१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

वायु प्रदूषणको त्रासः विद्यालय कतै खुला, कतै बन्द

सरकारले सबैतिर प्रदूषण देख्यो, स्थानीयतहले अधिकार प्रयोग गरेः शिक्षाका जानकार

वायु प्रदूषण बढेको भन्दै सरकारले तीनदिन अघि देशभरका शिक्षणसंस्था चारदिनसम्मका लागि बन्द गर्ने घोषणा ग¥यो । सरकारी निर्णय मान्दै धेरैतिरका विद्यालयले थप सूचना निकालेर शैक्षिक संस्था बन्दको जानकारी पनि दिए । तर, कतिपय स्थानीयतहले भने संघीय सरकारले भनेजस्तो प्रदूषण सबैतिर नरहेको भन्दै शिक्षण संस्था खुलै राख्ने निर्णय गरे ।  

शैक्षिक संस्था खुलै राखेका स्थानीय तहमा संचालित विद्यालयमा अहिले धमाधम पढाई भईरहेको छ । सरकारी निर्णय आउनासाथ तनहुँको भिमाद नगरपालिकाले अर्काे सुचना निकालेर नगरपालिकाभित्र संचालित सबै विद्यालय खुलै रहने र पठनपाठन यथावत राख्ने जानकारी दियो । त्यही जानकारी पाएपछि नगरभित्रका सबै विद्यालय संचालमा रहेको भिमाद नगरपालिकाका शिक्षा शाखाका उपसचिव पदमराज आचार्यले बताए । उनका अनुसार नगरभित्रका ४३ सामुदायिक र १२ निजी विद्यालयमा पठनपाठन चलिरहेको छ ।  

‘सरकारले सबैतिर वायु प्रदूषण बढेको भन्दै देशैभरका विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय त ग¥यो, तर, त्यो अवस्था सबैतिर थिएन र अहिले पनि छैन,’ आचार्यले भने, ‘हामीले भने भिमादभित्र उत्तिसारो प्रदूषण नरहेकोले विद्यालय खुलै राख्ने निर्णय ग¥यौ ।’ कोरोना भाइरस महामारीका कारण लामो समय शिक्षण संस्था बन्द हुँदाको मार अझै कम नभएको अवस्थामा थप चारदिन विद्यालय बन्द गर्दा अप्ठेरो पर्ने अवस्था आएको भन्दै निजी विद्यालयले त बन्द गर्नै समेत नमान्ने अवस्था रहेको उनले बताए ।  

‘विद्यालयमा पढाई सक्न सकस पनि छ । बल्लतल्ल शिक्षा क्षेत्र लयमा फर्किने प्रयासमा छ । यहीबेला चारदिनसम्म विद्यालय बन्द गर्दा पठनपाठन थप प्रभावित हुने देखियो,’ उनले भने, ‘वार्षिक परीक्षा आउनै थालेको र पाठ्यक्रम सक्न पनि दवाव रहेकोले विद्यालय बन्द गर्न सकिएन ।’ सरकारले काठमाडौंलाई हेरेर ७७ वटै जिल्लामा वायु प्रदूषण रहेको आँकलन गर्दा यो अवस्था आएको उनले बताए ।  

‘सबैतिर प्रदूषण हुँदा भिमाद पनि जोगिने अवस्था त होईन । तर, ठुला सहरमा जस्तो भीषण प्रदूषण यहाँ छैन,’ उनले भने । १२ कक्षासम्मको पठनपाठन व्यवस्थापनको अधिकार स्थानीय तहलाई भएकोले त्यही अनुसार स्थानीय तहले निर्णय गरेको उनले बताए । ‘माध्यमिक शिक्षा परीक्षा (एसइइ) बाहेकमा स्थानीय तहले निर्णय गर्न सक्छन्,’ उनले भने, ‘अहिलेको अप्ठेरोमा पनि स्थानीय तहले आफु अनुकुल निर्णय गर्न सक्ने भनेर सरकारले भनेको भए राम्रो हुन्थ्यो । तर, देशैभर बन्द गर्नु राम्रो भएन ।’

