६ वैशाख २०८१ बिहीबार
शिक्षा

पाठ्यक्रममा विपत् व्यवस्थापन राख्न विज्ञको जोड

नेपाल विभिन्न प्रकारका विपद्का स्वरूपहरूको जोखिममा पर्ने भएकाले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा विपद् व्यवस्थापनका विषयवस्तुहरू पठनपाठन गराउनुपर्नेमा विज्ञले जोड दिएका छन्।

युनेस्कोको सहयोगमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आयोजना गरेको विपद्को सन्दर्भमा गरिने सञ्चार र पत्रकारिता शिक्षाबारे दुई दिने कार्यशालामा विज्ञहरूले यस्तो धारणा राखेका हुन्।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख एवं प्राध्यापक चिरञ्जीवी खनालले हाल पत्रकारहरूले विपद्बारे समाचार संकलन र सम्प्रेषण गर्दा खोजमूलक समाचारको कमी रहेको औंल्याए। ‘नेपाली मिडियामा हेर्ने हो भने जलवायु परिवर्तनबारे समाचार पनि राजनीतिसँग जोडिएर आएको छ,’ प्रा खनालले भने, ‘अनुसन्धानमूलक र खोजमूलक समाचार आउन सकेको छैन।’ विपद्बारे सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी सिभिल इन्जिनियर जानुका ज्ञवाली, डा. सुधांशु दाहाल, प्राध्यापक प्रबलराज पोखरेल, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित र प्रा मोतिलाल खनालले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमको संयोजन सहप्राध्यापकद्वय बद्री पौडेल र डा. कुन्दन अर्यालले गरेका थिए। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालले विपद्बाट आउने परिणामबाट जोगाउन सञ्चारमाध्यमको ठूलो भूमिका रहेकाले विपद् मासमिडियासँग जोडेर लानुपर्नेमा जोड दिए।

छलफलबाट आएको निष्कर्षलाई विश्वविद्यालयले उच्च शिक्षाको पाठ्यक्रमसँग जोडेर लानुपर्नेमा महत्वपूर्ण भूमिका हुन्छ,’शिक्षाध्यक्ष भुषालले भने, ‘नेपाल विपद्का जोखिमले घेरिएको छ। यसबाट सबै सचेत हुुन पर्छ।’

छलफलबाट आएको निष्कर्ष र विपद्सँग सम्बन्धित ५ वटा अनुसन्धानमूलक लेख तथा कोभिडसँग सम्बन्धित १५ वटा अनुसन्धानमूलक लेखलाई समेटेर दुई सय पृष्ठको पुस्तक त्रिविले प्रकाशन गर्न लागेको पनि कार्यक्रममा जानकारी दिइएको थियो।

प्रकाशित: १७ कार्तिक २०७८ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App