नेपालगन्ज पश्चिम नेपालको प्रमुख शैक्षिक हबका रुपमा परिचित छ । गुणस्तरीय र उच्च शिक्षा अध्ययनका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य जिल्लाबाट बर्सेनि ठूलो संख्यामा विद्यार्थी नेपालगन्ज झर्छन् । शिक्षा क्षेत्रमा उज्यालो सहरको परिचय बनाएको नेपालगन्जमा शैक्षिक अँध्यारोको दर्दनाक अवस्था छ । त्यो पनि सहरी क्षेत्रभित्र ।
नेपालगन्ज–१८ नम्बर वडाको लग्दहवा गाउँ नेपालगन्ज–कोहलपुर सडकखण्डसँग जोडिएको छ । जुन नेपालगन्जको मुख्य सडक हो । यहाँ मधेसी समुदायको बाक्लो बसोबास छ । जुन वडा सरकार प्रमुखअर्थात वडाध्यक्ष दिपककुमार बर्माको गाउँ पनि हो । वडा सरकार प्रमुख बर्माको घरबाट करिब ५० मिटरको दुरीमा छ, राम जानकी राष्ट्रिय प्राथमिक विद्यालय । जहाँ बालविकासदेखि कक्षा तीनसम्मको पढाइ हुन्छ । लग्दहवा गाउँदेखि ६ कुने चोकसम्मको सडकसँग जोडिएको उक्त विद्यालयको अवस्थाले जनाउछ कि, स्थानीय सरकारले शिक्षालाई कति प्राथमिकता दिएको छ ।
विद्यालयको अवस्था हेर्दा लाग्छ, ‘नगरले शिक्षाका नाममा बर्सेनि खर्च गर्ने ठूलो रकम कहाँ जान्छ ।’ नगरभित्रका शिक्षालयलाई हेर्ने दृष्टिकोण के ? यो प्रश्न जाग्छ र मनमा लाग्छ, ‘शिक्षाको रकम पहुँच र शक्तिको आँडमा खर्च भइरहेको छ ।’ नत्र सहरी क्षेत्रभित्रकै विद्यालय यस्तो दर्दनाक कसरी भयो ?
यहाँ एक÷एक कोठाका दईवटा कच्ची भवन छन् । त्यसमै हुन्छ कार्यालय सञ्चालनदेखि चारवटा कक्षासम्मको पढाइ । शिक्षकले हाजिरी लगाउने काम मात्र विद्यालयमा गर्छन । अन्य प्रशासनिक काम भने कोठा अभावमा विद्यालयका प्रधानाध्यापक मरिचमान विष्टकै कोठाबाट हुन्छ । विद्यालयमा कार्यालयसमेत नभएपछि ती दुईवटै कोठामा पढाइ हुन्छ । बालविकास र कक्षा एकका विद्यार्थी एउटा कोठा र दुई कक्षासँगै तीन कक्षाका विद्यार्थी एउटा कोठामा अध्ययन गर्छन् । जसले शिक्षा सिकाइमा नराम्रो प्रभाव देखिएको छ । ‘कक्षा वृद्धि भइ अर्काे कक्षामा स्तरोन्नति भएका हामीले कसरी नयाँ कक्षाको पढाइ हासिल गर्ने ?,’ एक विद्यार्थीले गुनासो गरे, ‘हामीलाई शैक्षिक अत्याचार भएको छ ।’ विद्यालयको पूर्वाधार अवस्था दर्दनाक हुँदा शिक्षण सिकाइ र अन्य क्रियाकलापमा समेत प्रभाव परेको उनले बताए ।

पूर्वाधार नहुँदा योजनाबद्ध सिकाइमा प्रभाव परेको विद्यालयका प्रधानाध्यापक विष्टले जनाए । ‘विद्यार्थीलाई योजनाबद्ध सिकाइ गर्न समस्या भएको छ,’ उनले भने, ‘योसँगै दैनिक प्रशासनिकदेखि शैक्षिक क्रियाकलापमा गाह्रो भएको छ ।’ विद्यालयको यो दूरावस्था देखेर आफूलाई हिंताबोध हुने भन्दै प्रधानाध्यापक विष्टले भने, ‘कोठाबाट विद्यालयमा आउँदा शैक्षिक उर्जा पैदा हुनु पर्ने हो तर, आत्मगलानी महसुस हुन्छ ।’ विद्यालयको दूरावस्थाले यहाँका विद्यार्थीको शैक्षिक वृद्धि विकासमा असर पु¥याएको छ ।
