स्याङ्जा, वालिङको हिमशिखर आधारभूत विद्यालयमा बिहानी प्रार्थनापछि जब शिक्षक र विद्यार्थी कक्षाकोठा छिर्छन्, विद्यालयमा टुप्लुक्क पुग्छन्– अभिभावक। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खाण प्रधानाध्यापक मित्रलाल अधिकारीको पछि लागे र त्यस दिन कक्षामा अनुपस्थित रहेका शिक्षकबारे जानकारी लिए। ‘आज कोही पनि शिक्षक अनुपस्थित छैनन्, एकजना शिक्षक तालिमका लागि नगरपालिकामा जानुभएको छ,’ प्रधानाध्यापक खनालले भने। ‘अनि उहाँको सट्टामा कसले कक्षा लिनुहुन्छ त सर?’ अभिभावक खाणले फेरि सोधे। खनालको जवाफ थियो, ‘हामीले खाली रहेका शिक्षकलाई सट्टामा कक्षा कभर गर्नेगरी मिलाएका छौं।’
हिमशिखर आधारभूत विद्यालयको स्थापना नै रोचक ढंगले भएको हो। २०६२ सालमा हिमशिखर युवा क्लबका पदाधिकारी र स्थानीयबिच मन्दिर बनाउने कि विद्यालय भन्ने विवाद भएछ। अन्ततः विद्यालय बनाउनेहरूकै मत धेरै भएछ र यो विद्यालय खुलेको रहेछ। कार्यालय कक्षमा विद्यालय राम्रो बनाउने सूत्र, विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार, शिक्षक अभिभावक संघको कर्तव्य तथा अधिकारको विवरण, उत्कृष्ट शिक्षकका आधारहरूको विवरणलगायत जानकारी टाँसिएका छन्। कक्षाकोठामा भने कक्षाकोठाका नियमहरू छन्।
आधारभूत भए पनि वालिङ नगरपालिकाकै राम्रो विद्यालयमा चिनिएको छ, हिमशिखर विद्यालय। त्यो साख गिर्न नदिएर शैक्षिक सुधार गर्दै गुणस्तरीय सिकाइ बढाउन आफूहरू लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खाण बताउँछन्। खाणले अभिभावकको विश्वास यसरी जितेका छन् कि उनी चौथो कार्यकालका लागि विव्यस अध्यक्षमा चुनिएर काम गरिरहेका छन्। विद्यालयमा गठन गरिएको अभिभावक शिक्षक संघ अध्यक्ष हुन् पम्फा पौडेल। उनले अभिभावकहरूलाई जुटाएर विद्यालयको राम्रो अभ्यासबारे छलफल गर्ने गरेकी छिन्। विद्यालयका संस्थापक अध्यक्ष मेघनाथ पौडेल यो साबिक पश्चिमाञ्चलकै अंग्रेजी माध्यममा पढाउने पहिलो विद्यालय भएको स्मरण गर्छन्। ‘शैक्षिक गुणस्तर स्थापित गर्नैका लागि खोलिएको शिक्षालाई समुदायबाटै साथ छ। समितिसँगै कुनै महत्वपूर्ण निर्णय गर्नुपरे हामी गाउँ टोल नै बोलाउँछौं। समितिले मात्र निर्णय गर्दैन,’ उनले भने।
हिमशिखर आधारभूत विद्यालयका प्रधानाध्यापक मित्रलाल अधिकारी नगरपालिकाबाट शिक्षकले निरन्तर पेसागत विकासको अवसर पाउन थालेपछि विद्यालयको सिकाइ र सुशासनमा धेरै सुधार आएको बताउँछन्। तालिमपछि नै आफूले नियमित कक्षा अवलोकन गर्दै शिक्षकलाई फिडब्याक दिन थालेको उनी बताउँछन्। त्यस्तै, विव्यस तालिमपछि विद्यालयको सुधार योजना पनि राम्रो बन्ने र कार्यान्वयन पनि प्रभावकारी हुन थालेको उनको अनुभव छ।
शिक्षकसँगै कक्षाकोठा छिर्छन् प्रधानाध्यापक
कावासोती नगरपालिकाले प्रधानाध्यापकलाई अनिवार्य कक्षाकोठा अवलोकनमा जोड्ने गरेको छ। प्रअले हप्तामा चार वटा कक्षा अवलोकन गर्नैपर्ने व्यवस्था लागु गरिएको छ। अवलोकनपश्चात् शिक्षकलाई सुझाव दिएको फारम पालिकामा बुझाउनुपर्छ। आफूले हप्तामा कम्तीमा चारवटा कक्षाको अनिवार्य अवलोकन गर्ने गरेको त्रिभुवन बाल माविका प्रअ घिमिरे बताउँछन्।
शिक्षकहरूको पर्फमेन्स कस्तो छ भनेर विद्यार्थीले भोटिङ पनि गर्ने गरेको प्रअ घिमिरे बताउँछन्। विद्यालयले कमजोर विद्यार्थीको घरमा प्रअ कार्यक्रम पनि लागु गरेको छ। कमजोर विद्यार्थीको घर घरमा पुगेर प्रअले विद्यार्थी र अभिभावकसँग छलफल गर्ने, सुझाव दिने, विद्यार्थीको घरको सिकाइ क्रियाकलापबारे बुझ्ने गर्छन्। विद्यार्थीका लागि छुट्टै सिकाइ तालिका बनाइएको छ। अभिभावक पदम मोक्तान प्रअ नै घर घरमा आएर विद्यार्थीको सिकाइप्रति चासो दिन थालेको थाहा पाएर आफूले निजी विद्यालयबाट झिकेर छोरालाई त्रिभुवन बाल माविमा भर्ना गरेको सुनाउँछन्। विद्यालयले नियमित अभिभावक भेला गर्ने, फोन गरेर विद्यार्थीको सिकाइबारे चासो राख्ने गरेको छ।
