२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
शिक्षा

विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौं चावहिल निवासी हाल नाइजेरीयामा रहेका समाजसेवी प्रकाश कान्त सिलवालले जुम्लाको पातारासी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय तल्फीमा मोहनकृष्ण अक्षयकोष स्थापना गरेका छन्। हरेक वर्ष गरिब तथा अतिविपन्न एक छात्रा र एक छात्रले छात्रवृत्ति प्रदान गर्न एक लाख एक हजार एक सय ११ रुपैयाँको मोहनकृष्ण अक्षयकोष स्थापना गरेका हुन् ।  

प्रकाश कान्तले अक्षयकोषका लागि नाइजेरीयाबाट पठाएको रकम नेपाली सेनाको श्री नम्बर २४ बाहिनीअड्डाका बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा र उनकी धर्मपत्नी सुनिता सापकोटाले विद्यालयमै गएर रकम हस्तान्तरण गरेका हुन । उनीहरुले गाउँपालिका अध्यक्ष लछिमान बोहोरालाई रकम हस्तान्तरण गरेकोमा गाउँपालिका अध्यक्ष बोहोराले विद्यालयका निमित्त प्रधानाध्यापक गणेशदत्त जोशीलाई दिएर अक्षयकोषका लागि आएको रकमको सहि सदुपयोग गर्न सुझाव दिए ।  

प्रकाश कान्तले आफ्ना स्वर्गीय माता मोहनकुमारी सिलवाल र बुवा स्वर्गीय कृष्णदेव सिलवालको स्मृतिमा मोहनकृष्ण अक्षयकोष स्थापना गरेका हुन् ।  जुम्लाको एक दुर्गम विद्यालयमा नाइजेरीयाबाट प्रकाश कान्तले अक्षयकोषका लागि पठाएको रकम दिन पाउँदा उत्साहित छौँ, बाहिनीपति सहायकरथी सापकोटाले भने ,‘विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुनेछ । यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने विश्वास गरिएको छ । ’

बाहिनीपति सापकोटा नेश्नल डिफेन्स कलेज कोर्ष पुरा गर्न नाइजेरीया गएको बेला प्रकाश कान्त सिलवाल संग भेटघाट भएको थियो । सापकोटाको नाइजेरीयामै सहायकरथीमा पदोन्नती भएर जुम्ला कार्यक्षेत्र तोकियो । म जुम्ला जादैँछु, यहाँ केही समाजिक काम गर्ने धोको छ भनेर भावना साटेको थिए, बाहिनीपति सापकोटाले भने,‘प्रकाश कान्तले शिक्षामा लगानी गर्ने इच्छा जाहेर गर्नु भयो । उहाँको त्यो धोको अहिले पुरा गर्ने अवसर मिल्यो । फलस्वरुपमा सरस्वती माबि तल्फीमा मोहनकृष्ण अक्षयकोष स्थापना भयो । ,

प्रकाश कान्तको पुख्यौँैली घर पाल्पा हो । उनको बुबा कृष्णदेव नेपालको होजियारी उद्योगको संस्थापक हो । आमा पाल्पाको पहिलो महिला राजनीतिज्ञ  । बाहिनीपति सापकोटाले भने,‘यो अक्षयकोषले केही हद सम्म राहत दिनेछ । विदेशमा रहेर पनि स्वदेश प्रति गरेको माया प्रति आभारी छौँ ।’

पातारासी गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले विदेशमा बसेर जुम्लाको दुर्गम विद्यालय छनौट गरि अक्षयकोष स्थापना गरेकोमा खुसि व्यक्त गरे । विद्यालय नजिकै दलित बस्ती भएकोले निकै राहत मिल्नेछ । उनले बैंकमा गएर मोहनकृष्णको नामबाट अक्षयकोषको मुद्धती खाता खोल्न आग्रह गर्दै प्रत्येक बर्ष आउने ब्याजले अतिविपन्न विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्न निर्देशन दिए । उनले भने,‘विद्यालयमा अक्षयकोष स्थापना गर्नु निकै राम्रो बिषय हो । यो कार्यले अति विपन्न विद्यार्थीलाई विद्यालय सम्म ल्याउन उत्साह दिनेछ । यो रकमबाट नियमित रुपमा एक छात्रा र एक छात्रलाई छात्रबृत्ति दिने व्यवस्था गर्नुहोला । ’

उनले पातारासीका हरेक विद्यालयमा अक्षयकोष स्थापना गर्ने गाउँपालिकाले नीति लिने बताए । गाउँपालिका अध्यक्ष बोहोराले भने,‘नाइजेरीयाबाट अक्षयकोषका लागि लगानी गर्नु भएकोमा प्रकाश कान्त सिलवाल ज्यु प्रति क्रृणी छौँ । अन्य स्रोतबाट पनि अक्षयकोषमा रकम थप्छौँ । यहाँका हरेक विद्यालयमा अक्षयकोष खोल्छौँ । यो गाउँपालिकको प्रतिबद्धता हो । ’

विद्यालयका निमित्त प्रधानाध्यापक गणेशदत्त जोशीले भौतिक तथा आर्थिक हिसावले कमजोर दुर्गमको विद्यालयमा लगानी गरेर उत्साह थपिदिएको बताए । उनले भने,‘अहिले सम्म दुर्गमका विद्यालयमा कसैको नजर पुगेको थिएन । विदेशमा रहेका नेपालीको मनले गरेको यो साथ जुम्लाको शिक्षा क्षेत्रमा गरिएको नमुना कार्य हो, उनले भने,‘यो कार्यको उच्च प्रसंसा गछौँ । शिक्षामा गरेको लगानीको सहिसदुपयोग गछौँ । ’

अक्षयकोषको रकम हस्तान्तरण गर्न श्री नम्बर २४ बाहिनीअड्डाबाट बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा उनको धर्मपत्नी सुनिता सापकोटा, मेजर धिरज थापा र स्थानीय सरकारका प्रमुख लछिमान बोहोरा,प्रमुख प्रशासकीय अधिकृत टेक बढ्थापा, शिक्षक जयबहादुर महत सहितको टोली पुगेको थियो ।  

टोलीलाई विद्यालय र गाउँलेले फुलमाला, अबिर र खादा लगाएर स्वागत गरेका थिए । बाहिनीपतिको धर्मपत्नी सुनिता सापकोटाले विद्याथीलाई मिठाइ बाडिन  । नाइजेरीयामा रहेका समाजसेवी प्रकाश कान्तले विद्यालयमा गरेको लगानीले यहाँको शैक्षिक क्षेत्रमा उर्जा मिलेको स्थानीय बताउँछन ।  

प्रकाशित: १२ वैशाख २०७८ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App