१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

६ महिना पछि दाङमा सुरु भयो पढाइ

दंशीशरण गाउँपालिका सलौरास्थित लक्ष्मी नारायण आधारभुत विद्यालयमा पढ्दै बालबालिका। तस्बिर: नागरिक

सरकारले सिकाइ निर्देशिका २०७७ जारी गरेसँगै सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गर्न अनुमती दिएपछि दाङमा पठनपाठन सुरु हुन थालेको छ। जिल्लाका केही सामुदायिक तथा निजि विद्यालयहले विद्यार्थीलाई सामाजिक दूरी कायम राखेर पढाउन थालेका हुन्। विद्यालय खुलेसँगै ६ महिनासम्म घरमै रहेका बालबालिका विद्यालय जान थालेका छन्।

घोराही उपमहानगरपालिका–१२ स्थित हापुर मावि निघुवारले विद्यालयमा पठनपाठन सुरु भएको तीनदिन भएको छ। यो विद्यालयले विद्यार्थीहरूबीच सामाजिक दूरी कायम राखेर पढाइ सञ्चालन भइरहेको छ। ‘अहिले प्रत्येक कक्षामा १०÷१५ जनाका दरले विद्यार्थी पढ्नका लागि आइरहेका छन्,’ प्रधानाध्यापक अर्जुन न्यौपानेले भने, ‘विद्यार्थीको स्वास्थ्य सुरक्षाप्रति गम्भिर भएर त्यसैअनुसार पठनपाठनको व्यवस्थापन मिलाएका छौँ।’ विद्यालयमा पठनपाठन सुरु गर्नुपूर्व विद्यालयले अभिभावक तथा विद्यार्थीसँग पनि छलफल गरेको थियो।

अभिभावक तथा विद्यार्थीले पठनपाठन सञ्चालन गर्न सुझाव दिएपछि पढाइ सुरु गरिएको प्रअ न्यौपानेले जानकारी दिए। ‘हामीले असोज १ र २ गते अभिभावकसँग छलफल गरेका थियौं, उहाँहरूले पठनपाठन सुरु गर्न सुझाव दिनुभयो,’ उनले भने ‘सोहीअनुसार स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पढाइ सुरु गरेका छौं।’ अहिले एउटा बेन्चमा दुई जना मात्रै विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ।

यस्तै विद्यार्थी तथा शिक्षकले मास्क तथा अन्य स्वासथ्य सुरक्षाका सामग्री अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। पढाइ सुरु भएसँगै विद्यालययमा विद्यार्थी संख्या बढ्दै गएको प्रअ न्यौपानेले जनाए। विद्यार्थीसँगे बढै गएपछि गु्रप विभाजन गरेर पढाउने तयारी रहेको उनले बताए। एउटा गु्रपमा १० देखी १५ जना मात्रै राख्ने उनको भनाइ छ।

सरकारले आगामी चैतसम्म १ सय ५१ दिनको अवधिमा पाठ्यभार पूरा गर्न निर्देशन गरेको छ। सोहीअनुसार केही विद्यालयले पठनपाठन थालेका छन् भने केहीले ८ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। घोराहीस्थित हिन्दु विद्यापीठ नेपालले समुदाय स्तरमै पुगेर कक्षा सञ्चालन गरेको छ। ७ कक्षासम्मका विद्यार्थीलाई पढाउनका लागि बालकालिकाको पायक पर्ने ठाउँमा कक्षा सञ्चालन गर्दै आएको छ।

सोमबारदेखि पढाइ सुरु गरेको दंशीशरण गाउँपालिका सलौरास्थित लक्ष्मी नारायण आधारभुत विद्यालयमा पनि विद्यार्थीको उपस्थिती बढ्दै गएको छ। यो विद्यालयले कक्षाअनुसार आलोपालो गरेर पढाइ सुरु गरेको छ। विद्यलयका प्रधानाध्यापक गोविन्दप्रसाद आचार्यका अनुसार विद्यालयमा नर्सरी देखि ५ कक्षासम्मका र ६ देखि ८ कक्षासम्मका विद्यार्थीलाई आलोपालो पढाउने गरिएको छ।

‘हामीले सबै कक्षाका विद्यार्थी एकै दिन विद्यालय आउँदा भिड्भाड हुने भएकाले आलोपालो गरेका हौं,’ प्रअ आचार्यले भने ‘अहिले विद्यार्थीहरुको संख्या बढ्दै गएको छ।’ अभिभावकले विद्यालय सञ्चालनका लागि आग्रह गर्दै आएपछि सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गरेको उनले बताए। विद्यालयमा आउने शिक्षक तथा विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पूरा गरिने उनको भनाइ छ। जिल्लाका केही स्थानीय तहमा पढाइ सुरु भएको छ भने बाँकी रहेका स्थानीय तह पनि विद्यालय सञ्चालनको तयारीमा रहेका छन्।

प्रकाशित: ७ आश्विन २०७७ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App