७ वैशाख २०८१ शुक्रबार
शिक्षा

सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ। सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष २०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासंघसँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासंघ चौथो चरणको आन्दोलनमा उत्रिएको हो।  

महासंघले शुक्रबार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ। राजधानी काठमाडौंमा माइतिघर मण्डलामा रिले अनसन गरिएको थियो। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष पुर्णप्रसाद दवाडीले सरकारले शिक्षकहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको र विभेद गरेको भन्दै आन्दोलित हुनुपरेको बताए।  

उनले शिक्षकहरुलाई कर्मचारीलाई दिएसरह १० दिनको पर्यटनभत्तासहितको काज दिनुपर्ने, सबैको अस्पताल भएको तर शिक्षकको नभएकाले शिक्षक विशेष अस्पताल हुनुपर्ने, शिक्षकहरुको दुर्घटना बिमा र स्वास्थ्य बिमा गर्नुपर्ने तथा अन्य राष्ट्रसेवक कर्मचारीले पाएसरह सेवा, सुविधा पाउनुपर्ने बताए।

‘नेपाल सरकारले शिक्षकहरुमाथि बजेट भाषणमा विभेद गरेको छ। अरु विषयमा पनि दोस्रो दर्जाको नागरिकको रुपमा शिक्षकलाई हेरिएको छ', उनले भने, 'विभेद अन्त्यका लागि हामीले शिक्षा मन्त्रालयमा वार्ता, सम्झौता गरेको ३० बुँदे सहमति पनि भयो। तर शिक्षा ऐन आएन।'  

उनले अगाडि भने, 'शिक्षकहरुलाई गरेको विभेदको अन्त्य गरौँ। शिक्षा ऐन ल्याएर हामीसँग गरेका सहमति, सम्झौतालाई लागु गर भन्ने उद्देश्यका साथ हामी चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा अगाडि बढिरहेका हौँ।’

उनले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेसालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्व पीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु रहेको पनि बताए। 

माग पूरा नभए आन्दोलनका कार्यक्रम जारी रहने उनले बताए।

प्रकाशित: १५ श्रावण २०७८ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App