बागलुङमा पनि स्थानीयतहले शिक्षण संस्था खुलै राखेका छन् । बागलुङ नगरपालिकाले पनि शिक्षणसंस्था खुलै राखेको छ । बागलुङका अरु स्थानीय तहले पनि विद्यालय खुलै राखेका छन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले चारदिनसम्म पठनपाठन बन्द गर्दा परीक्षामा असर गर्ने भएकोले चालु राख्ने निर्णय गरेको बताए । नगरपालिकाको शिक्षा समितिको संयोजकमा नगरप्रमुख रहने र त्यही समितिको निर्णय अनुसार विद्यालय खुलै राखेको ज्ञवालीले बताए ।

‘कोरोना त्रासका कारण लामो समयसम्म विद्यालय बन्द भए । अहिले पनि बन्द गर्दा पठनपाठनमा असर पर्ने देखियो । त्यही भएर विद्यालय संचालन गरिएको हो,’ उनले भने, ‘पठनपाठन र परीक्षा पूर्ववत अवस्थामा चलिरहेको छ ।’ विद्यालय संचालनको सबै अधिकार स्थानीय तहलाई भएकोले पनि नगरपालिकाले खुलै राखेको उनले बताए । ‘घना सहरमा वातावरणीय प्रभावको कारणले पठनपाठन बन्द गर्नु ठिक होला, तर, सबैतिर काठमाडौं, पोखराको जस्तो जोखिम अवस्था छैन,’ उनले भने ।  

शिक्षाका जानकारहरु पनि सरकारले सबैतिर एकै अवस्था रहेको भन्दै आँकलन गरेर विद्यालय बन्द गर्नु नै कमजोरी रहेको बताए । शिक्षाका जानकार मोहनमुरारी खनाल भन्छन,‘ सरकारले चारदिनसम्म विद्यालय बन्द गर्ने भनेर गरेको निर्णय कच्चा हो । यो अपरिपक्व र गर्नै नहुने खालको निर्णय थियो । सरकारले बेठिक निर्णय गरेकोले स्थानीय तहले मानेनन ।’  

काठमाडौंको प्रदूषणलाई हेरेर सबैतिर त्यही नियम लागु गर्न नहुने उनले बताए । काठमाडौंमा अहिलेको आकारमा नपुगेपनि अरुबेला पनि प्रदूषण रहेको उनले बताए । ‘सरकारको गर्नै नहुने निर्णय गरेको थियो । स्थानीयतहले आफु मातहतका शिक्षण संस्था बन्द नगरेर ठिक गरे,’ खनाल भन्छन, ‘विकेन्द्रीत भनेर अधिकार दिने, तर, अहिले खोस्ने भनेर स्थानीयतहले आफुलाई अब्बल देखाइदिए । केन्द्रीकृत मानसिकताको ‘डिफेन्स’ गरेका हुन् । अब सबैतिर एकलौटि निर्णय लागु हुँदैन भनेर देखाइदिएका छन ।’

कोरोनाको त्रासले मुलुकभर लकडाउन गरेजस्तै अवस्था अहिले भएको उनले बताए । सम्बन्धित निकायलाई सोधेर मात्र यो बारेमा निर्णय गर्नुपर्नेमा सबै केन्द्रीकृत मानसिकताबाट गुज्रेर यो निर्णय गरिएको उनले बताए । ‘यो निर्णय केन्द्रबाट लादिएको हो । शिक्षा नियमावलि र संविधानले स्थानीय तहलाई शिक्षाको अधिकार दिएको छ,’ उनले भने, ‘अहिले नै राष्ट्रिय संकट निम्तेको पनि होईन ।’ विद्यालय बन्द हुँदा बालबालिका झन फुक्काफाल भएको उनले बताए । ‘स्कुल भएको भए विद्यार्थी विद्यालयमै रहन्थे । पहिला भन्दा स्कुलले अहिले सुरक्षा व्यवस्थापन राम्रो गरेका छन । पठनपाठन बन्द गर्दा विद्यार्थी फुर्सदिला भएर घुम्न निस्केका छन,’ खनालले भने, ‘विद्यालय खुल्दा भन्दा झनै जोखिम अहिले बढेको छ । किनकी बालबालिका घरभित्र थुनिएका छैनन् ।’ 

प्रकाशित: १८ चैत्र २०७७ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App