१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

चन्दा नदिएको भन्दै अखिल क्रान्तिकारीद्वारा विद्यालय तोडफोड

कञ्चनपुर, भदौ ३१- एमाओवादी निकट अखिल क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरुको एक समूहले आज कञ्चनपुर सदरमुकामका दुई निजी विद्यालयमा तोडफोड गरी लाखौंको क्षति पुर्‍याएका छन्। मागे अनुसारको चन्दा रकम नदिँदा फ्लोरिडा बोर्डिङ स्कुल र प्रभात विद्या निकेतनमा तोडफोड गरेका हुन्।
 

अखिल क्रान्तिकारीका चन्द्रकान्त भट्टको नेतृत्वमा रहेका २०/२५ जनाको समूहले विद्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार फ्लोरिडामा विद्यार्थीहरुले दुई गाडी, कम्प्युटर, फर्निचर, ल्यापटप, दुई बस, फोनलगायतका सम्पत्ति तोडफोड गरेका छन् भने प्रभात विद्या निकेतनमा कम्प्युटर, कुर्सी, टेबुल र फोन तोडफोड गरेर क्षति पुर्‍याएका छन्। तोडफोडबाट दुवै विद्यालयमा लाखौंको क्षति भएको बताइएको छ।

बिहान नौं बजे चन्दा माग्न विद्यालय पुगेको विद्यार्थीहरुको समूहले मागे अनुसारको चन्दा विद्यालयले दिन नसक्ने जनाएपछि तोडफोड गरेको फ्लोरिडाका प्राचार्य निशा भट्टले बताए।

जिल्ला प्रहरी कार्यालयबाट दुबै विद्यालयबाट ५०० मिटरको दूरीमा मात्रै रहेपनि प्रहरी भने तोडफोड भएको आधा घण्टा ढिलो गरी पुगेको विद्यालयका शिक्षकहरुले बताएका छन्। प्रहरी नायव उपरीक्षक विर्खबहादुर रावलले तोडफोडमा संलग्न भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए। रासस

प्रकाशित: ३१ भाद्र २०६९ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App