८ वैशाख २०८१ शनिबार
शिक्षा

राजीनामा दिने शिक्षकलाई १ देखि साढे ३ लाख रुपैयाँको प्याकेज

भक्तपुरको सूर्यविनायक नगरपालिकाले शिक्षक पदबाट राजीनामा दिने शिक्षकलाई डेढ लाख रुपैयाँदेखि साढे तीन लाख रुपैयाँसम्म दिने भएको छ।

नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुमा दरबन्दी मिलान तथा व्यवस्थापन कार्य सम्पन्न गर्नका लागि नगरपालिकाले सो प्याकेज ल्याएको हो।

नगरपालिकाले अनिवार्य अवकास हुन सेवा अवधि बाँकी भएका प्राथमिक तहमा कार्यरत स्थायी शिक्षकलाई स्वेच्छिक अवकासका लागि प्रोत्साहन गर्न सो प्याकेज ल्याइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले स्वेच्छिक अवकास लिन चाहने शिक्षकलाई १५ दिनभित्र नगरपालिकामा निवेदन दिन आह्वान गरिएको जानकारी दिइन्।

नगरपालिकाले १ वर्ष सेवा अवधि बाँकी भएका शिक्षकका लागि १ लाख ५० हजार रुपैयाँ, १ वर्षभन्दा बढी २ वर्षसम्म सेवा अवधि बाँकी भएका शिक्षकलाई २ लाख रुपैयाँ, २ वर्षभन्दा बढी ३ वर्षसम्मको अवधि बाँकी भएका शिक्षकलाई २ लाख ५० हजार रुपैयाँ, ३ वर्षभन्दा बढी ४ वर्षसम्म सेवा अवधि बाँकी भएका शिक्षकलाई ३ लाख रुपैयाँ र ४ वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका शिक्षकलाई ३ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

सो प्याकेजमा समावेश हुन चाहने शिक्षकबाट निवेदन माग गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ। शखाका अनुसार निवेदनमा नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी नियुक्ति पत्रको प्रतिलिपि र राजिनामा पत्र संलग्न गरिएको हुनुपर्ने छ।

जम्मा ३४ सामुदायिक विद्यालय रहेको नगरपालिकामा २४ वटा आधारभूत विद्यालय छन्। शिक्षा शाखाकी अधिकृत उल्झन अधिकारीले ती आधारभूत विद्यालयमा जम्मा २२४ स्थायी दरबन्दी र ११ वटा राहत दरबन्दीका शिक्षक रहेको बताइन्। सो संख्या प्राथमिक तहमा कायम रहेको दरबन्दी रहेको उनको भनाइ छ।

नगरपालिकाले सो प्याकेज गत वर्ष पनि ल्याएको थियो। गत वर्ष ल्याएको प्याकेजमा कुनै शिक्षकको पनि निवेदन नपरेपछि यो वर्ष नगरपालिकाले प्रोत्साहन रकम बढाएको हो।

प्रकाशित: २१ जेष्ठ २०७८ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App