१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

जोखिमबीच खुले विद्यालय

धरानको एक विद्यालयको कक्षाकोठामा फेससिल्डसहित विद्यार्थी र शिक्षक । तस्बिर सौजन्य: बिकास चम्लिङ राई

बाँकेको मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रज्ञा डाँगी आठ महिनापछि नियमित पठनपाठनमा सहभागी भइन्। कृषि बाली विज्ञान विषय पढिरहेकी उनी मंसिर १४ यता नियमित विद्यालय पाउँदा खुसी छिन्। कोभिड–१९ को जोखिमबारे भने उनी अनभिज्ञ छिन्।  

‘विद्यालय बन्द भएर घरमा बसिरहँदा साह्रै नरमाइलो लागेको थियो,’ उनले भनिन्, ‘अहिले विद्यालय खुलेपछि राम्रो भएको छ।’ उक्त विद्यालयका शिक्षक गणेश ओलीका अनुसार शिशुदेखि कक्षा ८ सम्मका विद्यार्थीका लागि बिहान साढे ९ बजेदेखि साढे १२ बजेसम्म र ९ देखि १२ सम्मका लागि दिउँसो साढे १ देखि अपराह्न साढे ४ बजेसम्म पढाइ सञ्चालन भइरहेको छ। विद्यार्थीका लागि मास्क, स्यानिटाइजर र साबुनपानीको उचित व्यवस्था गरिएको उनले बताए।

महामारीका कारण चैतमा सम्पन्न वार्षिक परीक्षापछि मुलुकभरका विद्यालय बन्द थिए। महामारी नियन्त्रणमा नआउँदा २०७७ सालको शैक्षिक सत्र लामो समय रोकियो। संघीय सरकारले तयार गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा–२०७७’ अनुसार लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका विद्यालय मंसिरदेखि सञ्चालनमा आएका हुन्। कार्यढाँचालाई आधार मानी विद्यालयले विद्यार्थीका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्नुपर्ने, एउटा बेन्चमा दुईजनाभन्दा बढी विद्यार्थी राख्न नपाइने, नियमित रूपमा साबुन पानीले हात धुन लगाउनुपर्नेलगायत मापदण्ड बनाइएको छ।

सोही मापदण्डअनुसार लुम्बिनी प्रदेशमा पठनपाठन थालिएको बताइएको छ। अधिकांश विद्यालयले पठनपाठन सञ्चालन गरिरहेको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बाँकेमा ७५ प्रतिशत विद्यालय सञ्चालनमा आइसकेको बताए। बर्दियाका सबै स्थानीय तहले विद्यालय सञ्चालन गरिरहेका छन्। कपिलवस्तुमा पनि अहिले धमाधम पढाइ चलिरहेका छन्। दाङका अधिकांश विद्यालय सिफ्टअनुसार चलिरहेका छन्। सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका सूचना अधिकारी डा. पुष्पराज पौडेलले कोरोना महामारी कायम रहे पनि विद्यालय खोल्ने होडबाजीले जोखिम बढाएको बताए।  

प्रदेश १ मा सबैजसो विद्यालय खुले

प्रदेश १ मा लगभग सबै विद्यालयमा पठनपाठन सुरु भएको छ। यस प्रदेशका सबै स्थानीय तहले कार्यढाँचाबमोजिम संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालनमा ल्याएका हुन्। कोरोनाबाट प्रदेशमै बढी प्रभावित मोरङ, सुनसरी र झापाका अधिकांश पालिकामा विद्यालय सञ्चालनमा आइसकेका छन्। केही पालिकाले विद्यालय सञ्चालनको तयारी गरिरहेका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख रमेश दाहालका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन्।  

सुनसरीको सबैभन्दा बढी संक्रमण भएको धरानका निजी विद्यालय बिहीबारदेखि नै खुलिसकेका छन् भने सामुदायिक विद्यालय आइतबारदेखि पूर्ण रूपमा खुल्ने दाहालले बताए। ‘मंसिर २८ गतेदेखि सबै पालिकामा विद्यालय सञ्चालन हुन्छ,’ उनले भने, ‘मापदण्ड सबैले पालना गर्दै विद्यार्थीको संख्या र भौतिक संरचनाअनुसार एक वा दुई सिफ्टमा पढाइ भइरहेको छ।’

मोरङका अधिकांश विद्यालय खुलिसकेका छन्। विराटनगर महानगरपालिकाले पनि पुस २ देखि विद्यालय खुलाउने निर्णय गरेको छ। ज्वरो नाप्ने, हात धुने, मास्क अनिवार्य लगाउने, एउटा बेन्चमा दुईजना मात्र राख्ने, बिहान र दिउँसोको सिफ्टमा पढाउनेलगायत मापदण्ड अपनाएर विद्यालय खुलाइएका हुन्। झापाका पनि अधिकांश पालिकामा बिहान ७ बजेदेखि साढे १० बजेसम्म ठूला कक्षा र ११ बजेदेखि दिउँसो ३ बजेसम्म साना कक्षा सञ्चालन भइरहेका छन्। सामुदायिक विद्यालय पनि क्रमशः खुल्ने तयारीमा छन्। संक्रमण दर कम भएका ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा निर्बाध रूपमा विद्यालय सञ्चालनमा आइसकेको प्रदेश १ का निमित्त शिक्षा विकास निर्देशक राजेन्द्र बुढाथोकीले जानकारी दिए।  

