मानविकी संकायका डीन पीताम्बर ढकालका अनुसार वीरेन्द्रनगर बहुमुखी क्याम्पस र पब्लिक साइन्स क्याम्पस व्यवस्थापन समितिले अहिलेसम्म समायोजनको लागि बैठकसमेत डाकेका छैनन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐनको दफा ३ (२)मा यी दुई क्याम्पसका साथै त्रिविको आंगीक क्याम्पसको रुपमा रहेको सुर्खेत शिक्षा क्याम्पसलाई आधार क्याम्पसको रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गरिने उल्लेख छ।
'शिक्षा क्याम्पसले त त्रिविको निर्णय र निर्देशन कुर्नुपर्ने होला, जनस्तरबाट सञ्चालित दुई क्याम्पसले भने विनाकारण समायोजन प्रक्रिया सुरु गरेका छैनन्,' उनले भने, 'यस्तै हो भने हाम्रै प्रयासमा स्थापना भएको नयाँ विश्वविद्यालयले सही रुपमा गति लिन सक्दैन।' दुवै क्याम्पसका व्यवस्थापन समिति अध्यक्षलाई बारम्बार समायोजनको लागि प्रक्रिया सुरु गर्न आग्रह गर्दा पनि बेवास्ता भएको उनले बताए।
वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा स्थानीय स्तरमा गठित विश्वविद्यालय स्थापना मूलसमितिका अध्यक्ष रहेका भूषण मानन्धर अध्यक्ष छन्। क्याम्पसका प्राध्यापक र कर्मचारीले समायोजन प्रक्रिया सुरु गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। 'तैपनि उहाँ हल्लिनु भएको छैन,' विश्वविद्यालय स्थापनाका अगुवासमेत रहेका ढकालले भने, 'यसको भित्री रहस्य हामीले बुझ्न सकेका छैनौँ।'
आफ्नो छुट्टै भौतिक संरचना नभएको पब्लिक साइन्स क्याम्पसले पनि समायोजनमा ढिलाइ गरेर नयाँ विश्वविद्यालयलाई 'असहयोग' गरेको डीन ढकालको आरोप छ। साइन्स क्याम्पसले समायोजन हुन चाहेमा उसलाई सबै दृष्टिले फाइदामात्र छ। 'तैपनि व्यवस्थापन समितिले किन तत्परता नदेखाएको होला?' उनले आश्चर्य व्यक्त गर्दै भने, 'हिजो सबैको पसिनाबाट जन्मिएको विश्वविद्यालय अहिले हामीहरुकै कारण मर्ने हो कि भन्ने चिन्ताले सताउन थालिसकेको छ।'
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सुरु गर्नको लागि तयारी पूरा भएको जनाएको छ। विभिन्न ४० विषयका पाठ्यक्रम निर्माण भइसकेका उपकुलपति पदमलाल देवकोटाले बताए। 'स्थानीय क्याम्पस र त्रिविले समायोजनको लागि सहयोग गर्ने हुन् भने तत्काल पढाइ सञ्चालन गर्न कुनै कठिनाइ छैन,' उनले भने, 'यहाँ त नयाँ विश्वविद्यालयलाई कसरी असफल बनाउने भन्ने खेल सुरु हुँदा चिन्ता लाग्न थालेको छ।'
विश्वविद्यालयसँग आफ्नो नाममा करिब २० बिगाहा जग्गा भए पनि भौतिक संरचना भने बन्न सकेको छैन। मंगलबार करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको विज्ञान तथा प्रविधि संकायको भवन शिलान्यास गरिएको छ।
तत्काल शैक्षिक कार्यक्रम सञ्चालन गर्नको लागि स्थानीय तीन क्याम्पसलाई समायोजन गरेर उनीहरुको सम्पत्ति गाभ्नुपर्ने रजिष्ट्रार ठकेन्द्रप्रसाद गिरीले बताए। अन्यथा शैक्षिक कार्यक्रम सुरु गर्नु परे भाडाको घर लिनुपर्ने अवस्था छ।
केही समयअघि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विश्वविद्यालय अनुदान आयोगको बैठकले समायोजनमा सहयोग गर्ने निर्णय गरे पनि त्रिविले कार्यान्वयनमा असहयोग गरेको गिरीले बताए। 'सरकारले बनाएको कानुनलाई त्रिविले टेरेको छैन,' उनले भने, 'यस्तो अवस्थामा कसरी काम गर्ने?' उनले भारत सरकारले इन्जिनियरिङ कलेज स्थापनाको लागि आठ करोड भारु सहयोग गर्ने प्रतिवद्धता जनाए पनि केही व्यक्तिको अवरोधले प्रक्रिया रोकिएको बताए।
वीरेन्द्रनगर बहुमुखी क्याम्पसका अध्यक्ष मानन्धर भने आफूले समायोजनमा असहयोग नगरेको, बरु मध्यपश्चिमाञ्चल विश्वविद्यालयले समायोजनको कानुनी आधार तयार नगरेकोले समस्या भएको बताउँछन्। 'समायोजनसम्वन्धी नियमावली पास नभएको अवस्थामा हामीले कसरी निर्णय गर्ने?' उनको भनाइ छ, 'त्रिविको सम्वन्धनमा चलिरहेको क्याम्पसलाई अर्को विश्वविद्यालयमा समायोजन गर्नको लागि स्पष्ट नियमावली त चाहियो नि।' यसको लागि क्याम्पस व्यवस्थापन समितिमा रहेका राजनीतिक दलहरुको सहमति पनि जरुरी रहेको उनले बताए। समायोजनकै लागि भनेर क्याम्पसमा नयाँ भर्ना नखोलिएकोले समायोजनमा अवरोध गरेको भन्न नमिल्ने उनको तर्क छ।
प्रकाशित: २८ भाद्र २०६९ २२:५२ बिहीबार




