बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले गिरफ्तारी, जेल सजाय वा मृत्युसमेतको जोखिम भए पनि स्वदेश फर्किने अडानबाट पछि नहट्ने बताएकी छन्।
उनले व्यक्तिगत सुरक्षाभन्दा आफ्नै देश र जनतासँग रहनुलाई महत्त्वपूर्ण ठानेको बताएकी हुन्।
समाचार संस्था आईएएनएससँगको अन्तर्वार्तामा हसिनाले बंगलादेश फर्किएलगत्तै आफू पक्राउ पर्न, जेल जान वा हत्या हुन सक्ने जोखिम रहेको बताइन्।
‘बंगलादेश पुग्नेबित्तिकै मलाई गिरफ्तार गर्न, जेल पठाउन वा हत्या गर्न पनि सक्छन्। मैले यी सबै सम्भावनाबारे सोचिसकेकी छु। तर मैले धेरै पहिले नै आफ्नो व्यक्तिगत सुरक्षाबारे चिन्ता गर्न छाडिसकेकी छु,’ उनले भनिन्।
उनले सन् १९८१ र २००७ मा पनि विभिन्न जोखिमका बाबजुद बंगलादेश फर्किएको स्मरण गरिन्। सन् १९८१ मा सैन्य शासन रहेका बेला र सन् २००७ मा पक्राउ पर्न सक्ने सम्भावना हुँदाहुँदै स्वदेश फर्किएको उनको भनाइ छ।
‘डरले मलाई आफूलाई सही लागेको काम गर्नबाट कहिल्यै रोकेको छैन,’ उनले भनिन्।
हसिनाको स्वदेश फिर्तीको विषयलाई लिएर बंगलादेश र भारतबिच कूटनीतिक तनाव रहँदै आएको छ। तारिक रहमान नेतृत्वको सरकारले उनलाई नरेन्द्र मोदी नेतृत्वको सरकारले सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ। रहमान सरकारले स्वदेश फर्किएर कानुनी प्रक्रियाको सामना गर्नुपर्ने बताउँदै आएको छ।
हसिनाले सन् २०२६ डिसेम्बरमा बंगलादेश फर्किने योजना सार्वजनिक गरेकी छन्। यद्यपि, उनले फर्किने निश्चित मिति भने तय गरेकी छैनन्। स्वदेश फर्किने तयारीस्वरूप उनका वकिलहरूले नोभेम्बर ९ मा नयाँ दिल्लीस्थित बंगलादेशी दूतावासमा नयाँ राहदानी र यात्रा कागजातका लागि आवेदन दिएका थिए। तर सरकारले उक्त आवेदन अस्वीकार गरेको छ।
हसिना सन् २०२४ अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छाडेकी थिइन्। त्यसयता उनी भारतमा बस्दै आएकी छन्। मोदी सरकारले बंगलादेशको सुपुर्दगी मागबारे अहिलेसम्म निर्णय गरेको छैन।
प्रकाशित: २७ कार्तिक २०८३ १७:०७ शुक्रबार





