२६ असार २०८२ बिहीबार
image/svg+xml
शिक्षा

पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र

म्याग्दी पुस्तकालयले घरमा लगेको किताव फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र पठाउन सुरू गरिएको छ । पुस्तकालयको नियम अनुसार सदस्यता लिएर लगेका पाठकले मौखिक अनुरोधलाई अटेर गरेपछि पत्र पठाइएको हो ।

सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै लगेर दिने, जिल्लाका अन्य स्थान तथा स्वदेश र विदेशमा रहेका पाठकलाई हुलाकबाट पत्र पठाउन थालिएको पुस्तकालयकी प्रमुख भुजु कटुवाल क्षत्रीले बताइन् ।  

उनका अनुसार बि.स २०७२ सालदेखि यता पुस्तक फिर्ता नगर्नेहरुलाई पुस्तकालयको सम्पत्ती फिर्ताका लागि अनुरोध सहित पत्र पठाइएको बताइन् । म्याग्दी  जिल्लाकै जेठो मानिएको म्याग्दी पुस्तकालयको महत्व र पठन सस्कृति विकास गर्ने नयाँ नयाँ पुस्तकहरु थप गरिएको अवस्थामा पुस्तक फिर्ता नगर्ने परम्परालाई तोड्न यो अभ्यास सुरु गरिएको व्यवस्थापन समितिका सचिव नवराज पौडेलले बताए । 

‘हामीले पुस्तक फिर्ता नगर्नेहरूको सूची तयार गर्दछौ, आज मात्रै घरदैलोमा पुगेर पत्र दिएका छौ’ सचिव पौडेलले भने । सचिव पौडेलले लगेको पुस्तक हराएको भए सोही पुस्तक खरिद गरी उपलब्ध गराउन समेत सकिने बताए । पुस्तकालयमा पाठकका लागि लगेको किताब फिर्ता गर्नुपर्ने निश्चित समय तोकिएको हुन्छ र उक्त समयमा किताब फिर्ता नगरेमा जरिवाना समेत तिर्नुपर्ने प्रावधान छ ।  

म्याग्दी पुस्तकालय शनिबार तथा सार्वजनिक बिदाको दिनहरुमा पनि खुल्ने गरेको छ । सिसी क्यामेरा, तातोपानी सहित शान्त वातावरणमा अध्ययन गर्न मिल्ने ब्यवस्था रहेको पुस्तकालयले उत्कृष्ट पाठकलाई सम्मान समेत गर्ने गरेको छ । 

वि.सं. २०१२ सालमा प्रकाश पुस्तकालयको रुपमा स्थापना पुस्तकालयले २०२० सालदेखी म्याग्दी पुस्तकालय बनेको थियो भने । ०६० चैत्र ७ गते माओवादीले बेनी आक्रमणमा पर्दा २० हजारबढी पुस्तकसहित पुस्तकालय जलेर नष्ट भयो । हाल पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री सहित विभिन्न विधाका १० हजार बढीको हाराहारीमा पुस्तकहरु छन् ।

प्रकाशित: १९ असार २०८२ १९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App