१८ चैत्र २०८१ सोमबार
image/svg+xml २३:१५ अपराह्न
शिक्षा

किट विश्वविद्यालयको अमानवीय व्यवहारले नेपाली विद्यार्थी अलपत्र

ओडिसामा नेपाली छात्रा मृत्यु प्रकरण

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयमा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत भेटिएपछि उत्पन्न तनावका कारण नेपाली विद्यार्थीहरू अलपत्र परेका छन्। प्रकृति आइतबार साँझ आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसपछि नेपाली विद्यार्थीलाई बलजफ्ती छात्रावासबाट निकालिएको पीडित विद्यार्थीहरूले बताएका छन्। 

पूर्वप्रेमीको यातनाका कारण प्रकृतिले आत्महत्या गरेको बुझिएको छ। विद्यार्थीहरूका अनुसार प्रकृति तीन वर्षयता भारतीय विद्यार्थी अद्विक श्रीवास्तवसँग प्रेम सम्बन्धमा थिइन्। उनले श्रीवास्तवबाट पटकपटक मानसिक यातना खेप्दै आएको उनीहरूले बताए। प्रकृति प्रेम सम्बन्धमा रहेका बखत प्रेमी श्रीवास्तवले अश्लील भिडियो बनाएको र पटकपटक ‘ब्ल्याकमेल’ गर्दै आएको एक विद्यार्थीले नागरिकसँग बताए। 

‘प्रकृतिले दुई पटक आइआरओ (अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय) मा निवेदन दिए पनि कुनै कारबाही भएन। आइआरओ विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभाग हो, जसले विदेशी विद्यार्थीको रेखदेख गर्छ। आइआरओले चासो नदिएपछि प्रकृति थप तनावमा थिइन्,’ भुवनेश्वर रेल्वे प्लेटफार्मबाट एक नेपाली छात्राले नागरिकसँग भनिन्, ‘न्यायका लागि कुनै सुनुवाइ नभएपछि बाध्य भएर प्रकृतिले आत्महत्या गर्नुपरेको हो। प्रकृति आइतबार साँझ मृत भेटिएपछि हामी नेपाली विद्यार्थीलाई बलजफ्ती छात्रावासबाट जिम ट्रेनर लगाई कुटीकुटी निकालियो। हामीलाई भुवनेश्वर रेल्वे प्लेटफर्ममा ल्याएर अलपत्र पारिएको छ। अब हामी कहाँ जाऔं ?’

विश्वविद्यालय परिसरमा विद्यार्थीले प्रदर्शन गर्दा प्रहरीले लाठीचार्जसमेत गरेको विद्यार्थीको गुनासो छ। प्रकृतिको मृत्युपछि विश्वविद्यालय प्रशासनले भारतीय विद्यार्थीलाई छात्रावासमै बस्न दिएको नेपाली विद्यार्थीहरूको आरोप छ। ‘हामीलाई जिम ट्रेनरले आएर चक्कु देखाएर दुई घण्टाभित्र छात्रावास खाली नगरे मारिदिने धम्की दिए,’ एक नेपाली छात्रले भने, ‘मेरो साथी कुटेको भिडियो मैले बनाउँदा जिम ट्रेनरले मेरो मुखमा लात्तीले हानेर रगत नै निकालिदियो। यस्तो मानवअधिकार हनन हुने तल्लो स्तरको काम विश्वविद्यालयका कर्मचारीबाट भएको छ । यसको सजाय उनीहरूले पाउनुपर्छ।’ आइतबार विश्वविद्यालयमा किट फेस्टिभल चलिरहेको थियो। भारतीय गायक बादशाहले गीत गाएर मनोरञ्जन दिइरहेका थिए। सबै विद्यार्थी फेस्टिभलमा सहभागी थिए। त्यही मौका छोपेर प्रकृति कोठामा झुन्डिएको उनकी सहकर्मीले बताइन्। 

भुनेवश्वर प्रहरीले आरोपी श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। प्रहरीले विश्वविद्यालयमा र विद्यार्थीको मागअनुसार सबै प्रमाण जफत गरिसकेको छ। किटमा नेपालका करिब हजार विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालयले सबैलाई बलजफ्ती छात्रावासबाट निस्कासन गरी विद्यार्थीको मानवअधिकार हनन गरेको विद्यार्थीको आरोप छ। 

यसैबिच भारतमा नेपाली छात्राको मृत्यु र नेपाली विद्यार्थीलाई छात्रावासबाट जबरजस्ती निकालिएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग यस विषयमा संवाद भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। ‘किट विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडियामा आएको छ। यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले एक्समा लेखेका छन्।

यसैबिच किट विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू समस्या समाधान गर्ने उपाय गरिरहेको र होस्टेल बस्न चाहने नेपाली विद्यार्थीलाई होस्टेलमा फर्कन आग्रह गरेको छ। साथै शैक्षिक क्षति पनि पूरा गराइदिने आश्वासन दिएको छ। तर पीडित र त्रसित विद्यार्थी सबै कोही आफन्त, कोही नेपाली दूतावासमा जाने त कोही टिकट बनाएर नेपाल फर्कने तयारीमा जुटेको बताइएको छ। 

अभिभावकहरू विश्वविद्यालयको मानवअधिकार हननको लाजमर्दो अवस्थाले तनावमा छन्। भारतीय आदिवासी समुदायका प्रा.डा. अच्युत सामन्तले सञ्चालन गरेको विश्वविद्यालयमा हिंसाका घटना हुनु र विश्वविद्यालयबाटै नेपाली विद्यार्थीमाथि अमानवीय व्यवहार हुनुले निन्दनीय कार्य रहेको पूर्वनेपाली विद्यार्थीहरूको भनाइ छ।

प्रकाशित: ६ फाल्गुन २०८१ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App