coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

जुम्लाको हिमशिखर माविमा लगातार तीनपटक चोरी

जुम्लाको तातोपानी गाउँपालिका २ मा रहेको हिमशिखर माविमा तोडफोडसँगै चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा तातोपानी ६ का २३ वर्षीय हरिदत्त बुढ्थापा र १७ वर्षीय हस्त खड्का रहेका छन्।  

सोमबार राति १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको थियो। चोरी गरिरहेकै अवस्थामा विव्यस अध्यक्ष रुद्रसिंह मल्ल र उनकी पत्नी गौरा मल्लले थाहा पाएपछि चोरी तथा तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएका हुन।

खेतमा पानी हालेर फर्किने क्रममा तोडफोड गरेको आवाज सुनिएपछि तत्काल प्रहरीचौकी लिताकोटलाई खबर गरिएको थियो। चौकी ईन्चार्ज टुल्का गिरीको नेतृत्वमा गएको टोलीले घटनास्थलमै चोर पक्राउ गरेको थियो।  

पक्राउ परेका दुबैलाई कार्बाही गर्न विद्यालयले माग गरेको छ। प्रहरी चौकी लिताकोट र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल विद्यालयमा पुगेर चोरी तथा तोडफोडको मुचुल्का गरेको प्रधानाध्यापक धनबहादुर रोकायाले बताए।

निषेधाज्ञाको बेला विद्यालय बन्द रहेको मौका छोपी महत्वपूर्ण कागजातसहित सामानहरु चोरी तथा तोडफोड गर्ने गरेका थिए। प्रहरीको मुचुुल्काअनुसार स्टील दराज तोडफोड गरी पुरानो निर्णय पुस्तिका, लेखापरीक्षण गरेको बिल भरपाई, ल्यापटप ३ थान, ब्याकअप ३ पिस, फोन सेट १ थान, प्रोजेक्टर १ थान र डेक्सटप १० थान चोरी गरेका थिए।  

यसैगरी डिजिटल हाजिरी, फोटोकपी मेसिन २ थान, फाईल ब्याक २ वटा र स्टील दराज लगायतका सामाग्रीहरु तोडफोड गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  रुद्रसिंह मल्लले बताए। एक दर्जन बढी ढोका फोडिएको उनले जनाए।  

चोरी तथा तोडफोडबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्राविधिक संयोजक गणेशराज डाँगीले बताए। उनले प्राविधिक फाँटका सामाग्रीहरु भताभुंग गरिएको बताए।  

विज्ञान प्रयोेगशाला, प्राविधिक फाँटमा राखेका विभिन्न सामान र कम्प्युटर ल्यावमा समेत तोडफोड गरी सामान कामै नलाग्ने क्षति पुर्याएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ। पक्राउ परेकालाई २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भएकोले विद्यालयले जाहेरी दिएपछि मात्रै कार्बाही प्रक्रियाअघि बढ्ने प्रहरीले जनाएको छ।

अनुसन्धानका अनुसार चोरहरुले तातोपानी गाउँपालिका ५ बस्ने तेज बहादुर कठायतको भे ५ प ३७६० को मोटरसाईकल प्रयोग गरेको पाइएको छ। यो विद्यालय २०१६ सालमा स्थापना भएको हो।

प्रकाशित: २५ जेष्ठ २०७८ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App