१६ चैत्र २०८० शुक्रबार
शिक्षा

आकस्मिक अनुगमनमा पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको आग्रह : पढेपछि काम पाउनुपर्‍यो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले  काठमाडौँको विश्व निकेतन माविमा आकस्मिक अनुगमन गरेका छन्।

सार्वजनिक शिक्षाको रूपान्तरणका लागि केही दिनअघि ३१ बुंदे प्रतिबद्धता पत्र जारी गरेका मन्त्री पौडेलले त्रिपुरेश्वरस्थित विद्यालयमा अनुगमन गरेका हुन्। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालासँग अन्तक्रिया एवम् छलफल सुरु गरी सुधारका काम थालेका उनी बिहीबार दिउँसो विद्यालयमा पसेका हुन्।

विद्यालयमा पसी उनले विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीसँग विद्यालयको समस्या तथा विद्यालयले गरिरहेको असल अभ्यासबारे चासो दिएका थिए।

‘मन्त्रीज्यू हाम्रो स्कुलमा आउनुभएको कुरा मैले विद्यालयका कर्मचारीबाट थाहा पाएँ’, विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘मैले थाहा पाउँदा उहाँ विद्यार्थीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो।’

उनले अनुमगनको क्रममा कक्षा इसिडीदेखि कक्षा १२ सम्मका कक्षाकोठामा पुगेको र विद्यार्थीसँग अन्तरक्रिया गरेको बताए। अन्तक्रियाका क्रममा मन्त्री पौडेलले  विद्यार्थीसँगै आफू शिक्षाको गुणस्तरका लागि लागिरहेको जानकारी दिएका थिए।

‘शिक्षालाई सुधार्नुपर्छ, शिक्षण सिकाइका विषयमा नमिलेका कुरा केही छन् भने भन्नु होला’, शिक्षामन्त्री पौडेलले भने, ‘म शिक्षामन्त्री हुँ, तपाईँहरुजस्तै जनताको छोराछोरी, सार्वजनिक स्कुलमा पढेर आएको हुँ, तपाईँहरुको स्कूलको पूर्वाधार निम्ति र तपाईँहरुको सुनिश्चित भविष्यको निम्ति म जतिखेर पनि साथमा छु।’

मन्त्री पौडेलले आफूले विश्व निकेतनको सफलताबारे सुनेको बताएको प्रअ कँडेलले बताए। सो क्रममा मन्त्री पौडेलले कक्षा तथा विद्यालयको समग्र पक्षको अवलोकन गरेका थिए।

करिब एकघन्टा बढी समय विद्यालयमा बिताएका उनले विद्यालयको असल अभ्यास र सामुदायिक विद्यालय  कसरी अब्बल बनाउने भन्ने सम्बन्धमा जिज्ञासा तथा सोधपुछ गरेको विद्यालयले जनाए।

विद्यालयका प्रअ कँडेलले मन्त्री र विद्यार्थीबीचको अन्तरक्रियामा विद्यार्थीले विश्व निकेतनमा राम्रो पठनपाठन भइरहेको बताएको जनाए। ‘विद्यार्थीले मन्त्रीज्यूसँग पढेपछि काम पाउनुपर्ने वातावरण बनाउनुपर्ने, विदेश जान नपर्ने अवस्था बनाउन अनुरोध गरेका थिए’, प्रअ कँडेलले भने।

प्रअ कँडेलले मन्त्रीको अनुगमनले आफूहरुलाई उत्प्रेरणा मिलेको बताए। उनका अनुसार विद्यालयमा हाल ३ हजार ७ सय विद्यार्थी छन् भने १३२ शिक्षक अध्यापनरत छन्।

प्रकाशित: ९ मंसिर २०७८ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App