coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विश्वविद्यालयहरुले दुई दिन बिदा नदिने!

सरकारले जेठ एक गतेदेखि कार्यन्वयन हुने गरी लागु गरेको दुई दिन बिदा देशमा रहेका सरकारका विश्वविद्यालयहरुलेनै निर्णयले उल्टो नतिजा दिने भएकोले कार्यन्वयन नगर्ने निर्णय गरेका छन्।  

देशमा संचालित सबै विश्वविद्यालयहरुले आ–आफनो बिश्वविद्यालयभित्र छलफल गरि दुई दिनको बिदाले ठूलो शैक्षिक क्षती हुने भएकोले बिदा नदिने निर्णयमा पुगेको जनाएका छन्।  

विश्वविद्यालयहरुमा पहिलेदेखिनै पाठ्यक्रमले तय गरे अनुसार पाठ्यभार ६ दिनको भएको र त्यही अनुसार परीक्षा, कक्षाभार, शैक्षिक क्यालेन्डर तय भएकोले दुई दिन बिदा दिएर  पाठ्यभार ५ दिनमा पुरा गर्न असहज भएकोले आइतबार थप बिदा दिन नमिल्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशनल दहालले स्पष्ट पारेका छन्।  

जेठ ४ गते सुदूर पश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख भवानीदत्त पाण्डेयले सार्वजनिक सूचना प्रकासित गरि दुई दिन बिदा गर्दा विश्वविद्यालयका पूर्व निर्धारित शैक्षिक कार्यक्रमहरु प्रभावित हुने भएकोले आइतबार बिदा नदिइने प्रष्ट पारेको छ। 

वैशाख १३ गते मन्त्रिपरिषद्को निर्णयले जेठ १ गतेदेखि लागु हुने गरि हप्ताको दुईदिन शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। ‘सुदूरपश्चिम विश्वविद्यालयले हप्ताको दुई दिन बिदा गर्दा पूर्व निर्धारित  शैक्षिक कार्यक्रमहरुमा नकरात्मक असर पर्छ,’ माहाशाखा प्रमुख पाण्डेले भने ‘त्यही भएर आइतबार पनि विश्वविद्यालयका सम्पूर्ण निकायहरुले प्रदान गर्ने सेवाहरु संचालनमा रहने छ। यसको जानकारी विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराइसकेको छ।’  

सुदूरपश्मि मात्र होइन, मुलुकै ठूलो र पहिलो त्रिभुवन विश्वविद्यालयले यस अघिनै सार्वजनिक सूचना प्रकासित गरेर दुई दिन बिदा कार्यन्वयन नगर्ने प्रष्ट पारिसकेको विश्वविद्यालयका रजिष्ट्रार पेशल दहालले बताए। केयु, त्रिवि, सुप, मप, नेपाल खुल वश्वविद्यालय,राजश्रीजनक,पोखरा, पुर्वाञ्चल, कृषि तथा बन , बौद्ध,लगाएत सबै विश्वविद्यालयहरुले एक दिन शनिवार मात्र बिदा दिने निर्णय गरेका छन्।  

चार लाख ३० हजार अर्थात मुलुकको ८० प्रतिशत उच्च शिक्षाको शैक्षिक भार बोकेको त्रिविमा  शनिवार र आइतबार दुई दिन बिदा नदिने निर्णय गरिएको राजिष्ट्रार दहालले जनाए। यसै पनि यस विश्वविद्यालयमा कहिले विद्यार्थी, कहिले शिक्षक कर्मचारीले विभिन्न माग राखेर महिनौ दिनदेखि विश्वविद्यालयका उपकुलपति, रेक्टर र र रजिष्ट्रारको कार्यालय तथा मुख्य गेटमै तालाबन्दी गरि पठनपाठन प्रभावित गर्दै mआएको  छ। यस्तो अवस्थामा दुई दिन बिदाले पाठ्यभार पुरा नहुने रजिष्ट्रार दहालले प्रष्ट्याए।  

‘त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम ६ दिन पठनपाठन गराउने हिसाबले तय गरिएको छ। कक्षा पनि त्यही अनुसार चलेको छ,’ रजिष्ट्रार दहालले नागरिकसँग भने ‘एक दिन बिदा बढाउँदा पुरै शैक्षिक सत्रमै नकरात्मक असर पर्छ। कोर्ष पुरा हुदैन। अन्योल कायम हुन्छ।’ उनले थपे ‘६२ आंगिक र एक हजार २२ निजी सम्बन्धन प्राप्त कलेजहरुमा त्रिविका चार लाख ३० हजार विद्यार्थी अध्ययनरत छन्। कायक्रम र रुटिङनै प्रभावित हुने भएकोले त्रिविले  आइतबार पनि कक्षा नियमित संचालन गर्ने निर्णय गरेको छ।’

उता काठमाडौं विश्वविद्यालयले पनि दुई दिन बिदा नदिने पक्षमा निर्णय गरेको छ। विश्वविद्यालयका म्यानेजर दिपक दहालका अनुसार विश्वविद्यालयले दुई दिन बिदाको विकल्प दिने तयारीमा जुटेको छ।‘शनिवार एक दिन मात्र बिदा दिँदा त केयुका सेवा र प्राज्ञिक क्षेत्रनै प्रभावित बन्छ,’ दहालले भने ‘बरु विश्वविद्यालयले शनिवार मात्र बिदा दिने र आइतबार बिदाको सटा शिक्षक कर्मचारीलाई अल्टरनेटिभ बिदा दिने तर सेवा र प्राज्ञिक क्षेत्र नियमित संचालन ागर्ने योजना तयारी गरिरहेको छ।’

पुर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार लिलामणी पोखरेलले दुई दिनको बिदाले सरकारी सेवामा प्रभाव नपरेपनि विश्वविद्यालय सेवामा भने ठूलो प्रभाव पार्ने औल्याए। 

उनले विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग भेटेरै देशभरिका विश्वविद्यालयका पदाधिकारीहरुले दुइ दिन बिदा विश्वविद्यालयको हकमा कार्यन्वयन गर्न नसकिने स्पष्ट जानकारी गराइसकेको बताए। ‘शनिबार एक दिनको सार्वजनिक बिदाले नै कोर्ष भ्याइनभ्याइ भइरहेको छ। किन भने पर्व त्यौहार बिदानै धेरै छन्। 

जसका कारण अहिलेनै विश्वविद्यालयहरुको पाठ्यभार नपुग्ने अवस्था छ,’ रजिष्ट्रार पोखरेलले यर्थाथ सुनाए ‘दुई दिन बिदा दिँदा लाखौं विद्यार्थीको कक्षाभार अघि बढ्दैन। बिहान, दिउसो र साँझ गरि तीन सिफ्टमा चल्ने कलेजहरुमा ठूलो समस्या आउँछ। ’ उनले थपे‘विश्वविद्यालयको हकमा शनिवार र  आइतबार दुई दिन बिदाले उल्टो नतिजा दिने देखियो। त्यही भएर देशभरिका विश्वविद्यालयमा यो निर्णय कार्यन्वयन गर्न सकिन्दैन भन्ने विश्वविद्यालयविच पनि सल्लाह भएरै दुई दिन बिदा नदिने निर्णय गरियो।’

प्रकाशित: ८ जेष्ठ २०७९ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App