१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

६ जना निबृत शिक्षक सम्मानित

जीवनभर शिक्षण पेशा गरेका भक्तपुरका ६ जना शिक्षकशिक्षिका सम्मानित भएका छन्। गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिं र शारदा कर्माचार्य सम्मानित भएका हुन्।  

सेवा निबृत शिक्षक समाज भक्तपुरको शनिबार भएको दोश्रो वार्षिक साधारणसभामा उनीहरु सम्मानित भएका हुन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र तथा दोसल्ला ओढार्ई उनीहरुलाई उनीहरुलाई सम्मान गरे।  

कार्यक्रममा प्रमुख प्रजापति जीवनभर शिक्षण पेशामा लागेका शिक्षकहरु शिक्षाका गहना भएको भन्दै उनीहरुले आफ्नो ज्ञान र शीप निबृत भएपछि पनि देश र जनताका लागि दिनुपर्नेमा जोड दिए। समाजका अध्यक्ष नाति कवां, सचिव रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवाले आफूहरु अहिले पनि सक्षम भएको भन्दै सक्षम भएसम्म आफूहरु सक्रिय रहने बताए। 'हामी अझै सक्षम छौं' भन्ने नाराका साथ दुई वर्ष अगाडि समाजको स्थापना गरिएको हो। साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ।  

भक्तपुरका चर्चित व्यवसायीको जीवनीमा आधारित पुस्तक सार्वजनिक  

भक्तपुरका चर्चित व्यवसायी विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक शनिबार सार्वजनिक गरिएको छ। भक्तपुर नगरपालकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकको एक कार्यक्रमबीच विमोचन गरे।  

लेखकले पुस्तकमा आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवनयात्राका विभिन्न पक्षहरुका बारेमा उल्लेख गरेका छन्। भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मेका विश्वराम अहिले ६१ वर्षका छन्।  

पुस्तक ६ खण्डमा विभाजित छ। पहिलो, पारिवारिक जीवन र विश्वराम कवां, दोश्रो, खेलकुदमा विश्वराम कवां, तेश्रो, शिक्षामा विश्वराम कवां, चौथो, भक्तपुर काण्ड र विश्वराम कवां, पाँचौं, सामाजिक कार्य र विश्वराम कवां र छैटौं, व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन्।  

सुरुमा शिक्षण पेशा रोजेका विश्वराम अहिले भक्तपुरका चर्चित एवं पुराना व्यवसायीका रुपमा छन्। शिक्षण पेशाबाट सेवा निबृत भएपछि उनले व्यवसायिक जीवन सुरु गरेका थिए। यो बीचमा उनी खेलकुद जीवनमा पनि लागेका थिए। साथै उनी समाजसेवी पनि हुन्। पुस्तकमा उनले आफ्ना जीवनका यिनै पाटोहरुको बारेमा चर्चा गरेका छन्।  

पुस्तकमा उनले एउटा बच्चालाई बचाएको कुरा पनि उल्लेख छ। साथै मृत्युको मुखमा परेर पनि झण्डैले बाँचेर दोश्रो जीवन पाएको कुरा पनि पुस्तकमा उल्लेख छ। साथै २०३६ सालको आन्दोलन, २०४६ सालको भक्तपुर काण्ड अनि २०७२ सालको महाभूकम्पका बारेमा पनि पुस्तकमा उल्लेख छन्।  

पुस्तकमा उनको बारेमा विभिन्न नौ जना विद्वानहरुले लेखेका कुराहरु पनि पुस्तकमा मिलाएर ठाउँठाउँमा प्रस्तुत गरेका छन्। उनको शिक्षण पेशा, उनको खेलकुद, उनको समाजसेवा, उनको व्यवसाय आदि विषयमा बुझेका र चिनेका व्यक्तिले उनको बारेमा लखेको विषयवस्तु बीचबीचमा पुस्तकका समावेश छन्। खेलकुद जीवनबारेमा रवीन्द्र खर्वुजा, शिक्षणबारेमा डा किशोर हाकुदुवाल, सामाजिक कार्यबारेमा रामगोपाल कर्माचार्यले लेखेका छन्। साथै, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवां, रामगोपाल कर्माचार्यलगायतले पनि पुस्तकमो उनको बारेमा लेखेका लेखहरु पुस्तकका ठाउँठाउँमा छापिएका छन्।    

पुस्तकको विमोचना गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वरामको पुस्तक समाजका लागि प्रेरणादायी रहेको बताए। लेखक कवांले पुस्तक बिक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघ सहयोगार्थ प्रदान गर्ने जानकारी कार्यक्रममा गराए। पुस्तक एक सय ४५ पृष्ठको रहेको छ। पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका थिए।

प्रकाशित: २६ भाद्र २०७८ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App