coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

क्याम्पसको प्रशासनिक भवन निर्माण

खोटाङकै ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाख रूपैयाँ लागतमा सो क्याम्पसको दुईतले प्रशासनिक भवन निर्माण गरिएको हो।  

७७ फिट लम्बाइ र ३७ फिट चौडाइ भएको भवन शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईले उद्घाटन गरेका छन्। भौतिक संरचनाको अभाव झेलिरहेका क्याम्पसलाई नगरपालिकाले बजेट उपलब्ध गराएपछि तल्लो तलामा बैठक हल तथा माथिल्लो तलामा पार्टेसन गरेर प्रशासनिक कक्ष सञ्चालन गर्नेगरी भवन निर्माण गरिएको हो।  

भवन निर्माणका लागि १ करोड ९९ लाख रूपैयाँको टेन्डर निकालिए पनि रोजन के मोहन एन्ड बेंसीगाउँ जेभीले ७६ लाख कम रेटमा ठेक्का पारेको थियो। सम्झौता मितिबाट एक वर्षभित्र पूरा गर्नेगरी २०७६ साल जेठ ८ गते क्याम्पसको भवन शिलान्यास गरिएको थियो। कोभिड–१९ को महामारीका कारण भवन निर्माणको काम निर्धारित मितिभन्दा पर सरेको निर्माण कम्पनी रोजन के मोहन एन्ड बेंसीगाउँ जेभीका प्रतिनिधि जोसेफ रिजालले बताए। 

निर्माण व्यवसायी रिजालले नगरपालिकालाई हस्तान्तरण गरेको भवनको चाबी सोही कार्यक्रममा मेयर रिजालले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाल र क्याम्पस प्रमुख हिराकुमार राईलाई हस्तान्तरण गरेका छन्। नयाँ भवन निर्माणपछि क्याम्पसको प्रशासनिक कामकाज सम्पादन सहज हुने अपेक्षा गरिएको क्याम्पस प्रमुख राईले बताए।  

सो क्याम्पसले त्रिविको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षासमेत सञ्चालन गरेको छ। २०३७ सालमा स्थापित क्याम्पसका लागि अझै पनि सुविधासम्पन्न भवनको अभाव छ। ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने दिक्तेल क्याम्पसमा अधिकतर पुरानै भवनमा पठनपाठन भइरहेको छ। जनप्रतिनिधिका रूपमा निर्वाचित भएलगत्तै क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धना जनाइएअनुसार क्याम्पसको भवन निर्माणका लागि सहयोग गरिएको मेयर रिजालले बताए।

प्रकाशित: २२ चैत्र २०७७ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App