश्वविद्यालयका पाठकहरुलाई मात्रै त होइन। अरु पाठकहरुका लागि पनि हो। त्यही सुविधाअन्तर्गत उहाहरु पनि आफ्नो किताब ल्याएर पढ्नुहुन्छ। अनलाइन सोर्स त छँदै छ फिजिकल रुपमा आएर पनि यो कोभिड पछि फिजिकल रुपमा सहजसँग लाइब्रेरी खोल्यौँ। त्यसपछि युजरहरुको फ्लो चाहिँ बढिराखेको छ। पछिल्लो समयमा लोक सेवा आयोगको तयारी गर्ने विद्यार्थीहरुको संख्या धेरै छ।

विश्वविद्यायमा सेमेष्टर प्रणाली भएकाले विद्यार्थीहरुले पढाइका लागि निश्चित समय छुट्टाएका हुन्छन्। मोबाइल चार्ज हुने पोटहरु सबै ठाउँमा नरहेको र सबै ठाउँमा नेट पनि राम्रो नटिप्ने भएकाले चाँडै आएर लाइन बसेको बताउँछन्। शान्त हावा चल्ने ठाउँमा बस्न रुचाउने गर्छन्। शान्त वातावरणका साथै साथीभाइसँग सल्लाह गरेर पढ्न पाउने भएकाले विश्वविद्यालयभित्र पढ्ने छुट्टै माहोल रहेको यहाँ अरुले पढेको देखेपछि पढौँपढौँ भन्ने किसिमको वातावरण रहेको छ।’ त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तालयमा मात्रै होइन केशर पुस्तकालयको अवस्था पनि उस्तैछ।  

केशर पुस्तकालयमा दैनिक ४० जनाको हाराहारीमा पाठकहरु आउँछन्। राणा प्रधानमन्त्री चन्द्र समशेरका साहिँला छोरा केशर समशेरले स्थापना गरेको उक्त पुस्तकालय अहिले खुम्चिएर तीन चार कोठामा सीमित छ तरपनि पाठकको कितावप्रतिको मोह र पुस्तकालयप्रतिको माया भने घटेको छैन।  

पुस्तकालय इन्चार्ज प्रमुख सुरेश कुमार यादव भन्छन्, ‘प्रविधिको विकास भएको छ तर पुस्तक पढ्ने पाठकको संख्यामा कमी छैन। सबै किताब नेटको पहुँचमा हुँदैन र सहजसँग पाइदैन। सबै किताब नेटमा नै राख्न अनुमति पनि हुँदैन।҆  

उनकाअनुसार भुइँचालो र कोरोनाको समयमा इन्टरनेटमा पढ्नेको संख्या बढी थियो। तर अहिले अवस्था सामान्य भइसकेको छ। मान्छेहरु नेटमा भन्दा पनि किताब पढ्न मन पराउँछन्। दुइचार जनाले मोवाइलमा पढेर पुस्तक पढ्नेको संख्या हरायो भन्नु बेकार छ। सबै किताब अनलाइनमा राखिदिएर रोयल्टी दिनपनि निकै गाह्रो पर्छ। त्यो सबै सुविधा दिनसक्ने अवस्थामा हामी पुगिसकेका छैनौँ र केशर लाइ्बेरीमा ६० हजार किताब छ त्योे सबैलाई अनलाइनमा राख्ने क्षमतामा हामी पुगिसकेका छैनौँ।’

केशर पुस्तकालयमा विश्व सम्पदा सूचीमा सूचीकृत कैयौँ सामग्री छन्। पुस्तकालयमा विश्वसाहित्य, विश्वइतिहास, दर्शनशास्त्र, धर्म तथा अध्यात्म, विज्ञान तथा प्रविधि, चिकित्सा, शिकारकला, खेलकुदलगायत अनेक विषयका हजारौँ किताब र छन्। 

प्रकाशित: १९ जेष्ठ २०७९ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App