३ पुस २०८१ बुधबार
image/svg+xml
शिक्षा

बाढीले विद्यालय बगरमा परिणत

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगाएर बगरमा परिणत भएको छ। अहिले विद्यालयका भवनदेखि घेराबार, फर्निचर सबै बगाएको छ। गिडीगंगा नदीमा आएको बाढीले विद्यालय नै बगाएर लिएपछि पठनपाठन ठप्प छ।

विद्यालय असोज ३० गते देखि सञ्चालनमा आएको थियो। कार्तिक १ गतेको बाढीले विद्यालय बगायो। प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भने, ‘विद्यालय बगर बन्यो। पठनपाठन सञ्चालन गर्न कठिन छ। बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ।’

बाढीले बगाउन नसकेका केही भवनमा तत्काल कक्ष सञ्चालन गर्न नसकिने अवस्था छ। कोठामा बालुवा थुप्रिएको छ। झयाल ढोका फुटेका छन्। डेस्क बेन्च छैनन्। उनले भने, ‘तत्काल मर्मत प्रक्रिया अघि बढाउन सकेमा ६ कोठामा विद्यार्थीलाई पढाउन सकिने अवस्था छ।’

विद्यालय बगर बनेपछि विद्यार्थी पढ्न समेत डराइरहेका छन्। सामान्य वर्षा हुने वित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था रहेन। अहिले विद्यालयमा अध्ययनरत ६ सय ९४ विद्यार्थी अलपत्र छन्। विद्यालयको ६ सय ५० वर्गमिटर घेरबारको कुनै निसाना छैन।

विद्यालयलाई नमुना विद्यालयका रुपमा अघि बढाउनको लागि कार्यक्रम सुरु भइसकेको थियो। एक करोड ५० लाख रुपैयाँमा दुई पक्की भवन निर्माण हुँदै थिए। यो शैक्षिक शत्रदेखि मोडल विद्यालय बनाउने योजना थियाे। डिजिटल विद्यालय बनाउने र जिल्लाकै उत्कृष्ठ विद्यालय बनाउने रफ्तारमा काम भइरहेको थियो, प्रधानाध्यापक न्यौपानेले भने,‘न विद्यालय नमुना बनाउन सकियो नत बाढीबाट बचाउन सकियो। सुरुदेखि काम प्रारम्भ गर्नुपर्ने भयो।’

नमुना विद्यालय बनाउने अहिले सम्म गरेको सबै मेहनत बालुबामा पानी खन्याए झै बन्यो।

कम्पाउण्ड बनिसकेको थियो। प्लाष्टर गरेर विभिन्न आकृतिका चित्र बनाउने र सन्देशमुलक सामग्री राख्न बाँकी थियो। सिसि क्यामराको निगरानीका पठनपाठन गर्ने, हरेक कक्षमा साउण्ड बक्स राख्ने, प्रोजेक्टरका माध्यमबाट अध्ययन गराउने कार्यक्रम तर्जुमा भइसकेको थियो। आगन्तुक पुस्तिका राख्ने र हरेक व्यक्तिलाई विद्यालयमा प्रवेश गर्दा कार्ड उपलब्ध गराउने, कार्डविहीन व्यक्तिले विद्यालयमा छिर्न नपाउने व्यवस्था हुन लागेको थियो। विद्यालय भित्र बाढी पसेपछि सबै सपना चकनाचुर भएको उनले बताए।

प्रधानाध्यापक न्यौपानेले भने, ‘हिम्मत हराएको छैन। आश मरेको छैन। विद्यालयलाई पहिलेकै अवस्थामा फकाउन सक्छौँ। अब साथ सबैको चाहिन्छ।’ बाढीले विद्यालयको भवन, घेराबार, खेलकुद मैदान, स्टोर गरेर राखेका डेस्क बेन्च, नयाँ विद्यालय बनाउन राखिएको फर्निचर, सरिया तीन बण्डल, भवन निर्माणका लागि राखिएको काठ, शौचालय, मञ्च सबै बगाएको छ। विद्यालयका अनुसार बाढीले १ करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।

बाढीले तातोपानी ७ र तिला गाउँपालिकाको सेतिबाडा मावि पनि डुबेको छ। बाढी प्रभावित विद्यालयमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई पुगेकी छिन्। उनले बाढीले पुर्‍याएको क्षतिको बारेमा अनुगमन गरेकी हुन्। उनले भनिन्, ‘विद्यालय बाढीले बगाएर लगेको दुःख व्यक्त गर्दै विद्यालय पहिलेकै अवस्थामा सञ्चालन गर्न सबै निकायलाई अपिल गरिन्।

तत्काल विद्यालय मर्मत गरेर भएपनि पठनपाठन सञ्चालन गर्न विद्यार्थीले माग गरेका छन्। उनीहरुले शान्तिपूर्ण रुपमा भयरहित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन माग गरेका हुन्। विद्यालय २०२० सालमा स्थापना भएको थियो।

बाढीले तातोपानी ४ को ऐरेनी र हाँकु, ५ को लाम्रा गाउँमा जाने खानेपानी आयोजना भत्काएको छ। ६ वटा काठेपुल, ७ वटा घट्ट, दुईवटा विद्युत गृहमा क्षति पुर्‍याएको छ। तातोपानी ४ स्थित गिरीखोला सानाजलविद्युत आयोजनाको २ सय किलोवाट क्षमताको विद्युत गृहमा आउटलेट क्यानल ५७ मिटर, इन्टेक कटान गरि पूरै संरचना पुरिएको विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए।

बाढीले गाउँगाउँ बीचको सम्बन्ध विच्छेद गरेको गैरसरकारी संस्था महासंघका अध्यक्ष अमरबहादुर रोकायाले बताए। उनले भने, ‘पुलपुलेसा बगे आवतजावत गर्न सकिएको छैन। गाउँगाउँमा आवतजावत रोकिएको छ। विद्युत बिग्रँदा अन्धकार झेल्नु परेको छ। खानेपानीको हाहाकार नै छ।’

उनले स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल राहत तथा उद्धारका क्रियाकलाप अघि सार्नुपर्नेमा जोड दिए। दातृ निकायाले पनि बाढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

प्रकाशित: ४ कार्तिक २०७८ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App