६ वैशाख २०८१ बिहीबार
शिक्षा

शैक्षिक गन्तव्य बन्दै बेनी सामुदायिक माविः देशभरबाट १२३ विद्यालयको भ्रमण

बेनी सामुदायिक माविमा शनिबार तनहुँ दमौलीस्थित सत्यवती माविको टोलीले अवलोकन गरेको छ। जिल्लामा रहेका निजी विद्यालयसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको टोलीले विद्यालय व्यवस्थापन समिति, अभिभावकको नियमित अनुगमन, शिक्षकको सामूहिक सहकार्य, पर्याप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, विद्यार्थीमैत्री संरचनालगायत लोभलाग्दो प्रगति देखेर सो टोली दंग प¥यो। 

सत्यवतीका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलको नेतृत्वमा आएको ६२ जनाको शिक्षक टोलीलाई विद्यालयमा स्वागतसँगै शैक्षिक अभ्यास र शिक्षकको सामूहिक सहकार्यको नमुनासमेत प्रस्तुत गरिएको थियो। अवलोकन भ्रमणको क्रममा विद्यालयमा अभिभावक र शिक्षकको नियमित सहकार्यले शैक्षिक नतिजामा सुधारका अभ्यास उत्कृष्ट लागेको प्रअ पौडेलले बताए।  

‘शिक्षकको मात्र प्रयासले विद्यालयको प्रगति हुँदैन, अभिभावकको निगरानीले पनि ठूलो भूमिका खेल्छ,’ प्रअ पौडेलले भने। उनले सानो ठाउँ भए पनि पूर्वाधारसहित विद्यार्थीको आकर्षण देखेको बताए। उनले आफ्नो विद्यालयका राम्रा अभ्यासलाई समेत जानकारी गराएका थिए भने नयाँ अभ्यासलाई विद्यालयमा लागु गर्ने बताए। सत्यवती माविसमेत देशभरका उत्कृष्ट नमुना सामुदायिक विद्यालयभित्र पर्छ। भ्रमणको क्रममा बेनी सामुदायिकका प्रअ दीपक श्रेष्ठले सामुदायिक विद्यालयबीचको सहकार्यलाई बलियो बनाउनुपर्ने बताए। 

उनले छिमेकी जिल्लाबाट समेत विद्यार्थी आउने भएकाले यातायातसहित अन्य सुविधा थप्ने तयारीमा रहेको बताए। उनले विद्यार्थीको चापअनुसारको पूर्वाधार नहुँदा प्रवेश परीक्षा लिनुपर्ने बाध्यता रहेको बताए। नेपाल सरकार शिक्षा मन्त्रालयले २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरबाट १ सय २३ विद्यालयले भ्रमण गरेका छन्। सर्वोत्कृष्ट भएपछि बालमन्दिर मावि नदीपुर पोखराको टोली पहिलो भ्रमणमा आएको थियो।  

शैक्षिक अवलोकनमा आएकालाई चालु वर्षको एसइईको श्रेणीगत नतिजा, ३ वर्षभित्रको एसएलसी उत्तीर्ण प्रतिशत, विद्यालय स्तरीकरण (भौतिक पूर्वाधार, मानवीय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसएसलीमा उत्तीर्ण संख्या र चालु एसएलसी उत्तीर्ण प्रतिशत, अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाइ उपलब्धि, कक्षाकोठा सजावट, शिक्षक र अभिभावक बीचको सम्बन्ध, कक्षाकोठाको निगरानीमा सिसी क्यामेराको जडानलगायत विभिन्न गतिविधिलाई डिजिटल माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ। २०११ सालबाट अस्थायी रूपमा सञ्चालित विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो। २०६३ सालदेखि माध्यमिक तहको परीक्षामा सहभागिता जनाएको विद्यालयले हरेक वर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ। 

जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीय स्थलबारे समेत जानकारी गराउने गरिएको छ। यता भ्रमणमा आउने अधिकतर विद्यालयले एक रात बेनीमा बिताउने भएकाले होटल व्यवसायीसमेत उत्साहित हुने गरेका छन्। शैक्षिक भ्रमणले आर्थिक कारोबारमा समेत सघाइरहेको व्यवसायीको भनाइ छ।

प्रकाशित: ३ चैत्र २०७७ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App