८ वैशाख २०८१ शनिबार
शिक्षा

६ महिनापछि स्कुल खुल्दा उल्लास

दंगीशरण गाउँपालिकास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा पढ्दै विद्यार्थी । तस्बिर: नागरिक

घोराही उपहानगरपालिका हापुरकी समीक्षा दाहालले ६ महिना घरभित्रै गुम्सिएर बिताइन् । हापुर मावि निघुवार कक्षा १० की विद्यार्थी उनलाई लाग्थ्यो, स्कुल कहिले खुल्ला ? स्कुल बन्द हँुदा उनमा बेचैनी बढ्यो । तर अहिले स्कुल खुलेको छ, कोरोना त्रास भए पनि उनी खुसी छिन् ।

दाहालले कक्षा ९ को परीक्षा दिएपछि कोरोनाका कारण ६ महिनासम्म स्कुल बन्द भयो । उनको स्कुले साथीसँग लामो समयसम्म भेटघाट हुन सकेन । ‘कक्षामा पढ्ने साथीसँग पनि लामो समयसम्म भेट हुन सकेन,’ उनले भनिन्, ‘पढ्न पनि पाइएन । घरभित्रै थुनिएर बस्दा साह्रै अप्ठेरो भयो, बेचैनी बढ्यो ।’ ६ महिनापछि उनको त्यो असहजता मेटिएको छ । अहिले उनी नियमित विद्यालय जान थालेकी छन् । ‘६ महिनापछि स्कुल जान पाइयो,’ उनले भनिन्, ‘स्कुल जान पाउँदा धेरै खुसी लागेको छ ।’ विद्यालय जान पाउँदा हर्षित उनलाई कोरोना संक्रमणको त्रासले भने घोचिरहेको छ । ‘कोरोनाको डर त छ तर मास्क लगाएर विद्यालय जान्छौं, पटकपटक हात धुन्छौं,’ उनले भनिन् ।

हापुरकै केशव बस्नेतले पनि ६ महिनापछि विद्यालय खुलेपछि साथीसँग भेट्न पाए । ६ महिनापछि स्कुल गएर पढ्न पाउँदा उनी पनि दंग छन् । ‘यो वर्षभरि नै स्कुल गएर पढ्न पाइन्न कि भन्ने डर लागिरहेको थियो,’ उनले भने, ‘तर स्कुल खुल्यो, खुसी लागेको छ ।’ उनले सुरक्षा सावधानी अपनाएर विद्यालय जाने गरेको बताए । ‘मास्क अनिवार्य प्रयोग गर्छौं अनि भौतिक दूरी पनि कायम गरी पढ्छौैं,’ उनले भने, ‘विद्यालयले पनि हात धुन साबुनपानीको व्यवस्था गरिदिएको छ ।’

जया बस्नेत पनि असोज सुरु भएपछि नियमिति स्कुल जान्छिन् । उनले पनि सुरक्षा सावधानी अपनाएर स्कुल जाने गरेको बताइन् । सरकारले सिकाइ निर्देशिका, २०७७ जारी गरेसँगै सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि विद्यार्थी खुसी भएका हुन् । ‘मलाई यो वर्ष विद्यालय खुल्छ र पढ्न पाइन्छ भन्ने लागेकै थिएन,’ सोही विद्यालयकी विद्यार्थी जयाले भनिन्, ‘तर सरकारले विद्यालय खोल्ने वातावरण बनाइदियो, हामी स्कुल जान पायौं ।’

‘६ महिनापछि स्कुल जान पाइयो,’ विद्यार्थी समीक्षा दाहालले भनिन्, ‘स्कुल जान पाउँदा धेरै खुसी लागेको छ ।’ विद्यालय जान पाउँदा हर्षित उनलाई कोरोना त्रासले भने घोचिरहेको छ । ‘कोरोनाको डर त छ तर मास्क लगाएर विद्यालय जान्छौं,’ उनले भनिन्, ‘पटकपटक हात धुन्छौं ।’

सरकारले जारी गरेको निर्देशिका र स्वास्थ्य सुरक्षा मापदण्डमा टेकेर जिल्लाका अधिकांश सामुदायिक तथा निजी विद्यालयले समूह निर्धारण गरी आलोपालो पढाउन थालेका छन् । केही विद्यालय पठनपाठन सुरु गर्ने प्रक्रियामा छन् । तर कोरोना महामारी बढेर फेरि विद्यालय बन्द हुने हुन् कि भन्ने त्रास पनि विद्यार्थीमा छ । असोज पहिलो सातादेखि नियमित अध्ययनका लागि विद्यालय पुगेका बालबालिका अब विद्यालय बन्द नभइदिए हुन्थ्यो भन्ने चाहन्छन् । ‘६ महिनापछि बल्ल स्कुल गएर पढ्न पाएका छौं,’ घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा ९ कक्षामा अध्ययनरत छाया बस्नेतले भनिन्, ‘अब स्कुल बन्द नभइदिए हुने थियो ।’  

जिल्ला शिक्षा समन्वय एकाइ दाङका अनुसार केही स्थानीय तहका विद्यालयले सिफ्ट निर्धारण गरी पढाउन थालेका छन् भने केहीले समुदायस्तरमा सिकाइ केन्द्र खडा गरी पठनपाठन सुरु गरेका छन् ।  

सरकारले जारी गरेको सिकाइ निर्देशिकामा टेकेर जिल्लामा पठनपाठनको वातावरण निर्माण भएको छ,’ एकाइका प्रमुख देवमणि चौधरीले भने, ‘केहीले समुदायस्तरमै पुगेर सिकाइ गरिरहेका छन् भने कोरोना संक्रमण जोखिम नभएका स्थानमा विद्यालयमा सिफ्टवाइज अध्ययनअध्यापन भइरहेको छ ।’ उनका अनुसार जिल्लाको बंगलाचुली गाउँपालिकामा रहेका विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीलाई नियमित पठनपाठन सुरु गरिसकेका छन् । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने कसरी पढाउन सकिन्छ भन्ने विषयमा सो गाउँपालिकाले गृहकार्य गरिरहेको छ । दंगीशरण गाउँपालिका सलौरास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा पनि विद्यार्थीको उपस्थिति उत्साहजनक छ । उक्त विद्यालयले कक्षाअनुसार आलोपालो गरेर पठनपाठन सुरु गरेको छ । ‘हामीले भौतिक दूरी कायम राखेर विद्यार्थीलाई बस्ने वातावरण व्यवस्था मिलाएका छौं, आवश्यक स्वास्थ्य सुरक्षाको प्रबन्ध पनि मिलाएका छौं,’ विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद आचार्यले भने, ‘विद्यालय खुलेपछि विद्यार्थी निकै उत्साहित भएका छन्, दिनहुँ विद्यार्थीको संख्या बढ्दो छ ।’

प्रकाशित: १२ आश्विन २०७७ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App