जुम्लाको सिँजा क्षेत्रमा स्थापना भएको सिँजा बहुमखी क्याम्पस जीर्ण अवस्थामा छन्। न सुविधा सम्पन्न भवन छन, न खेलमैदान छ, नत गुणस्तरीय पढाई नै। नाम मात्रको क्याम्पस छ। शिक्षकहरुले तलब नपाएको डेढ वर्ष भइसक्यो। पाए पनि मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु परिरहेको छ।
क्याम्पस प्रमुख तिर्थ नेपाल दुर्गम क्षेत्रको शैक्षिक उन्नतीको लागि २०६६ सालमा स्थापना भएको सिँजा क्याम्पस धरासयी बन्दै गइरहेको बताउँछन्। उनले भने,‘क्याम्पसमा न कसैको सहयोग छ,नत कसैको सहानुभूति नै। भगवान भरोसामा चलिरहेको छ।'
यो क्याम्पस गाउँमा स्थापना भएका बालविकास केन्द्र भन्दा पनि तल्लो स्तरको व्यवस्थापन भएकोले निकै समस्या भइरहेको उनी बताउँछन्। व्यवस्थापन र शिक्षा शास्त्र संकायको पठनपाठन हुने यो क्याम्पसमा ३ सय जना विद्यार्र्थीले भर्ना लिएका छन्। तर उनीहरुले सदरमुकाम खलंगाको जुम्ला बहुमुखी क्याम्पसमा आएर परिक्षा दिनुपर्ने बाध्यता छ।
शिक्षक ८ जना छन्। सबै पार्ट टाइममा पढाउँछन्। फुल टाइमको लागि क्याम्पस प्रमुख तिर्थ नेपाल र सहायक प्रमुख रणबहादुर बडुवाल छ। झण्डै डेढ वर्षदेखि सेवा सुविधा पाएका छैनन्। सबै शिक्षक स्थानीय भएकोले क्याम्पसको अस्तित्व बचाउनको लागि भएपनि पठनपाठन गरिरहेका छन्।
क्याम्पसको लागि ६ वटा भवन छन्। तर निकै जीर्ण छ। दुई भवन निर्माणाधिन अवस्थामा छन्। गत साउन भदौमा आएको बाढीपहिरोका कारण पाँचवटा भवन भत्किसकेका छन्। त्रिभुवन विश्वविद्यालय माताहतको यो सामुदायिक क्याम्पसमा कसैको ध्यान पुगेको छैन। नाग्म गमगडी हुदै रारा जाने सडक छेउमा पर्ने यो क्याम्पसमा सबैको नजर पर्छ।
क्याम्पसमा चरम आर्थिक समस्या छ। शिक्षकहरु आफ्नो घरको खर्चले क्याम्पस चलाउँछन। स्थानीय सरकारले बजेट छुट्याउँछ। तर बजेटको कार्यन्वयन गर्दैन। पटक पटक क्याम्पसको शैक्षिक गुणस्तरको लागि आवश्यक बजेट व्यवस्थापनको लागि माग गरिरहेका छौँ। सुनुवाई हुँदैन।
क्याम्पस प्रमुख तिर्थ नेपालले भने,‘यहाँ पढाउने शिक्षकले न्युनतम ४० देखि ५५ हजार रुपैयाँ सम्म पाउनु पर्ने हो। तर ६ हजार रुपैयाँ तलब लिएर चित्त बुझाउने गरेका छौँ। ’ क्याम्पस व्यवस्थापन समिति निस्क्रिय रहेको सिँजा बहुमुखी क्याम्पसले जनाएको छ।
अहिलेसम्म ५ ब्याज विद्यार्थी उत्पादन भएर फर्किएका छन्। क्याम्पस चलाउन मुस्किल छ। मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस ल्याउने पहल भइरहेको थियो। तर अहिले रोकिएको छ। यो क्याम्पस निकै जीर्ण छ। टाढाबाट जतिको आकर्षक देखिन्छ। नजिक जाँदा निकै जीर्ण र अव्यवस्थित छ।
भौतिक संरचना जीर्ण छन्। नाम सिँजा क्याम्पस भएपनि व्यवस्थापन एउटा बालबिकास केन्द्र भन्दा तल्लो स्तरको छ। त्यो भन्दा गाउँमा रहेका बालबिकास केन्द्र निकै सुविधा सम्पन्न छन। क्याम्पसमा खेलमैदान पनि छैन। स्थापना कालदेखि झण्डा समेत फेर्न सकेको छैन।
सिँजा क्याम्पसका बिद्याथीले जुम्ला बहुमखी क्याम्पस जुम्लामा आएर परिक्षा दिनु पर्ने बाध्यता छ। क्याम्पसमा शौचालय र खानेपानीको चरम समस्या छ। सिँजा बहुमुखि क्याम्पसका अध्यक्ष रणबहादुर रोकाया भन्छन्,‘बिकास बजेटले क्याम्पस धानेको छ। गाउँपालिकाले बिकास बजेट बिनियोजन गर्ने र बिकासे काम गरेर बचेको रकमले प्राध्यापक पाल्नेदेखि क्याम्पस ब्यवस्थापनमा खर्च हुने गरेको छ। ’
उतिबेला गाबिस र जिविसले चल्यो, उनले भने,‘अहिले गाउँपालिकाले सहयोग गरेको छ। क्याम्पसमा दरबन्दी छैन। उनले भने,‘ भगवान भरोसामा क्याम्पस चलेको छ। अहिले नाम मात्रको क्याम्पस बनेको छ। सम्बन्धन दिदाखेरि नै सम्पुर्ण खर्च स्थानीय समुदायले नै बेहोर्ने भनेपछि क्याम्पस चलाउन सकस भएको हो। स्थापना गर्दा विश्व विद्यालय अनुदान आयोगले ४ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो।
एक भवन बनाईदिएको थियो। त्यो भन्दा पछि दाता भेटिएको छैन्। गाविस, जिविस र गाउँपालिकाले बिकास दिएर खर्च ब्यवस्थापन गर्ने गरिएको छ। नाग्म गमगडी सडक छेउमै सिँजा क्याम्पस भएकोले सबैको ध्यान क्याम्पस तिरै हुने गरेको छ। तर क्याम्पसको हविगत हेर्दा निकै लाजमर्दो भएको स्थानीय बताउँछन्।
प्रकाशित: १३ फाल्गुन २०७८ १३:११ शुक्रबार