१५ चैत्र २०८० बिहीबार
शिक्षा

विद्यार्थीले बनाए बाटो छोड्न अनुरोध गर्ने रोबोट

भक्तपुरको एउटा इन्जिनियरिङ कलेजका विद्यार्थीले बाटो छोड्नको लागि स्पीकरमार्फत अनुरोध गर्ने रोबोट बनाएका छन्। कलेजका शिक्षकहरुसँंग मिलेर उनीहरुले बनाएका यो रोबोटलाई 'एआईवेस डेलिभरी रोबोट' नामाकरण गरिएको छ। यो रोबोटले बाटो छेकिने वस्तुहरु भेटेमा छलेर जाने पनि जनाइएको छ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका शिक्षक तथा विद्यार्थीको सहकार्यमा यो रोबोट तयार पार्न सफल भएको हो। प्रोजेक्टलाई नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) द्वारा फण्डिंग गरिएको जनाइएको छ।  

टोलीमा संलग्न सहप्राध्यापक सचिन श्रेष्ठले रोबोट बनाउन शिक्षककातर्फबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कप्युटर साइन्स एण्ड इन्जिनियरिङका सहप्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिङका उपप्राध्यापक अभिनाश खत्री केशी मुख्य टिम मेम्वरका रुपमा संग्लग रहेको जनाए। यस्तै विद्यार्थीकातर्फबाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सब खड्का संलग्न रहेको उनले जनाए।  

रोबोटलाई अटोमेटिक तथा म्यानल मोडमा काम गराउन सकिने जनाइएको छ। म्यानल मोडमा काम गराउनको लागि एउटा छुट्टै मोबाइल एप पनि बनाइएको छ। मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ। यसलाई आफूले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर लान पनि सकिने जनाइएको छ।  

अटोमेटिक मोडमा भने यो आफै आफ्नो गन्तब्यमा पुग्छ। यसको लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीचमा वायरलेस नेटवर्क रहेको छ। मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा राखिएको हुन्छ। त्यससंगै त्यहाँ डेस्कटप एप पनि हुन्छ।  

नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसंगै आबद्ध  डेस्कटप एपको मध्यमबाट नर्सले रोबोट पुग्नपर्ने ठाउँहरु इंगित गर्न सक्नेछन्। एकचोटी यसरी ठाउँहरु निश्चित भएपश्चात रोबोट आफै त्यो ठाउँहरुमा पुग्नेछ र नयाँ गन्तब्य इंगित नगरेसम्म उक्त ठाउँहरुमा नै घुमिरहने छ। यसरी आफ्नो गन्तब्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने वस्तुहरु भेटेमा त्यसलाई छलेर जाने जनाइएको छ।

साथै अगाडि कुनै मान्छेहरु भेटेमा रोबोटले बाटो छोड्नको लागि स्पीकरमार्फत अनुरोध पनि गर्छ। ‘रोबोट आफैमा रहेको क्यामेरामार्फत यसले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्दछ र एआई टेकनोलोजी मार्फतवाट आफ्नो अगाडि मान्छे आएमा थाहा पाउँछ,’ टोलीमा संलग्न नेकका सहप्राध्यापक रुपेश दही श्रेष्ठले भने।  

यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरुबाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशिल श्रेष्ठलगायतकाहरुका पनि उल्लेख्य भूमिका रहेको जनाइएको छ। एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्सहरु पनि सजिलै थप्न सकिने जनाइएको छ।

प्रकाशित: २६ चैत्र २०७८ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App