१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने

दुई करोड मतपत्र छाप्न दिने तयारी

अगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन –०८२को लागि निर्वाचन आयोगले मतपत्र छपाईको तयारीमा जुटेको छ ।

नेपाल सरकार अन्तर्गतको जनक शिक्षा सामग्री केन्द्र पछिलो समय छपाई कार्यमा सक्षम बन्दै गएपछि निर्वाचन आयोगले मतपत्र छपाईको सम्पूर्ण जिम्मेवारी जनक शिक्षालाई नै दिने तयारीमा जुटेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए ।

विगतमा काम खोसिएर सुक्दै गएको जनकलाई सरकारले विश्वास गरि काम दिन थालेपछि जनक विस्तारै सवल र सक्षम बन्दै गएको हो ।

‘मंगलबार सम्म आयोगमा मतदाता नामावली २ करोड ८४ लाख दर्ता भएको तथ्यांक छ,’ प्रवक्ता भट्टराईले नागरिकसँग भने,‘मतदाता संख्या अनुसार निर्वाचनलाई करिब २ करोड मतपत्र छपाई गर्नु पर्ने देखियो ।’

‘जनक शिक्षा सामग्री केन्द्र नै मतपत्र छाप्दै आएकोले यस पटक पनि जनक शिक्षालाई नै मतपत्र छपाई गर्न दिने तयारीमा आयोगले छलफल अघि बढाएको छ,’ उनले भने ।

विगतमा जनक शिक्षामा बढी राजनीति हावी भएर छपाई कार्यहरु प्रभावित भएर जानाले चुनौतीको सामना गर्नु परेको थियो । तर पछिलो समय जनकले विद्यालय तहको पाठ्यपुस्तकदेखि सवारी साधन अनुमतिपत्र, परीक्षाका प्रश्नपत्रलगाएतका राज्यलाई आश्यक पर्ने सबै अतिआवश्यक र गोपनीय कागजातहरु छपाई गर्ने काम पाएपछि जनक सवल बन्दै गएको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जनकले मतपत्र छाप्न तयार रहेको बताए । उनले मतपत्र छपाईका लागि जनकसँग चार वटा पुराना छपाई मेसिन रहेको र जनकले त्यसको मर्मत कार्य पनि सुरु गरिसकेको बताए ।  

स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, समानुपापति तथा प्रत्यक्ष निर्वाचनलगाएत निर्वाचनका सबै मतपत्र छपाई गर्दै आएको र यस पटक पनि जनक मतपत्र छाप्न तयारी पुरा गरिसकेको समेत दाबी गरे ।

‘पछिलो समय जनक शिक्षाले नेपाल टेलिकमको ५ करोड थान रिचार्ज कार्ड छपाई कार्य भइरहेको छ,’ प्रबन्ध निर्देशकले जनकको सवल पक्ष बताए,‘९० लाख थान विद्यालय तहको पाठ्यपुस्तक अगामी शैक्षिक सत्रलाई छपाइ गरिसकेको छ । भने ९० लाख थान किताब छपाईको तयारीमा जुटेको छ ।’ उनले थपे,‘विद्यालय तहको पाठ्यपुस्तकको कुल १ करोड ९० लाख थानको कार्ययोजना हो । जनकले यस पटक तीन अर्व थान अन्तशुल्क स्टीकर छापेर आफूलाई सबल बनाउन सकेको हो ।’  

यति मात्र होइन उनका अनुसार नेपाल सरकारका धेरै जसो अतिआवश्यक कागजातहरु जुन पहिले भारतलगाएत अन्य मुलुकमा छपाई गरिन्थ्यो त्यो पनि हाल जनकले छापिरहेको छ ।

‘जग्गाधनी लालपुर्जा, एसईईको शैक्षिक प्रमाणपत्र तथा मार्कसिट, उत्तरपुस्तिकालगाएतका सबै कागजात छापिरहेको छ,’ प्रबन्ध निर्देशक पौडेलले भने,‘दैनिक ६० हजार थान पाठ्यपुस्तक छाप्ने काम पनि भइरहेको छ। मतपत्रले अगामी शैक्षिक सत्रको पाठ्यपुस्तक छपाईमा कुनै बाधा पर्दैन ।’  

‘अहिले जनकको साथमा दक्ष र सक्षम जनशक्ति, राम्रो र स्तरीय छपाई मेसिन, कागज तथा कुशल ब्यवस्थापन छ । यसकारण अब सरकारले निजी छपाई गर्ने विद्यालय तहको कक्षा १, २ र ४ को निःशुल्क पाठ्यपुस्तकको छपाई कार्य पनि जनकलाई दिनुपर्छ,’ उनले भने ।

प्रकाशित: २५ कार्तिक २०८२ २०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App