शिक्षक संगठन बाँकेका पूर्व अध्यक्ष एवम् समाजसेवी युवराज शर्माको प्रयास र लग्दहवा गाउँ समुदायको सहयोगमा २०६४ सालमा यो विद्यालय स्थापना भएको हो । एउटा भवन त्यतिबेला नै निर्माण गरिएको थियो । अर्काे जस्तापाताले छुवाएको पछि निर्माण भएको विद्यालयले जनाएको छ । विद्यालय स्रोतका अनुसार स्थानीय तह निर्माण हुनुभन्दा पहिलानै उक्त भवन निर्माण भएको थियो । स्थानीय तह निर्माण भएपछि नगर र वडाबाट कुनै सहयोग प्रदान नभएको विद्यालयले जनाएको छ ।
यहाँका शिक्षकशिक्षिकाले हाजिरी पुस्तिकामा हाजिर गर्छन् र विद्यार्थीकै टेबलमा उक्त हाजिरी पुस्तिका राख्छन् । विद्यालयका अन्य कागजात विद्यालयमा छैनन् । ठाउँ अभावका कारण कागजात आफ्नै कोठामा राख्ने गरेको प्रधानाध्यापक विष्टले जनाए । ‘अचम्मको कुरा त विद्यालयमा कागजात राख्ने एउटा दराजसमेत छैन,’ उनले भने, ‘दराज नहुँदा कागजात बेवारिसे अवस्थामा विद्यालयमा राख्न गाह्रो छ । छुट्टै कार्यालयसमेत छैन ।’ बालबालिका र कक्षा एकका विद्यार्थी चिसो भूइमा बसेर पढ्छन् । भूइमा कार्पेट बिछ्याइएको छ । उनीहरु त्यही बस्छन् । विद्यालय वरिपरि पर्खालसमेत छैन । जसले गर्दा कक्षा कोठामा विद्यार्थी पढाइ रहेको अवस्थामा गाउँलेका गाईबस्तुसमेत कक्षा कोठामा जाने गरेका छन् । गाईबस्तु कक्षा कोठामा जाँदा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । विद्यालय चुहिन्छ । बर्खामा समस्या हुन्छ ।
उक्त विद्यालयमा झन्डै सतप्रतिशत विद्यार्थी मधेसी समुदायका भएका प्रधानाध्यापक विष्टले जानकारी दिए । यहाँ लग्दहवा गाउँका बालबालिका मात्र आउँछन् । विद्यार्थीको नतिजा ५० प्रतिशत देखिएको छ । यो पनि कागजीरुपमा मात्र भएको भन्दै उनले भने, ‘प्रयोगात्मकरुपमा धेरै कम छ । कागजीरुपमा मात्र ५०÷६० प्रतिशत विद्यार्थीको शैक्षिक नतिजा उल्लेख गरिएको छ ।’
बालविकासमा १५, कक्षा एकमा ४३, दुई कक्षामा २३ र तीन कक्षामा ३६ गरी एक सय १६ जना विद्यार्थी भर्ना भएका छन् । जसमध्ये करिब ५०÷६० जना विद्यार्थी मात्रै दैनिक विद्यालयमा हाजिर हुने गरेका छन् । यस विद्यालयमा दुई दरबन्दी शिक्षक, एक बालविकास र एकजना कार्यालय सहयोगी छन् ।
यस विद्यालयले नयाँ प्रधानाध्यापक पाएको छ । भर्खरै विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा आएका विष्टले विद्यालय सुधारका लागि पहल थालेका छन् । उनले पूर्वाधार निर्माण र शैक्षिक अवस्था सुधारका लागि सम्बन्धित वडा र नगरसँग छलफल सुरु गरेका छन् । वडा र नगरले विद्यालयलाई केही सहयोग गर्ने आश्वासन दिएको उनी बताउँछन् ।
उक्त विद्यालयको अवस्था दयनीय भएकाले यस आर्थिक वर्षमा सात लाख रुपैयाँ विनियोजन भएको वडाध्यक्ष बर्माले जनाए । यस वडामा चारवटा समुदायिक विद्यालय भएको भन्दै उनले भने, ‘अन्य विद्यालयमा पूर्वाधार निर्माणदेखि शैक्षिक गतिविधिमा काम गरेका छौं । यस विद्यालयमा पनि योजना बनाएर काम गर्ने तयारी गरेका छौं ।’ विद्यालय वरिपरि वाल निर्माण, कक्षा कोठा थप र विद्यालयको कार्यालयसँगै स्टोर कोठा निर्माण गर्न रकम विनियोजन गरिएको उनी बताउँछन् । वडामा निश्चित रकम हुने भएकाले सबै विद्यालयमा एकैपटक सहयोग गर्न समस्या भएको उनको भनाइ छ ।
प्रकाशित: २४ माघ २०८१ १९:४० बिहीबार