९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

परवल खेतीको आयबाट सुकुम्बासीलाई पढाउँदै बागमती नगरपालिका

सर्लाहीको बागमती नगरपालिकाले बगरबाट आएको आम्दानीले सुकुम्बासीलाई पढाउने व्यवस्था मिलाएको छ। नगरपालिकाकाले व्यवस्थापन गरेको ७ हजार तीन सय सुकुम्बासी परिवारका सन्तानको लागि खोलिएको विद्यालयमा पढाउने व्यवस्थापन बगरकै आम्दानीले गर्दै आएको छ।  

भरततालको छेउमा दक्षिणपट्टि करिब साठी बिगाहा जमिनमा परवल लगायतको खेती गरिएको छ। परवल खेतीमा काम गर्दै भेटिएकी जिराइतका कैलाश महतोकी धर्मपत्नी अरुनादेवी महतोले परवल खेतीबाट दुई छोरा एक छोरीलाई पढाइरहेको बताइन्।

परवल खेती आफूले भाडामा गरेको महतोको भनाइ छ। नगरपालिकाले दिएको जमिनमा परवल खेती गरेर छोराछोरीलाई पढाइरहेको बताउँदै महतोले आफूहरुलाई पर्याप्त आम्दानी हुने गरेको बताइन्।  

आफूले एक बिगाहा जमिन दुई हजार पाँच सय रुपैयामा भाडामा लिएर परवल खेती र अन्य तरकारी खेती गरिरहेको बताउँदै महतोले हरेक वर्ष रकम विद्यालयको खातामा जम्मा गरिरहेको बताइन्। नगरपालिकाले उपलब्ध गराएको जमिनको भाडा विद्यालयको खातामा जम्मा गरिरहेको महतो स्पष्ट शब्दमा बताइन्।  

उत्पादित तरकारी बिक्री गर्न कुनै समस्या नभएको महतोको भनाइ छ। उत्पादित तरकारी बागमती बजारदेखि लालबन्दी र बहरथवा बजारसम्म पुग्ने गरेको छ। थोक बिक्री लालबन्दी बजारमै हुने गरेको महतोको भनाइ छ। बागमती नगरपालिकाले सयौँ परिवारलाई तरकारी खेती गर्न लिजमा जमिन उपलब्ध गराएको छ।  

बागमती नरपालिका प्रमुख भरतकुमार थापाले बगरको जमिनमा आँप र लिचीको बिरुवा लगाएको र सोही विरुवा लगाएको जमिनलाई लिजमा दिइएको बताएका छन्। नगरपालिकाले निर्णय गरेर निश्चित मापदन्ड अपनाई सयौँ किसानलाई लिजमा जमिन उपलब्ध गराएको मेयर थापाको भनाइ छ।  

चारैतिरबाट काँडेतारले सुरक्षित पारिएको, कतैबाट कुनै जनावरको तथा चोरको डर नभएको र विरुवाको रेखदेख गर्न नगरपालिकाले मानिस खटाएको हुनाले लिजमा लिएर खेती गर्ने किसानलाई पनि सुरक्षाको अनुभूति भएको छ र सबैभन्दा ठूलो कुरो त विद्यालय संचालनमा धेरै सहयोग पुगेको छ।

नगरपालिकाले व्यवस्थापन गरेको झन्डै साढे सात हजार सुकुम्बासी परिवारका बालबालिकालाई पठनपाठनको व्यवस्था बगरकै आयले सम्भव भएको मेयर थापाको भनाइ छ। ठूला र साना गरी चार वटा विद्यालय बगरमै गरिएको तरकारी खेतीको आयको भरमा चलिरहेको मेयर थापाको भनाइ छ।  

झन्डै प्रदेशमा सबैभन्दा बढी सुकुम्बासी परिवारलाई नगरपालिकाले व्यवस्थापन गरेको र तिनीहरुलाई केही बाँच्ने आधार पनि बगर नै बनेको मेयर थापाको भनाइ छ। सुकुम्बासीलाई बसोबासको लागि जमिन उपलब्ध गराएर तिनीहरुलाई सम्भव भएसम्म बाँच्ने आधार दिएको र नगरपालिकाले नै छोराछोरीलाई पढ्ने विद्यालय पनि संचालन गरिदिएको बताउँदै मेयर थापाले सबैमा सुकुम्बासीहरुको पनि भूमिका र योगदान रहेको पनि बताउँछन्।

सुकुम्बासी बस्तीमा बेला बेलामा आफू पुग्ने गरेको र समस्या बुझी समाधान गर्ने गरेको बताउँदै सम्भव भएसम्म सुकुम्बासीहरुकै मार्फत समस्या समाधान गर्ने आधार तयार गर्ने गरेको मेयर थापाको भनाइ छ। झन्डै डेढ सय बिगाहा जमिनमा बढी मात्रामा सुकुम्बासीहरुले लिजमा लिएर तरकारी खेती गरिहरेको र सोही लिजवापत विद्यालयमा आफ्ना छोराछोरीलाई पढाइरहेको मेयर थापाको स्पष्टोक्ति छ।

बिरुवा हुर्काउने, सुकुम्बासीका छोराछोरीलाई पढाउने तथा सुकुम्बासी व्यवस्थापन गर्ने बागमती नगरपालिकाको तरिकाको सबैले तारिफ गरेका छन्।

प्रकाशित: १५ माघ २०७८ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App