१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

पदाधिकारीलाई २६ घन्टा थुनेर सहमति

रुबी रौनियार, काठमाडौं, असोज ८ - त्रिभुवन विश्वविद्यालयका करार शिक्षक तथा प्राध्यापकहरुले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई २६ घन्टा थुनेर आफ्ना मागमा सहमत गराएका छन्। सोमबार साँझ दुई पक्षबीच दुईबुँदे सहमति भएपछि उनीहरुले पदाधिकारीलाई मुक्त गरेका छन्।  

२३ बुँदे मागमध्ये मुख्य दुई माग पूरा गर्न पदाधिकारी सहमत भएपछि सोमबार अपराह्न ४ बजेदेखि थुनिएका उपकुलपति हिराबहादुर महर्जन, शिक्षाध्यक्ष गुणनिधि न्यौपाने र रजिस्ट्रार चन्द्रमणि पौडेललाई साँझ ६ बजे छाडिएको आन्दोलनकारी त्रिवि प्राध्यापक संघका महासचिव प्रेमराज खनियाँले बताए।

पदाधिकारीहरुसँग भएको सम्झौताका दुई बुँदामा त्रिवि सेवा आयोगले करार शिक्षकहरुको समेत सहभागिता हुनेगरी कानुनी प्रक्रिया पूरा गरेर आन्तरिक र खुला विज्ञापन गर्ने र पदोन्नतिका सवालमा प्रतिशतका आधारमा विषयगत स्थिति अध्ययन गरी संख्या थप गर्ने उल्लेख छ।

'पदाधिकारी घेराउको हाम्रो मूल एजेन्डा यिनै दुइटा थिए,' खनियाँले वार्ताबाट निस्केलगत्तै नागरिकसँग भने, 'पदाधिकारीले हाम्रा मुख्य माग पूरा गरेपछि हामीले फुकुवा गर्‍यौं।'

सहमतिअनुसार करार सेवामा कार्यरत त्रिविका करिब १ हजार ८ सय शिक्षक क्रमिक रुपमा स्थायी हुनेछन्।

करार शिक्षकलाई विशेष आन्तरिक विज्ञापनबाट स्थायी गरिनुपर्ने मुख्य मागसहित २३ बुँदे माग राखेर आन्दोलनरत संघले पदाधिकारीलाई शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कोठामा आइतबार चार बजेदेखि बन्दी बनाएको थियो।

उपकुलपति हिराबहादुर महर्जनले संघका मागप्रति त्रिवि पहिलेदेखि नै सकारात्मक रहे पनि कुरै नबुझी अशोभनीय कार्य गरेको प्रतिक्रिया दिए।

'प्राध्यापकहरुले कुरै नबुझी आफ्नै पदाधिकारीलाई २६ घन्टा थुनेर अशोभनीय काम गरे,' सहमतिपछि मुक्त भएर बाहिरिँदै गरेका महर्जनले नागरिकसँग भने, 'हामीले पहिले नै यी माग सम्बोधन गर्न त्रिविसभामा प्रस्ताव गर्ने भनिसकेका थियौं।'

शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले माग सम्बोधन गर्ने सहमति पहिले नै जनाइसकेको अवस्थामा पदाधिकारीलाई थुनेर सास्ती दिइएको बताए।

'हामीले पहिले नै करारका शिक्षकलाई एकैपटक नभएर क्रमशः प्रक्रिया पुर्‍याएर स्थायी गर्ने भनेका थियौं,' न्यौपानेले नागरिकसँग भने, 'हतारिएर हामीलाई थुन्नेसम्मको गैरजिम्मेवार काम गरियो।'

विद्यार्थीलाई अनुशासन र नैतिकताको पाठ सिकाउने त्रिविकै प्राध्यापकहरुले पदाधिकारी थुन्नु प्राज्ञिक मर्मविपरीत काम भएको शिक्षाविद एवं त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले प्रतिक्रिया दिए।

चित्त नबुझे कानुनको बाटो अपनाउनुपर्नेमा विद्यार्थीको शैली अपनाइएकोमा उनले आपत्ति जनाए।

'प्राध्यापकहरुको निन्दनीय कार्य समाचारमा सुन्दा रुन मन लाग्यो,' पूर्व उपकुलपति माथेमाले नागरिकसँग भने, 'एक दशकअघि आफूले निकै फूर्तिसाथ चलाएको विश्वविद्यालय
दुर्गतितिर बढेको देख्दा चित्त दुख्छ।'

उच्च शिक्षाको ९० प्रतिशत विद्यार्थीको भार उठाएको मुलुकको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयलाई राजनीतिले सिध्याउने काम गरेको उनको निष्कर्ष छ।

'हाम्रो पालामा योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्ति हुन्थ्यो र त विश्वविद्यालयले विश्वमै गरिमा कायम राखेको थियो,' उनले थपे, 'अहिले त्रिविको हरेक तह र निकायलाई राजनीतिक दलले बाँडीचँुडी खाने सम्पत्ति मानेकाले सबैथोक बिग्रेको हो।'

प्रकाशित: ८ आश्विन २०६९ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App