९ माघ २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

अनुत्तीर्ण विद्यार्थीलाई अन्तिम मौका परीक्षा, तर कति पटक ?

राष्ट्रिय परीक्षा बोर्डले एक दशकपछि पुनः कक्षा ११ र १२ मा अनुत्तीर्ण भएका पुराना विद्यार्थीलाई अन्तिम पटकको मौका परीक्षा भन्दै परीक्षा लिने निर्णय गरेको छ।

बोर्डले ०५६ सालदेखि ०७७ सालसम्म फेल भएका वा विषय छुटेका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो। त्यसको लागि बोर्डले रजिस्ट्रेसन फर्म समेत खुलाइसकेको छ।

बोर्डको यस्तो निर्णयसँगै शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूमा विभिन्न बहस सुरु भएका छन्। केहीले बोर्डको यो निर्णय फेल भएका विद्यार्थीहरूका लागि नयाँ सम्भावनाका रुपमा हेरेका छन् भने केहीले मात्र राज्यको रकम दुरुपयोगका रुपमा औँल्याएका छन्। केहीले यस निर्णय विद्यार्थीको हितका लागि भन्दा पनि शिक्षा मन्त्रालयको दबाबमा आएको विश्लेषण गरिरहेका छन्।

यसअघि २०६५ र २०७० सालमा पनि अन्तिम पटकका लागि भन्दै मौका परीक्षा सञ्चालन गरिए पनि अपेक्षाभन्दा कम विद्यार्थी मात्र सहभागी भएका थिए। यस पटक पनि यो परीक्षा सफलतापूर्वक सम्पन्न गर्न चुनौतीपूर्ण हुने देखिन्छ।

पूर्व सदस्य सचिव नारायण कोइरालाले विगतमा डेढ लाख विद्यार्थी सहभागी हुने अपेक्षा गरिए पनि जम्मा १०-१५ हजार विद्यार्थी मात्र उपस्थित भएको अनुभव सुनाउँदै भने, ‘०७० सालमा म आफै परीक्षा परिषद्को सदस्य सचिव हुँदा ०५५ सालदेखि ०७० सालसम्मका फेल भएका विद्यार्थीहरूका लागि अन्तिम एक पटकको अवसर दिने उद्देश्यले मौका परीक्षा संचालन गरेको थिएँ। दबाब आयो, निर्णय गरियो। राज्यले खर्च पनि गर्‍यो। तर अपेक्षा अनुसार विद्यार्थीहरू सहभागी भएनन्।’

उनले बोर्डको हालको सूचना पनि लोकप्रियताको लागि मात्र भएको बताए। ‘यो निर्णय लोकप्रियताको लागि मात्र भएको जस्तो लाग्छ’ कोइरालाले भने, “२५ वर्षअघिका विद्यार्थीहरू अहिले के गर्दै छन्, कहाँ छन्, बुझेर मात्र यस्तो निर्णय लिनु पर्ने थियो।”

उनले अध्ययन विनै हचुवाको भरमा सस्तो लोकप्रियताका लागि यस्तो निर्णय भएको सुनाए। पुराना पाठ्यक्रमका विद्यार्थीले हालको अवस्थामा अध्ययन गरेर परीक्षा दिन पनि चुनौतीपूर्ण हुने उनले धारणा राखे। यसका साथै उत्तर पुस्तिका चेकजाँच गर्न पनि समस्या हुने ‌‍औंल्याए।

‘विगतका अनुभवबारे सूक्ष्म अध्ययन र विश्लेषण गरिएको भए यस पटक बोर्डले अन्तिम पटकका लागि भन्दै मौका परीक्षा सञ्चालन गर्ने निर्णय गर्ने थिएन, होला ’ कोइरालाले भने।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार यो पुनः परीक्षा अन्तिम पटकको लागि मात्र हो। उनले फेल भएका तथा अध्ययन छाडेका करिब १४ लाख विद्यार्थीलाई मंसिर २७ गतेभित्र आवेदन दिने अवसर दिइएको सुनाए। शर्माले भने, “यो अन्तिम अवसर हो, जसले विद्यार्थीलाई आफ्नो अधूरो शिक्षा पूरा गर्ने मौका दिन्छ।”

यसअघि त्रिविले मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन, कानून सङ्काय र विज्ञान तथा प्रविधि संस्थान अन्तर्गतका विद्यार्थीको हकमा वार्षिक प्रणाली तर्फ ०५८ र सेमेस्टर प्रणालीतर्फ ०६९ देखिका फेल भएर समय सीमा काटेका परीक्षार्थीका लागि अन्तिम पटक मौका परीक्षा दिन पाउने निर्णय गरेको थियो। त्रिविका अन्तर्गतका मौका परीक्षाको तयारी सम्बन्धित डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले गरिरहेका छन्।

नियन्त्रक शर्माका अनुसार पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको रुपमा आवेदन फारम भर्ने परीक्षार्थीहरूले रजिस्ट्रेसन नम्बरको ;'रुका दुई अङ्क ५६ र वा सो भन्दा बढी र ७७ वा सो भन्दा कम (कक्षा १२ ) एवं ७६ वा सो भन्दा कम ( कक्षा ११ ) भएकाले कक्षा ११ वा १२  वा दुबैमा आफू अनुत्तीर्ण वा तोकिएको ग्रेड पुरानो ग्रेडिङ प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फारम भर्न सक्ने छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा फारम भरेपछि मात्र केन्द्र तोकिने, समय तालिका प्रकाशन गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने बताए। पुराना पाठ्यक्रम अनुसार पढेका विद्यार्थीलाई दुई वर्ष पुरै पढेर परीक्षा दिन सम्भव नभएकाले यो मौका परीक्षा अवसर हुने उनको तर्क छ।

प्रकाशित: २६ कार्तिक २०८१ १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App