काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत छात्रवृत्तिलाई विद्यार्थीलक्षित बनाउन परीक्षा सञ्चालन र विद्यार्थी छनोट प्रक्रिया अघि बढाएको छ।
काठमाडौं महानगरअन्तर्गत संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८२÷८३ मा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थी छनोट गर्न महानगरपालिका शिक्षा विभागले अनलाइन आवेदन असार १८ देखि खुला गरेको छ।
महानगर सहरी आयोजनाका सदस्य शैलेन्द्र झाका अनुसार साउन ३ गते सञ्चालन हुने छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षामा सामुदायिक विद्यालयमा अध्ययन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइई ग्रेडेड विद्यार्थीले सहभागिता जनाउन पाउने छन्।
‘काठमाडौं महानगरले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिका लागि छात्रवृत्ति फाराम खुलाएको छ’, सदस्य झाले भने, ‘साथै निजी विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेर एसइईमा ग्रेडेड भएका विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिने व्यवस्था महानगरले गरेको छ। आवेदनको अन्तिम म्याद असार २७ सम्म छ। धेरैभन्दा धेरै लक्षित विद्यार्थीलाई छात्रवृत्तिमा समेट्न खोजिएको हो।’
उनले थपे, ‘विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायका लागि विद्यार्थीले परीक्षा पास गर्नुपर्छ। आफूले अध्ययन गर्न चाहेको विषयअनुसारै मावि छनोट गर्नुपर्छ।’
महानगरले यसपटक ४२ सय बढी विद्यार्थीका लागि छात्रवृत्ति कोटाको परीक्षा सञ्चालन गर्दै छ। १५ हजार बढी विद्यार्थीले फाराम भर्ने लक्ष्य महानगरले लिएको छ। छात्रवृत्ति परीक्षाको पाठ्यक्रम र उत्तीर्णांकका लागि महानगरले गरेको व्यवस्थाअनुसार कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान तथा प्रविधि र अंग्रेजी विषयबाट ३०/३० वटा र सामान्य ज्ञानबाट १० वटा गरी सयवटा बहुवैकल्पिक प्रश्न सोधिने छन्। प्रश्नहरू अंग्रेजी र नेपाली दुवै माध्यमबाट व्यवस्था गरिने तयारी छ।
परीक्षाको पूर्णांक सय तय गरिएको छ। छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने छ। विद्यार्थीको सहुलियतका लागि गलत उत्तरका लागि नकारात्मक अंक समावेश नगरिने व्यवस्था गरिएको झाले बताए। विद्यार्थीले महानगरको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्ने छन्। ‘अनलाइन फाराम भर्दाका बखत नै आफूले अध्ययन गर्न चाहेको विषयअनुसार विद्यालयको प्राथमिकताक्रम निर्धारण गर्नुपर्ने छ’, उनले भने, ‘सोहीअनुसार योग्यताक्रम प्रकाशन हुने छ। फाराम भर्दाका बखत नै सबै विद्यालयको प्राथमिकताक्रम छनोट गरेको हुनुपर्ने छ।’
उनले थपे, ‘छनोट गरेको विद्यालयमा मात्र पछि मनोनयन गर्ने भएकाले अध्ययन गर्न चाहेका सबैले विद्यालय छनोट गर्नुपर्ने छ।’
सामुदायिक विद्यालयमा अध्ययन गरी एसइई दिएका र छात्रा वा आदिवासी/जनजाति, मधेसी वा खस, आर्य वा दलित मुस्लिम वा थारू वा अपांगता भएका व्यक्ति वा पिछडिएको क्षेत्रका व्यक्ति वा सहिद/बेपत्ता पारिएका नागरिकका परिवारलगायत आरक्षण भएको भए सोसमेत छनोट गरी आवश्यक कागजात अनिवार्य राख्नुपर्ने छ।
महानगरभित्रका संस्थागत विद्यालयले उपलब्ध गराउने कम्तीमा १० प्रतिशत छात्रवृत्ति कोटालाई शतप्रतिशत मानेर कोटा निर्धारण गरिएको छ। यसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरभित्रका स्थायी वासिन्दालाई १४ प्रतिशत, ल्यान्डफिल्डसाइटका प्रभावित क्षेत्रका स्थायी बसोवास गर्ने सामुदायिक /संस्थागतमा अध्ययन गरेको हकमा एक प्रतिशत कोटा निर्धारण गरिएको छ।
बाँकी रहेको ४० प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीको हकमा लागु हुने गरी कोटा निर्धारण गरिएको छ, जसअनुसार ३३ प्रतिशत छात्रा, आदिवासी/जनजाति १५ प्रतिशत, १२ प्रतिशत मधेसी, १७ प्रतिशत खसआर्य, ९ प्रतिशत दलित, २ प्रतिशत मुस्लिम, ४ प्रतिशत थारू, २ प्रतिशत आपांगता, ४ प्रतिशत पिछडिएको क्षेत्र र सहिद तथा बेपत्ता पारिएका नागरिकको परिवार तथा द्वन्द्वपीडित नागरिकको परिवारका छोराछोरीका लागि २ प्रतिशत तोकिएको छ।
विगत दुई वर्षको महानगरको छात्रवृत्तिको प्रवृत्ति हेर्दा बढेको छ। २०८० सालमा आठ हजारजनाले आवेदन दिएकोमा ३४६९ जनाले छात्रवृत्ति पाएका थिए भने २०८१ सालमा १२ हजारले आवेदन दिएका थिए, जसमध्ये ३८०१ ले छात्रवृत्ति पाएका थिए।
प्रकाशित: १९ असार २०८२ १०:०६ बिहीबार