प्रदेश २ मा पनि खुले विद्यालय

कोरोना भाइरस फैलिने क्रम नरोकिएको र सरकारले विद्यालयमा प्रत्यक्ष रूपमा पठनपाठन सञ्चालन नगर्न सरकारले सचेत गराइरहे पनि प्रदेश २ का आठै जिल्लाका विद्यालयमा पठनपाठन सुरु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर पठनपाठन थालिएको दाबी गरिएको छ। महामारीका बेला वैकल्पिक विधिबाट गराइएको पठनपाठन प्रभावकारी नभएको तथा सबै विद्यार्थीको प्रविधिमा सहज पहुँच नभएकाले प्रत्यक्ष रूपमा विद्यालय खोल्नुपरेको विद्यालय सञ्चालकहरूको तर्क छ। वैकल्पिक शिक्षा खासै प्रभावकारी नभएकाले सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्याब्सन प्रदेश २ अध्यक्ष मुरारीप्रसाद साहले बताए।

‘स्थानीय तह र प्रमुख जिल्ला अधिकारीहरूसँगको समन्वयमा विद्यालय खुलेका हुन्। स्वास्थ्य सावधानी अपनाए पढाउन सकिन्छ भन्ने निष्कर्षका साथ असोज ४ देखि नै यस प्रदेशका विद्यालय सञ्चालनमा आएको उनले बताए। ‘अभिभावकले आफ्ना बालच्चा बिग्रिएको भन्दै विद्यालय खोल्न दबाब दिनुभयो। त्यसैले मापदण्ड पालना गरेर विद्यालय खोल्यौं,’ साहले भने। विद्यालय सञ्चालन कार्यविधिमा संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था कक्षा सञ्चालनलगायत मोडालिटी र विकल्प सिफारिस गरिएको छ।

गण्डकीमा ६० प्रतिशत खुले

गण्डकी प्रदेशका आधाभन्दा बढी विद्यालयले विद्यार्थीलाई बोलाएरै पढाइ थालेका छन्। ३५ प्रतिशत विद्यालयले अनलाइन कक्षा चलाइरहेका छन् भने ५ प्रतिशतले पढाइ सञ्चालन गर्न नसकेको सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखाले जनाएको छ। थोरै विद्यार्थी भएका विद्यालयमा विद्यार्थीको उपस्थितिमै पढाइ हुन थालेको महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले बताए। धेरै विद्यार्थी भएका विद्यालयले बिहान र दिउँसो गरेर विद्यालय खोलेको उनको भनाइ छ। अत्यधिक धेरै विद्यार्थी भएका विद्यालयले भने वैकल्पिक माध्यमबाट पढाइरहेको उनले बताए।

महाशाखा प्रमुख काफ्लेका अनुसार सहरी क्षेत्रका अधिकांश बोर्डिङ स्कुलले वैकल्पिक माध्यम अपनाएका छन्। ५ प्रतिशत विद्यालय भने पढाइ सञ्चालन गर्ने कि नगर्ने, सञ्चालन गर्दा वैकल्पिक माध्यम अपनाउने कि भौतिक उपस्थिति गराउने वा अझै केही समय पर्खेर हेर्ने भनी निष्कर्षमा पुगिसकेका छैनन्। वैकल्पिक शिक्षा निर्वाहमुखी मात्र भएकाले अब भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नेतर्फ जोड दिइएको उनको भनाइ छ। गण्डकीका कास्की, पर्वत, बागलुङ, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, म्याग्दी, नवलपुर र मुस्ताङका अधिकांश विद्यालयले पढाइ सुरु गरिसकेको शिक्षा महाशाखाले जनाएको छ। मनाङमा एकाध विद्यालय मात्र खुलेका छन्।  

सुदूरपश्चिममा कतै बन्द कतै खुला

सुदूरपश्चिमका विद्यालय कतै खुलेका छन् भने कतै बन्दकै अवस्थामा छन्। कतिपय विद्यालय तिहारलगत्तै खुलेका हुन्। कोरोना संक्रमण देखिएपछि केही स्थानीय तहले अनिश्चितकालका लागि पठनपाठन बन्द गरेका छन्। कैलालीको लम्की चुहा नगरपालिकामा भने कक्षा ६ देखि १२ सम्मै पठनपाठन सुरु गरे पनि कक्षा १ देखि ५ सम्म सञ्चालनमा आएको छैन।  

यस्तै बैतडीको डिलासैनी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था देखिएपछि पुनः विद्यालय गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए। कोरोना देखिएपछि बाजुराको बुढीगंगा नगरपालिकाका विद्यालय पनि एक सातादेखि बन्द रहेको शिक्षा एकाइ प्रमुख गोपाल जोशीले बताए। कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाका विद्यालय पनि बन्द छन्। अछामको मंगलसेन नगरपालिका, कमलबजार क्षेत्र, बान्नीगडी र तुर्माखाँद गाउँपालिका सिल भएका कारण त्यहाँका विद्यालय बन्द रहेको सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयले बतायो। यस्तै बझाङको दुर्गाथली गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि केही विद्यालय बन्द छन् भने डडेल्धुराको देवल माध्यमिक विद्यालय दिव्यपुर र अजयमेरु गाउँपालिकाका विद्यालय बन्द रहेको शिक्षा एकाइ प्रमुख रामदत्त भट्टले जानकारी दिए।  

(रोहित राई/धरान, मिथिलेश यादव/लहान, सन्देश श्रेष्ठ/पोखरा, अर्जुन ओली/नेपालगन्ज, पुष्पराज जोशी/कैलाली)

प्रकाशित: २७ मंसिर २०७७ ००:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App