coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विद्यालयमा शिक्षक राख्न चन्दा उठाइँदै

गोरखाको शहिदलखन गाउँपालिका–७ को चण्डिका आधारभुत विद्यालय ।

पढाईरहेका शिक्षकको दरबन्दी मिलानका क्रममा अन्यत्र सरुवा भएपछि गोरखाका एक विद्यालयले नयाँ शिक्षक भर्ना गर्न समुदायमा सहयोग संकलन सुरु गरेको छ । गोरखाको शहिदलखन गाउँपालिका–७ को चण्डिका आधारभुत विद्यालयले निजी स्रोतमा शिक्षक राख्न चन्दा संकलन सुरु गरेको हो । विद्यालयमा भईरहेको शिक्षक दरबन्दी कटौती भएपछि वडा अध्यक्ष, ब्यवस्थापन समिति, स्थानीय र स्वयं विद्यालयमा पढाउने शिक्षकहरुले आर्थिक संकलन सुरु गरेका हुन् ।  

‘एउटा दरबन्दी कटौती भइसक्यो, अर्को पनि कटौती हुने कुरा छ’ विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले भने । एकदेखि आठकक्षासम्म संचालन भएको उक्त विद्यालयमा एकसय ६५ जना अध्ययन गर्छन । कटौती दरबन्दी आधारभूत तहको भएको र एकदेखि पाँच कक्षासम्म थोरै विद्यार्थी संख्या भएकाले दरबन्दी काटिएको उनले बताए ।  

बालकक्षामा पढाउने छुट्टाछुट्टै शिक्षक छन् । एकदेखि आठ कक्षासम्म नियमित कक्षा लिन आठ जना शिक्षक चाहिन्छ । दुईवटा दरबन्दी कटौती हुँदा सात जना मात्रै शिक्षक बाँकी हुनेछन् । ‘एउटा कक्षामा एक जना शिक्षक पनि नहुने अवस्था सिर्जना हुन लाग्यो’ प्रअ श्रेष्ठले भने । हरेक घण्टीमा कक्षा लिन नमिल्ने अवस्था आएपछि शैक्षिक गुणस्तर खस्कने डरले निजी स्रोतमा शिक्षक राख्न स्वेच्छिक रुपमा आर्थिक संकलन गरिएको उनले बताए ।  

वडा अध्यक्ष शरण श्रेष्ठको उपस्थितिमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बिकको अध्यक्षतामा बसेको बैठकले आर्थिक संकलन गरेर निजी स्रोतमा शिक्षक राख्ने निर्णय गरेको छ । ‘शिक्षक नभएर दुईवटा कक्षा एकै ठाउँमा पढाउनुपर्ने अवस्था आउन लाग्यो’ वडा अध्यक्ष श्रेष्ठले भने ‘छलफलपछि हामीले निजी स्रोतमा शिक्षक राख्ने निर्णय गरेका हौँ ।’  

अहिलेसम्म चार लाख ९४ हजार पाँच सय ४० रुपैयाँ संकलन भएको छ । ‘पहिलो दिनमा यो रकम जुटेको हो’ प्रअ श्रेष्ठले भने । विद्यालयमा शिक्षक राख्न देशबिदेशमा रहेका स्थानीयले सहयोग गर्ने बताएका छन् ।  

प्रकाशित: ५ वैशाख २०७८ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App