१० पुस २०८२ बिहीबार
image/svg+xml
शिक्षा

ख्वप विश्वविद्यालयको स्वीकृति अन्तिम चरणमा: मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वर्षौंदेखि चर्चामा रहेको ख्वप विश्वविद्यालयको स्वीकृति अन्तिम चरणमा पुगेको बताएकी छन्।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूको निरीक्षणका लागि मंगलबार भक्तपुर पुगेकी मन्त्री भट्टराईले सरोकारवालासँगको अन्तिम छलफलपछि विश्वविद्यालय स्वीकृति दिने प्रक्रिया टुंगोमा पुग्ने उनले जनाइन्।

उनले ख्वप विश्वविद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको अवलोकन गरिन्। ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ ल, शारदा क्याम्पस माविलगायत सातवटा शैक्षिक संस्थाको निरीक्षण गरी नगरपालिकाले तयार पारेको भौतिक पूर्वाधारप्रति सकारात्मक धारणा व्यक्त गरिन्।

मन्त्री भट्टराईले ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको जानकारी दिइन्। उनले विधेयक संसदबाट पारित भए ख्वप विश्वविद्यालयको स्वीकृति दिने प्रतिबद्धता जनाउँदै नगरपालिकाको प्रयासको सराहना गरिन्।

उनले भनिन्, “ख्वप विश्वविद्यालय स्वीकृतिका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। विधेयक पारित भएपछि विश्वविद्यालय सञ्चालनको बाटो खुल्नेछ।”

भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनका लागि १०८ रोपनी जग्गा प्राप्त गर्न नेपाल ट्रष्टलाई पत्राचार गरिसकेको जानकारी दिए। उनले भने, “सरकारले अनुमति दिने बित्तिकै नगरकै स्वामित्वमा विश्वविद्यालय सञ्चालन गर्नेछौं। ख्वप विश्वविद्यालयमार्फत भक्तपुरलाई उच्च शिक्षाको हब बनाउने हाम्रो लक्ष्य छ।”

नगरपालिकाले ख्वप विश्वविद्यालयमा कला, संस्कृति, विज्ञान, कृषि, कानून, प्रविधि, अर्थशास्त्र, र व्यावसायिक शिक्षालाई प्राथमिकता दिने योजना बनाएको छ।

भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप मावि स्थापना गरी शैक्षिक क्षेत्रमा औपचारिक प्रवेश गरेको थियो। त्यसपछि २०५८ मा ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, र २०६५ मा ख्वप कलेज अफ इन्जिनियरिङ सञ्चालनमा ल्याएको हो। हाल नगरपालिकाले दुई इन्जिनियरिङ कलेजसहित सात वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ।

ख्वप माविमा हाल ६४ जिल्लाका तीन हजार सात सय ३८ विद्यार्थी अध्ययनरत छन्।

संघीय सांसद प्रेम सुवालले मन्त्रीसक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिए। उनले भने, “ख्वप विश्वविद्यालय जनताको विश्वविद्यालयको रूपमा स्थापना गर्नुपर्छ, जसले देशभरका विद्यार्थीलाई सहज रूपमा उच्च शिक्षाको अवसर प्रदान गर्न सक्छ।”

प्रकाशित: १६ पुस २०८१ १८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App