१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ। नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए।

नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्ने अधिकार दिएको छ। उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन। शिक्षा ऐन बनेको धेरै समयपछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ।  

समितिको संयोजकमा नगरशिक्षा अधिकारी पोखरेल रहेका छन्। उनको संयोजकत्वमा गठित समितिमा सिगाना मावि तित्याङका प्रअ गोपालकुमार शर्मा, पूर्वआरपी उमानाथ शर्मा, जनताधन माविका प्रअ कुमार पौडेल, पूर्वप्रअ टीकाराम सापकोटा, कालिका कन्या माविका शिक्षक हुमा रिजाल र संस्थागत विद्यालयका प्रतिनिधिका रुपमा महेशचन्द्र प्रधान रहेका छन्।

यो समितिले कक्षा ३ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना बनाएको छ। आइतबार बसेको समितिको बैठकले आगामी भदौ १५ गतेसम्म पाठ्यक्रम तयार पार्ने निर्णय गरेको पोखरेलले जानकारी दिए। “हामीले कम्तीमा भदौ १५ गतेसम्म मस्यौदा बनाइसक्ने र शैक्षिकसत्रभरिमा पाठ्यक्रम बनाएर पुस्तकसमेत छाप्ने योजनामा छौँ”, पोखरेलले भने, “यो पाठ्यक्रम आएपछि नगरपालिकको मौलिकपना पनि बढ्ने छ।” 

पाठ्यक्रममा नगरभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र पनि समावेश गरिने बताइएको छ। यसअघि तमानखोलाले आफ्नो पाठ्यक्रम बनाइसकेको छ। 

प्रकाशित: ११ श्रावण २०७८ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App