अभिभावकको साथले फेरिएको विद्यालय
पाल्पाको माथागढी १, चिदिपानीमा २०३० सालमा खुलेको हो, ज्ञानोदय आधारभूत विद्यालय। तर, विद्यार्थी घट्दै जाँदा शैक्षिक सत्र २०७७ मा आइपुग्दा विद्यालय बन्द हुने अवस्थामा पुग्यो। गाउँबाट बसाइ सर्ने क्रम बढ्नु एउटा कारण थियो भने अर्को विद्यालयको शैक्षिक गुणस्तर सन्तोषजनक थिएन। बर्सेनि विद्यार्थी घटेपछि स्थानीय सरकारले सो विद्यालय अर्कोमा गाभ्ने प्रक्रिया नै अघि बढाइसकेको थियो। तर, विद्यालयका शिक्षक र वडा जनप्रतिनिधिहरूले सुधारको विश्वास दिलाएपछि अहिले विद्यालयमा विद्यार्थी र विश्वास दुवै फर्किएको छ।
माथागढी सहकारी संस्थासँग समन्वय गरेर विद्यालयका लागि सहकारीकै भवन प्रयोग गरेर विद्यालय सञ्चालनमा गर्दै आएको प्रधनाध्यापक विजयदीप पन्थी बताउँछन्। ‘अभिभावकको मागलाई ख्याल गर्दै विद्यालयले २०७८ साउनदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु ग¥यो,’ उनी भन्छन्। अहिले विद्यालयमा दुई सय १६ जना विद्यार्थी पुगेका छन्। विद्यालयमा शिक्षक अभाव थियो। अभिभावकहरूले मुट्ठी दान संकलन गरेर निजी स्रोतबाट दुई जना शिक्षक नियुक्त गरिएको छ। विद्यार्थीको संख्या बढ्दै गएपछि विद्यालयले गत वर्ष कक्षा ६ र यो वर्षदेखि कक्षा ७ सञ्चालनको अनुमति पाएको छ।
अभिभावक संघका अध्यक्ष ताराबहादुर बिक विद्यालय सुधारका लागि नियमितजसो विद्यालयमा आउँछन्। उनले विद्यालयको सुधार योजना बनाउने मात्र होइन, अध्ययन अनुगमनसमेत गर्ने गरेका छन्। बच्चाले कसरी पढिरहेका छन्, बालबालिकालाई शिक्षकले कस्तो व्यवहार गर्छन्, शिक्षक नभएको समयमा कसरी बच्चालाई हेरचाह गर्छन् भनेर अभिभावकहरू विद्यालय जाने गरेका छन्।
माथागढी गाउँपालिकाले पनि बालमैत्री, सिकाइमैत्री र प्रविधिमैत्री विद्यालयको अवधारणअनुरूप विद्यालयलाई आवश्यक सहयोग गर्दै आएको छ। पालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरेको छ। सम्झौताअनुसार पहिलो वर्षमा शैक्षिक नतिजा कम्तीमा ६० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने सर्त राखिएको छ। यो उपलब्धी ल्याउन नसक्ने विद्यालयका प्रधानाध्यापकको प्रोत्साहन भत्ता पुनर्विचार गरी कारण सोध्ने भनिएको छ।
प्रत्येक कक्षामा ९४ प्रतिशतभन्दा कम विद्यार्थी र वार्षिक ९३ प्रतिशतभन्दा कम दिन शिक्षक उपस्थित भएमा प्रधानाध्यापकको अन्तिम मूल्याङ्कनमा पाँच प्रतिशत अंक घटाउने विधि बनाइएको छ। माथागढी गाउँपालिकाका विद्यालयमा चालु शैक्षिक वर्षको सुरुमा पाँच हजार ६ सय ६२ विद्यार्थी भर्ना थिए। शिक्षा शाखा प्रमुख प्रकाश पाठकका अनुसार विद्यालयमा विद्यार्थी टिकाउ दर सन्तोषजनक छ। कक्षा १–५ सम्म ९२ प्रतिशत छ भने कक्षा पाँच पूरा गर्ने दर ९८ दशमलव सात प्रतिशत छ। कक्षा आठको अन्त्यसम्म टिक्ने बालबालिकाहरू ८५.८ प्रतिशत छन्।
माथागढीको साक्षरता दर करिब ७७.५ प्रतिशत रहेको छ। पालिकाभित्र ४१ सामुदायिक र तीन संस्थागत गरी ४४ वटा विद्यालय छन्। गाउँपालिकाले कुल बजेटको करिब ११ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको छ। तर, अहिले पनि विद्यालय उमेर समूहका १३ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्।
प्रकाशित: १३ फाल्गुन २०८१ ११:१५ मंगलबार





