काठमाडौं विश्वविद्यालय (केयु) ले अंग्रेजी, आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तह कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। स्कुल अफ आटर्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागद्वारा यही माघदेखि सुरु गरिने विश्वविद्यालयले जानकारी दिएको छ।
चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणालीअन्तर्गत आठ सेमेस्टरमा पठनपाठन हुने र विद्यार्थीले एउटै शैक्षिक उपाधिबाट अंग्रेजी, आमसञ्चार तथा पत्रकारिता गरी दुईवटा विधाको विशिष्टीकृत ज्ञान तथा सिप हासिल गर्न पाउने विश्वविद्यालयको स्कुल अफ आटर्सकी डिन एक्कुमाया पुनले बताइन्।
उनले भनिन्, ‘काठमाडौं विश्वविद्यालय नयाँ र मौलिक कार्यक्रममार्फत विद्यार्थीको पेसागत सिप एवं बौद्धिक क्षमता अभिवृद्धि गर्न र व्यावसायिक उत्कृष्टता कायम राख्न प्रतिबद्ध छ। यो कार्यक्रम बहुविधात्मक ढाँचामा तयार गरेका छौं।’
जम्मा १२० क्रेडिटको यस कार्यक्रमले विद्यार्थीको भाषिक सक्षमता, समालोचनात्मक दृष्टिकोण, रचनात्मक लेखन र अन्तरविषयगत अध्ययनलाई प्राथमिकतामा राखेको उनले बताइन्।
अंग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधाहरू तथा बहुविधात्मक सांस्कृतिक अध्ययनका साथसाथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीतिहरू पनि पाठ्यक्रममा समेटिएका छन्। सहभागितामूलक र रूपान्तरणमुखी पद्धतिका माध्यमबाट यो चार वर्षे कार्यक्रमले विद्यार्थीलाई अंग्रेजी भाषा, साहित्य, आमसञ्चार तथा पत्रकारिता र सांस्कृतिक अध्ययन जस्ता विषयमा दक्ष बनाउँदै भविष्यका विविध शैक्षिक, व्यावसायिक तथा सांस्कृतिक भूमिकाका लागि तयार पारेको छ।
कार्यक्रमबारे प्रकाश पार्दै प्राध्यापक डा. अभि सुवेदीले भाषा, साहित्य तथा आमसञ्चारलाई जोड्दै अध्ययनलाई वैश्विक रूपमा सान्दर्भिक बनाउने काठमाडौं विश्वविद्यालयको प्रयास सराहनीय भएको बताए। ‘साहित्य र आम सञ्चारको काम नै स्थापित मान्यता र मानकलाई भत्काउने हो र त्यस कर्ममा यो कार्यक्रम सफल भएको छ,’ उनले भने।
कक्षा १२ वा सोसरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि सञ्चालित यस कार्यक्रममा जम्मा २० जनाको भर्ना लिइने विश्वविद्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत कक्षाकोठा शिक्षण, इन्टर्नसिप, परियोजना कार्य, अनुसन्धान लगायत आन्तरिक तथा बाह्य परीक्षण विधिमार्फत विद्यार्थीको सिकाइको अनुगमन तथा मूल्यांकन गरिने भाषा तथा आमसञ्चार विभागाध्यक्ष डा. निर्मलमणि अधिकारीले बताए।
भाषा तथा आमसञ्चार विभागले यसअघि मिडिया अध्ययनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमका साथै सञ्चार, अंग्रेजी र नेपालीमा विद्यावारिधि कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।
प्रकाशित: २४ पुस २०८१ ०९:०० बुधबार