६ वैशाख २०८१ बिहीबार
शिक्षा

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ। नेपाल बाल संगठन म्याग्दीद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो। कोरानाको दोस्रो लहरसँगै भौतिक रुपमा विद्यालयमै उपस्थित भएर पढ्न नपाएका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले स्मार्ट फोन उपलब्ध गराएपछि कक्षा सञ्चालनमा सहज भएको छ।  

शनिबार आयोजित कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए। विभिन्न क्रियाकलापमार्फत कक्षाअनुसारको सिकाइ गरी व्यस्त रहेका बालबालिकाको अनलाइन कक्षालाई थप ब्यवस्थित बनाउन सहयोगले सहज हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ। सबै विद्यार्थीलाई तत्काल ल्यापटप र कम्प्युटरको ब्यवस्थापन गर्न कठिनाइ भएपछि स्मार्ट फोनबाटै कक्षा सञ्चालनको वातावरण बनाइएको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताए। 

‘अनलाइन कक्षाको अवधिसम्म मात्रै विद्यार्थीको हातमा मोवाइल हुन्छ, अन्य समयमा मोवाईल प्रयोग गर्न दिदैंनौ,' अध्यक्ष शाक्यले भने, 'यो सहयोगले बालबालिकालाई पठनपाठनमा सहज हुन्छ।’ प्रतिसेट १५ हजार ५ सय मूल्य बराबरको स्मार्ट फोन  खरिद गरिएको छ।

बालगृहमा रहेका सबै १२ जना बालबालिकालाई स्मार्ट फोन सहयोग स्वरुप प्राप्त भइसकेको छ। बालगृहमा गुणस्तरीय इन्टरनेटको सुविधा रहेको छ। स्मार्ट फोनको सुविधाले विद्यार्थीहरू समेत उत्साहित भएका छन्। बालगृहमा रहेका बालबालिकालाई शैक्षिक क्षमता बढाउने अभ्यासका लागि थप योजना समेत बनाइएको छ। बालगृहमा अध्ययनरत बालबालिकालाई अनलाइन कक्षा बाहेक अतिरिक्त क्रियाकलापका लागि समेत कार्ययोजना बनाइएको सचिव सन्दिप खत्रीले बताए।  

अनलाइन कक्षामार्फत पठनपाठनका लागि विहान, दिउँसो र बेलुकी कार्यतालिका लागु गरिएको छ। यसैबीच बालगृहको संरचना थपेर हाल रहेको संख्यामा दोब्बर बनाउने गरी कार्ययोजना समेत बनाइएको छ।

प्रकाशित: २६ असार २०७८ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App