५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यार्थीले बनाए ‘विद्युतीय कार’

धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले ‘विद्युतीय कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थीहरूले कवाड सामग्री बटुलेर विद्युतीय कार निर्माण गरेका हुन्। ‘सार’ नाम दिएर अनुसन्धानमा रहेका चार जनाको समूहका उनीहरुले निर्माण गरेको विद्युतीय कारलाई ‘अल्फा’ नाम दिएका छन्।

ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी, सक्षम रेग्मीको टोलीले संयुक्तरुपमा उक्त कार निर्माण गरेका हुन्। ‘लामो समय हामीले अनुसन्धान गरेर ‘अल्फा’ निर्माण गर्न सफल भएका छौँ,’ आदित्य जोशीले भने,‘लकडाउनको मौका छोप्दै हामीले केही निर्माण गर्ने सोच अनुसार नै पछिल्लो चार महिना यता नियमित रुपमा काम गरेर यो कार निर्माण गर्न सकेका हौँ।’

विद्युतीय कार निर्माणका लागि चाहिने सामग्री कवाडखानामा गई किनेर ल्याउनुका साथै चाहिने अन्य सामग्री आफै निर्माण गरेको उनले बताए।  

कोरोनाले गर्दा सबैतिर बन्द भएका बेला चारै जना साथीहरुले छलफल गर्दा गाडी बनाउने सोचमा पुगेको बताउँदै अर्का विद्यार्थी ऋषिकेश थापाले भने,‘त्यसपछि बनाउन सुरु गरेका हामीले गाडीका खेर गएका पार्टपुर्जा प्रयोग गरेर अन्ततः कार निर्माण गर्यौं।’ घरपरिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो गाडी निमार्ण गरेको उनीहरूको भनाइ छ।  

उनीहरुले निर्माण गरेको गाडीमा चालकसहित पाँच जना बोक्न सक्ने क्षमता छ। ‘यो गाडीले अहिलेकै अवस्थामा ८ क्विन्टल सामान बोक्न सक्छ,’ रोहित ऐरले भने,‘जति बढी ब्याट्री बढाउन सक्यो, उति बढी भार बोक्न सक्छ।’ अहिले उनीहरुले चारवटा ब्याट्री जोडेर गाडी चलाएका छन्। त्यसमा अझ बढी व्याट्री जडान गर्न सकिने उनीहरु बताउँछन्। अहिलेकै अवस्थामा यो गाडीले ७० किलोमिटरको यात्रा तय गर्न सक्ने उनीहरुको भनाइ छ।

प्रकाशित: ११ पुस २०७८ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App