यो वर्ष भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका एक सय १९ जना जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको (एकेडेमिक सर्टिफिकेट) धितो राखेर ऋण दिने भएको छ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सहुलियत ब्याजदरमा बुधबार शैक्षिक ऋण वितरण प्रदान गर्न सम्झौता सुरु गरेको छ ।
शैक्षिक ऋणको लागि आवेदन परेकामध्ये अन्तवार्ताबाट छनोट भएका सफल विद्यार्थीहरूलाई शैक्षिक ऋण वितरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख सुनिल प्रजापतिले ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकहरुलाई आग्रह गरे । नगरपालिकाले शैक्षिक विकासको लागि गरेको प्रयासहरूबारे विद्यार्थीहरूलाई अवगत गराउँदै उनले भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास हुन सफल भएकोमा नपाले सञ्चालन गरेका कलेजहरू र यहाँका शैक्षिक संस्थाहरूको ठूलो भूमिका र योगदान रहेको बताए । आर्थिक कारणले गर्दा कोही पनि पढाईबाट बञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको अवधारणा अगाडि सारेको बताउँदै आफ्नो विषयमा दक्षता हासिल गरी देश र समाजको सेवाको लागि काम गर्न मार्ग निर्देश उनले निर्देशन दिए ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै शैक्षिक ऋण, छात्रवृत्तिलगायत प्रदान गर्दै आइरहेको चर्चा गरे । उनले भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीहरूमा निकै प्रतिस्पर्धा हुने गरेको बताए । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर न्यून ब्याजदरमा रु. पाँच लाखसम्मको रकम वितरण कार्य अरु स्थानीय तहको लागि सिक्न योग्य भएको बताए । उनले नपाको यो कदमले देशको सेवामा समर्पित सभ्य, सुसंस्कृत र सक्षम नागरिक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । शैक्षिक ऋण लिने विद्यार्थीहरू आफ्ना अभिभावकहरूसहित कार्यक्रममा सहभागी भएका थिए ।
प्रकाशित: २५ चैत्र २०७७ १३:२१ बुधबार