५ माघ २०८२ सोमबार
image/svg+xml
शिक्षा

रोबोटिक ल्याब पाएपछि दंग विद्यार्थी

सामुदायिक विद्यालयका विद्यार्थीमा पनि विज्ञान तथा प्रविधि क्षेत्रमा सृजनात्मक क्षमता विकास गर्ने लक्ष्यसहित रानीपोखरी स्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ।  

विज्ञान तथा प्रविधिका विषयबस्तुहरु विद्यार्थीलाई अध्ययन गर्न÷गराउँदा विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै रमाइलो गर्दै व्यवहारिक ज्ञान समेत उपलब्ध गराउने लक्ष्यसहित स्कुलले रोबोटिक ल्याबको स्थापना गरेको हो। सामुदायिक विद्यालयका विद्यार्थीलाई सधैं विज्ञान विषय निकै अप्ठ्यारो लाग्ने छ। यो समस्या नेपालका सबै सामुदायिक विद्यालयमा छ। तर अप्ठ्यारोलाई सरलतासाथ सिकाउने माध्यम भने दरबार स्कुलले निकालेको छ।  

रोबोटिक ल्याब विद्यालय स्तरमै स्थापना गर्ने सामुदायिक विद्यालयहरुमध्ये काठमाडौंको दरबार स्कुल पहिलो रहेको काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।  

गत बुधबार काठमाडौं महानरपाकिालको मेयर विद्यासुन्दर शाक्य स्कुलमै पुगेर ल्याबको विधिवत सुरुवात गर्ने औपचारिकता प्रदान गरेसँगै बालबालिका र विद्यालय परिवारनै हर्षित बनेको देखियो। यति मात्र होइन ल्याबोरेटरीको अवलोकन गर्न बुधबार उपत्यकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु समेत दरबार स्कुल पुगेका थिए।

स्कुलमा पुग्दा त्यहाँ विद्यार्थीहरुले आफूले कक्षाकोठामा अध्ययन गरेका विज्ञान तथा प्रविधिका विषयबस्तुहरुलाई ब्यवहारिक रुपमा उतारेर परियोजना मार्फत प्रस्तुत गरेका थिए।

उनीहरुले आफूले अध्ययन गरेका विषयबस्तुहरुलाई ब्यवहारमा उतार्नको लागि स्मार्ट सिटिको नमूना, स्मार्ट गाउँको नमूना, थ्रिडि प्रिन्टरको प्रयोग, ड्रोन क्यामराका आधारभूत ज्ञानलगाएतका थुप्रै कार्ययोजनााहरुलाई नमुनाको रुपमा प्रस्तुत गरेका थिए।  

कक्षा ८ की दिप्सना कुमारी विष्टको समूहले तयार पारेको प्रदूशनरहित स्मार्ट सिटिको मोडेल हेरेर जोकोही पनि चकित भएका थिए। साथै उनले अंग्रेजी भाषामै फरफर बोलेर आफ्नो कार्ययोजनाबारे बताइरहँदा उपस्थित अभिभावक, शिक्षक र मेयर शाक्यलयाएत सबै खुसीले गद्गद् बनेका थिए।  

उनी मात्र होइन उनको समूहका कक्षा ८ मा अध्ययनरत स्वस्तीका कुवर, जुली रघुवंश र कक्षा ९ मा अध्ययनरत स्नेहा गुरुङ र मनिसा गिरीको समूहले तयार पारेको स्मार्ट सिटिको परिकल्पना सोलारमा आधारित शहरको नमूना प्रशंसनीय बनेको थियो। ‘पहिले मलाई विज्ञान विषय धेरै गाह्रो विषय लाग्थ्यो। हामीलाई स्कुलमा रोबोटिक ल्याब स्थापना भएपछि आफूले अध्ययन गरेका विज्ञानका विषयबस्तुहरुको आधारमा विभिन्न थरिका परियोजनाहरु तयार पार्न सहज बनेको छ,’ दिप्सनाले अनुभव सुनाइन्, ‘यसले हामीलाई किताबी ज्ञान त दिएकै छ तर आफ्नो सृजनात्मक क्षमता विकास गर्न समेत बल पुगेको छ।’ उनले परियोजना तयार पर्दै गरेको अनुभव सुनाइन्, ‘सरहरुले पनि निकै सुझाव दिनु हुन्छ। अब त मलाई विज्ञान जतिको सजिलो विषय अरु कुनै लाग्दैन। पढेको कुरा परियोजनामा उतार्दा विज्ञान विषय गहन रुपमा बुझ्न सहज भएको छ।’

