coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

वैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन

पोखरा–५, प्रस्याङस्थित समता शिक्षा निकेतनमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी। तस्बिर:उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको वार्षिक परीक्षा वैशाख मसान्तभित्र सकिने महानगरपालिकाले जनाएको छ।  

महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार आइतबार बसेको बैठकले वैशाख १० गतेपछि विद्यालयले वार्षिक परीक्षा लिन सक्ने निर्णय गरेको छ । वैशाख मसान्तभित्र सक्नेगरि तालिका बनाएर कुनै पनि विद्यालयले परीक्षा लिन सक्ने आचार्यले बताए।  

‘कोरोना संक्रमणको जोखिम बढेकाले वैशाख मसान्त्रभित्र परीक्षा सक्नेगरी विद्यालयले आफूअनुकूल तयारी गर्न सक्नेछन,’ आचार्यले भने, ‘स्वास्थ्यमा मापदण्ड पालना गरेर सुरक्षित तरिकाले सिफ्ट मिलाएर परीक्षा लिन सकिन्छ। कुन समयमा र सिफ्टमा परीक्षा लिने भन्नेबारेमा विद्यालयले निर्णय लिन सक्छन।’  

कक्षा ८ को नगरस्तरीय परीक्षा भने पुरानै तालिकाअनुसार जेठ ३ गतेपछि हुने उनले बताए। ‘जेठ ३ गतेदेखि हुनेगरी तालिका प्रकाशित भएको कक्षा ८ को नगरस्तरीय परीक्षामा अहिलेसम्म फेरबदल भएको छैन । तर पछि गएर अवस्था हेरेर तलमाथि हुनसक्छ,’ आचार्यले भने, ‘जेठ ३ गतेसम्मको अवस्थाले त्यो परीक्षाबारे निर्णय गर्नेछ।’ त्यस्तै १० कक्षाको माध्यमिक शिक्षा परीक्षाको निर्णय भने केन्द्रीय निर्णय अनुसार नै हुने उनले बताए। ११ र १२ कक्षाको परीक्षा र पठनपाठनबारे पनि कुनै निर्णय नभएको र परीक्षा तालिका पनि केन्द्रले तोकेअनुसार नै हुने उनले जानकारी दिए।  

७ कक्षाभन्दा तल र ९ कक्षाका विद्यार्थीको परीक्षाबारे मात्र महानगरले अहिले निर्णय गरेको उनले बताए। विद्यालयतहमा अध्ययनरत बालबालिकामा संक्रमण बढ्दै गएको भन्दै वैशाख मसान्तसम्म भर्चुअल कक्षा लिनेगरी निर्णय गर्न शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सरकारले यसअघि नै कोरोनो अतिप्रभावित जिल्लामा काठमाडौं, कास्की, रुपन्देहीलगायतलाई राखिसकेको छ।  

सिसिएमसीको सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरे सोहीअनुसार हुने आचार्यले बताए । ‘मन्त्रिपरिषद्ले हाम्रोभन्दा फरक निर्णय गरेको खण्डमा हामीले पनि त्यही तरिका अपनाउने हो। तर अहिलेका लागि महानगरले निर्णय गरेको छ,’ आचार्यले भने, ‘सकेसम्म जोखिम कम हुँदै वार्षिक परीक्षा सक्ने योजना हो।’ तर संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाका शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेकाले सरकारले त्यही निर्णय गरेमा अहिलेको परीक्षा तालिका पनि फेरबदल हुनसक्ने उनले बताए।  

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीका अध्यक्ष प्रेम शर्माले संक्रमणको त्रासले वैशाख मसान्तभित्र परीक्षा सक्नुपर्ने अवस्था आएको बताए। उनका अनुसार सबै कक्षाको कोर्ष नसकिएकाले जेठ १५ सम्म पठनपाठन गराउने सोच भए पनि संक्रमणका कारण केही समयअगावै वार्षिक परीक्षा लिन बाध्य भएको उनले बताए। ‘जेठ १५ गतेसम्म पठपाठन गराउने योजना हो । त्यो बेलासम्म पढाउन पाए सबै कक्षाको कोर्ष सकिन्थ्यो,’ शर्माले भने, ‘पोहोर ढिला पढाउन थालियो । कतिपयले भर्चुअल माध्यमबाट पढाए पनि त्यसले औपचारिकता पाएन। त्यसले गर्दा केही समस्या थियो। भौतिक रुपमा सुरुदेखि पढाउन पाएको भए समस्या हुने थिएन।’ भर्चुअल कक्षालाई पनि कतिपयले औपचारिक रुपमा नलिएकोले केही कठिन भएको शर्माले बताए।  

कोरोना संक्रमण बढेकाले महानगरपालिकाले परीक्षाको निर्णय गरेको भए पनि कास्कीका अरु कुनै पनि स्थानीयतहले तत्काल परीक्षा गर्ने तयारी नगरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नारायणप्रसाद सुवेदीले बताए। ‘महानगरपालिकाभित्र बढी जोखिम देखिएको छ । त्यहीअनुसार महानगरले परीक्षा गराउन सक्छ । अरु स्थानीय तहले भने अहिलेसम्म कुनै निर्णय गरेका छैनन,’ सुवेदीले भने, ‘परीक्षा कहिले र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गर्न स्थानीय तह स्वतन्त्र छन्।’ पोखराबाहेक अरु गाउँपालिकामा अहिलेसम्म खासै समस्या नभएकाले तत्काल परीक्षा हुने सम्भावना कम रहेको उनले बताए।

अहिले पोखराका विभिन्न विद्यालयमा अध्ययनरत केही बालबालिका संक्रमित भएका छन्। केही चल्तीका विद्यालयका बालबालिकामा कोरोनाको संक्रमण पुष्टि भएपछि सञ्चालक र अभिभावक त्रसित भएका छन्। बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने दोधारमा अभिभावक छन् । कास्कीमा १२ कक्षाभन्दा तलका विद्यार्थीको संख्या १ लाख २० हजार छ।

प्रकाशित: ६ वैशाख २०७८ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App