८ असार २०८२ आइतबार
image/svg+xml
शिक्षा

विद्यालयमै पुगेर दुर्व्यसनविरुद्ध प्रहरी अभियान

दुर्व्यसन विरुद्धको टिसर्टसहित विद्यार्थीसँगै प्रहरी र विव्यस। तस्बिरः महेश्वर

नेपाल प्रहरीले दुर्व्यसनविरुद्ध विद्यालयस्तरमै पुगेर जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेको छ। बाल्यावस्थादेखि नै दुर्व्यसनले पार्ने असर र खराब प्रभावका बारेमा जानकारी गराउँदा प्रभावकारी हुने भएकाले विद्यालयमै पुगेर विद्यार्थीलाई सचेतना कार्यक्रम अभियान चलाइएको प्रहरीले जनाएको छ।

यसै क्रममा इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका ८ मरुवा माध्यमिक विद्यालयमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। बिहीबार आयोजित एकदिने सचेतना अभियान कार्यक्रममा विद्यालयका सबै विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारीलाई सहभागी गराइएको छ।

कार्यक्रममा इप्रका कटारीका प्रमुख डिएसपी कमल बजगाईले अभिभावकको लापरबाही तथा सामाजिक प्रभाव र साथी सङ्गतका कारण बालबालिका र युवायुवतीहरू लागूऔषधमा फस्ने बताउँदै त्यसबाट जोगिन सबै सचेत हुन आग्रह गरे। लागूऔषध दुर्व्यसनविरुद्ध समाजका सबै अङ्ग र खासगरी अभिभावक सचेत भएर लागि पर्नुपर्नेमा उनको जोड थियो।

डिएसपी बजगाईले आफ्ना बालबालिकालाई सकेसम्म लागूऔषध दुर्व्यसनमा फस्नै नदिन बल गर्नुपर्ने र फसिहालेका भए कुलतबाट हटाउन र न्यूनीकरण (कम) गर्ने प्रयास गर्न अनुरोध गरे। ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नाराका साथ सञ्चालित अभियानलाई अन्य विद्यालयमा पनि निरन्तरता दिँदै लैजाने उनले प्रतिबद्धता जनाए।

यसअघि ०८१ चैत १८ गते प्रहरीकै सक्रियतामा सो विद्यालयका १२ जना विद्यार्थीलाई समेटेर फाइट एगेनेन्स्ट नारकोटिक्स (फ्यान) क्लब गठन गरिएको थियो। कार्यक्रमको अन्त्यमा डिएसपी बजगाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पौड्यालले क्लबमा आबद्ध विद्यार्थीलाई दुर्व्यसनविरुद्ध सन्देश अङ्कित टिसर्ट वितरण गरेका थिए।

प्रकाशित: ९ जेष्ठ २०८२ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App