रोबोटिक ल्याबका शिक्षक तथा रोबोटिक्स एसोसिएसन अफ नेपालका महासचिव ओमकार जयसवालले रोबोटिक ल्याब स्कुलमा स्थापना भएपछि विद्यार्थीले विज्ञान, सूचना तथा प्रविधिका विषयबस्तुबारे आधारभूत ज्ञान पाउने जनाए। ‘अब सरकारी विद्यालयका नानीहरुलाई पनि विज्ञान अध्ययन सहज बनाउन दरबार स्कुलकासाथै सबै सरकारी विद्यालयमा रोबोटिक ल्याब हुनु जरुरी छ,’ जयसवालले नागरिकसँग भने, ‘दरबार स्कुलको ल्याबमा भएको आधुनिक टेलिस्कोप, ड्रोन, थ्रिडि प्रिन्टर, लेजर कटिङ, रानी पोखरी सफाइ यन्त्र, मेकर स्पेसलगाएतका उपकरणहरुको प्रयोग र यही उपकरण प्रयोग गरी प्राप्त गरेका ब्यवहारिक ज्ञानले परियोजना तयार पर्छन्।’ उनले थपे, ‘यसबाट विज्ञानका विद्यार्थीमा मेकानिकल, इलेक्ट्रीकल, सिभिल, कम्प्युटरलगाएत इन्जिनियरिङदेखि सूचना प्रविधिको ज्ञान विद्यालय शिक्षाबाटै हुने भयो।’

स्कुलले कक्षा ५ देखि १० सम्मका विद्यार्थीको लागि रोबोटिक विषयबस्तुहरु अतिरिक्त कृयाकलापको रुपमा समाबेश गरेको उनले जनाए।  

काठमाडौं महानगरापकिालका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले महानगरले दरबार स्कुललाई राष्ट्रिय स्तरमै नमूना विद्यालय बनाउने लक्ष्यसहित रोबोटिक ल्याबको लागि आर्थिक स्रोत जुटाएको बताए।  

महानगरबाट प्राप्त ३८ लाख रुपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २७५ रुपैयाँमा ६ वटा इन्टरएक्टिभ बोर्ड र १४ लाख ६ हजार ९१८ रुपैयाँमा रोवोटिक्सका सामग्रीहरु खरिद गरिएका हुन्। यी सामग्रीहरुको प्रयोग गरेर विद्यार्थीहरुले स्मार्टको नमूनासहित विभिन्न उपकरण बनाएका छन्। यसैगरी कक्षा सञ्चालन गर्दा शिक्षकहरुले इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्न थालेका छन्। शिक्षकको निर्देशनमा विद्यार्थीहरु पनि बोर्डको प्रयोग गर्छन्।  

उनले महानगरले ल्याबको लागि मात्र २३ लाख बजेट स्कुललाई दिएको जनाए। उनले काठमाडैंमा ८९ सामुदायिक विद्यालयमध्ये दरबारलाई नमूनाको रुपमा अघि सार्दै बढ्ने जनाए।

महानगरका मेयर शाक्यले दरबार स्कुलमा स्थापना भएको रोबोटिक ल्याबले विद्यार्थीको सृजनात्मक क्षमता विकास गरि रमाइलो वातावरणमा खेल्दै रमाउँदै र सिक्दै विज्ञान तथा प्रविधि प्रति अध्ययन गर्न आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘ल्याबले अब विज्ञान विषय अप्ठ्यारो भन्ने भ्रम दूर गर्छ,’ मेयर शाक्यले भने, ‘बालबालिकाहरु रमाउँदै, खेल्दै अब विज्ञानमा अन्वेषणका विषयबस्तुहरु सिक्छन्।’

उनले निजी विद्यालयलाई नियन्त्रण र गाली गर्नुभन्दा हामीले आफ्नो सामुदायिक स्कुलको स्तर बढाउँदै लगे निजी विद्यालय आफै बन्द हुँदै जाने धारणा राखे। उनले चीन सरकारको आर्थिक सहयोगमा बनेको अत्याधुनिक सेवासुविधा सम्पन्न दरबार स्कुलले अभिभावको विश्वास जित्दै गएको भए पनि अझै विद्यालयले शैक्षिक गुणस्तर कायम गर्न मिहिनेत गर्नु पर्ने सुझाए।

‘निजी विद्यालयहरु आज मिहिनेत गरेर अगाडि आएका हुन्। हामीले उनीहरुलाई नियन्त्रण गर्दैनौं,’ मेयर शाक्यले भने, ‘हामीले आफ्नो सामुदायिक विद्यालयलाई राम्रो बनाउन मिहिनेत गरौं। डाहा होइन स्वस्थ्य प्रतिस्पर्धा गरी सामुदायिकलाई राम्रो बनाउँदै अघि बढ्नु पर्छ।’ उनले थपे, ‘दरबार स्कुल मात्र होइन अब बिस्तारै अन्य सामुदायिक विद्यालयमा पनि रोबोटिक ल्याब स्थापना हुन्छ। यसको लागि आगामी वर्षमा शिक्षामा बजेट बढाइनेछ।'

स्कुलकी प्रधानाध्यापक सारदा पौडेलले हाल स्कुलमा ५ सय ७० विद्यार्थी अध्ययनरत रहेको बताइन्। उनले रोबोटिक ल्याबका कारण पनि विद्यार्थी र अभिभावको आकर्षण दरबार स्कुल बनेको दाबी गरिन्। अगामी जेठदेखि ल्याबका विद्यार्थीले नियमित रुपमा अध्ययन र अनुसन्धान गर्ने उनले जनाइन्।

प्रकाशित: २० चैत्र २०७८ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App