१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

त्रिविका उपकुलपतिलाई प्राध्यापकहरुले थुने

रुबी रौनियार, काठमाडौं, असोज ७- त्रिभुवन विश्वविद्यालयका हरेक तह र तप्कामा पदाधिकारी नियुक्ति गर्दा आफूहरुको पनि सहमति र सहभागिता हुनु पर्ने माग राख्दै लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, रजिष्ट्रार र रेक्टरलाई शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)मा थुनेका छन्।
 

प्राध्यापकहरुले आइतबार तीनै पदाधिकारीलाई चार घण्टादेखि थुनेका हुन्। उपकुलपति, रेक्टर र रजिष्ट्रारहरुले चियामात्र पिएर बसेका उपकुलपतिका पीए रत्‍न महर्जनले जनाए। 'प्रध्यापकजस्तो प्राज्ञिक जमातले नै आफ्नै पदअधिकारीलाई थुन्नु निन्दनीय काम हो,' महर्जनले भने' प्राध्यापकहरुले समस्याको समाधान छलफलबाट निकाल्नुपर्छ।'

उपकुलपतिलाई हाई रक्तचाप भएकाले समस्या हुने चिन्ता उनले ब्यक्त गरे।

प्राध्यापकहरुले विगत एक महिनादेखि विभिन्न माग राख्दै उपलकुलपति हीराबहादुर महर्जन, रजिष्ट्रार चन्द्रमणि पौडेल, शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलगायत चारै संकायको डिन र कार्यकारिणीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। विगत एक महिनादेखि विश्वविद्यालयका आर्थिक, प्रशासनिक र शैक्षिक काम-कारबाही प्रभावित बन्दै आएकाले तीनै पदाधिकारीले आइतबार सेरिडबाट कामकारबाही सुरु गर्न खोज्दा प्रध्यापकहरुले एक्कासी आएर थुनेको उनले बताए।

उता लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उदयकिसोर तिवारीले गत वर्ष कुलपति एवं प्रधानमन्त्री बाबुराम भट्टराईको रोहवरमा उपकुलपति महर्जनले त्रिविको हरेक तह र निकायमा पदाधिकारी नियुक्ति गर्दा लोकतान्त्रिक प्राध्यापक संघलाई पनि समावेश गराउने लिखित प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नगरेकोले बाध्य भएर पदाधिकारीलाई थुन्नु परेको बताए। 'त्रिविका पदाधिकारीले चारै संकायका डीन र ६० आंगिक क्याम्पसमा तीन दलको मात्र भागबन्डामा पदाधिकारी नियुक्ति गरेका छन्,' तिवारीले भने, 'हामीलाई अपहेलना गरेकोले बाध्य भएर कार्यकक्षमा तालबन्दी गर्यौं।' उनले थपे, 'तालाबन्दीको एक महिना बित्‍न लाग्दासमेत पदाधिकारीहरु कानमा तेल हालेर बसेकले आज हामीले थुनेका छौं। लिखित सहमति नगरेसम्म छाड्ने छैनौं।'

प्रकाशित: ७ आश्विन २०६९ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App