१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

किन खुलेनन् काठमाडौंका सबै विद्यालय

चिसोमा कोरोना भाइरसको जोखिम बढी भएकाले विद्यालय खोल्न चुनौती छ: महानगर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको जोखिम बढ्दै गएकाले मंसिरपछि विद्यालय खोल्दा थोरै विद्यार्थी भएको ठाउँमा र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र खोल्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार कोरोना संक्रमितको तथ्यांक प्रस्तुत गर्दै यस्तो सूचना दिएका हुन् । उनले सरकारले नखोल्ने भनेका बढी भिडभाड हुने सिनेमा हल, रात्रिकालीन व्यवसाय, सभासम्मेलन जस्ता क्षेत्रमा थप १५ दिनसम्म कडा रूपमा प्रतिबन्ध लगाएको जानकारी दिए ।

‘सरकारले नखोल्ने भनेका क्षेत्र थप १५ दिन खोल्न नपाइने र त्यसपछि पनि अवस्था हेरेर निर्णय हुने छ,’ प्रवक्ता गौतमले भने, ‘मंसिरपछि विद्यालय खोल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र खोल्ने स्वास्थ्य मन्त्रालयको निर्णय हो । यो निर्णय स्वास्थ्य सेवा विभागसँग सहकार्य गरी सिसिएमसीलाई लेखेर पठाइने निर्णय भएको छ ।’

कोभिड–१९ को बढ्दो जोखिमका कारण आठ महिनादेखि रोकिएको कक्षा १२ को अन्तिम परीक्षा मंगलबार सम्पन्न भएको छ । विद्यालयहरूले राष्ट्रिय परीक्षा बोर्डकै निर्देशनमा प्रविधिको पूर्ण प्रयोग गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर विद्यार्थीको भौतिक उपस्थितिकै आधारमा परीक्षा सम्पन्न गरे । अब यही परीक्षाको सफलताको आधारमा काठमाडौंका विद्यालयले विद्यार्थीको उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनका लागि सबै तयारी गरिसकेका छन् । तर काठमाडौं महानगर भने काठमाडौंमै जोखिम बढी रहेकाले विद्यालय खोल्ने पक्षमा छैन ।

चैतदेखि रोकिएको कक्षा १२ को अन्तिम परीक्षा गराउन परीक्षा बोर्ड सफल भएको छ । यही सफलताको आधारमा काठमाडौंका विद्यालयले विद्यार्थीको उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनका लागि सबै तयारी गरिसकेका छन् । तर काठमाडौं महानगर भने काठमाडौंमा जोखिम बढी रहेकाले विद्यालय खोल्ने पक्षमा छैन ।

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्पराज कँडेलले अब स्कुल सञ्चालन गर्न कुनै बाधा नभएको अनुभव सुनाए । ‘अनलाइन कक्षा खासै प्रभावकारी बनेन,’ प्रअ कँडेलले नागरिकसँग भने, ‘अभिभावक आफ्ना नानीबाबु स्कुलमै सुरक्षित भएकाले पढ्न पठाउन तयार छन् । हामी विद्यालय सञ्चालन गर्न तयार छौं ।’ उनले थपे, ‘तर महानगरले अनुमति नदिएकाले विद्यालय सञ्चालन गर्न सकेनौं ।’ पुलचोकस्थित त्रिपद्म माविका सहप्रधानाध्यापक विष्णु घिमिरेले कोभिडका कारण सबैभन्दा बढी शिक्षा क्षेत्र नै लथालिङ्ग बनेको गुनासो गरे । ‘विद्यालयमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर हामीले कक्षा १२ को परीक्षा सम्पन्न गरेको देखी अभिभावकहरू विद्यालयमा नानीबाबुलाई नियमित अध्ययनका लागि पठाउन तयार छन्,’ घिमिरेले भने, ‘शिक्षा मन्त्रालयले विद्यालय पुनः सञ्चालन कार्यविधि जारी गरिसकेको अवस्थामा पनि जोखिम कम भएका विद्यालयले खोल्नसक्ने व्यवस्थाको समेत महानगरपालिकाले वास्ता गरेन ।’ उनले थपे, ‘यस्तै रहने हो भने विद्यार्थीले पढ्न र शिक्षकले पढाउनसमेत भुल्नेछन् ।’

काठमाडौं महानगरले भने देशभरिको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी बालबालिका र अभिभावक संक्रमित भएकाले जाडो महिनामा विद्यालय खोल्न असहज हुने जनाएको छ । महानगर शिक्षा प्रमुख नमराज ढकालले संघीय शिक्षा मन्त्रालयले विद्यालय पुनः सञ्चालन कार्यढाँचा जारी गरी जोखिम कम भएका ठाउँ र विद्यालयले स्थानीय तहको स्वीकृतिमा विद्यालय खोल्ने र बन्द गर्ने अधिकार दिएको भए पनि काठमाडौंमा कोरोनाको जोखिम झनै बढेकाले हाललाई खोल्नसक्ने अवस्था नरहेको बताए ।

बुधबारसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी १० वर्षमुनिका कोरोना संक्रमित काठमाडौंमा नै छन् । तथ्यांकमा काठमाडौंमा १० वर्षमुनिका २ हजार ४४ बालबालिका संक्रमित छन् । तर विद्यालयको शैक्षिक गतिविधिलाई कसरी अघि बढाउनेबारे छलफल भइरहेको उनले बताए । ‘काठमाडौं महानगरका १८ वटै नगरपालिकाका सम्पूर्ण विद्यालयमा ३ लाख विद्यार्थी अध्ययन गर्छन्,’ शिक्षा विभाग प्रमुख ढकालले नागरिकसँग भने, ‘काठमाडौंमा सबैभन्दा बढी बालबालिका संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । भेन्टिलेटर, आइसियुलगायत केही खाली छैन ।’ उनले थपे, ‘यस्तो अवस्थामा नानीबाबुलाई स्कुलमै बोलाएर पठनपाठनको जोखिम महानगरले लिने पक्षमा छैन । त्यही भएर तत्काल विद्यालय खुल्दैनन् ।’ तर शैक्षिक सत्र पूरा गर्ने विभिन्न उपायबारे महानगर शिक्षा विभाग तथा कार्यपालिकामा छलफल भइरहेको उनको भनाइ छ । उनले कक्षा १२ को परीक्षाको सफलताले विद्यालय खोल्ने आधार वा वातावरण बने पनि चिसो बढेकाले रिक्स लिन नसकेको जनाए । ‘केन्द्रमा शैक्षिक सत्र असारसम्म पु¥याउने छलफलसमेत चलिरहेको छ,’ उनले भने, ‘चिसोमा विद्यालय खोल्न हतार गरेर बालबालिकालाई जोखिममा पार्न महानगर तयार छैन ।’ महानगरले विद्यार्थीको घरघरमै स्वाध्ययन सामग्री उपलब्ध गराउने नीतिसहित अभिभावकलाई नै शिक्षक बनाएर बालबालिकाको सिकाइ अघि बढाउने तयारी गरिरहेको उनले बताए ।

प्रकाशित: १८ मंसिर २०७७ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App