१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

रोकियो ११ हजार विद्यार्थीको पढाइ

फाइल तस्वीर

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ। यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको आतबारसम्मको विद्यालय तथा विश्वविद्यालतर्फको क्षति विवरणअनुसार सबैभन्दा बढी तराईका विद्यालय प्रभावित बनेका छन्।

तेह्रथुमको इन्द्रसरोवर गाउँपालिकामा रहेको वात्सल्यदेवी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका ६ विद्यार्थीको पहिरोमा परी मृत्यु भएको पनि विवरणमा उल्लेख छ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार तराईका सिरहा, सर्लाही, सप्तरी र पर्साका गरी कुल ४२ विद्यालय भवनमा क्षति पुगेको छ भने १० हजार ९ सय विद्यार्थीको पठनपाठन ठप्प बनेको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार रसुवा, सिन्धुली, तेह्थुम, मकवानपुर, हुम्ला, जाजरकोट, पाँचथर, मोरङ, सिरहा, सर्लाही, सप्तरी र पर्सामा धेरै विद्यालयमा क्षति पुगेको छ भने यी क्षेत्रका विद्यार्थीको पठनपाठन ठप्प बनेको छ।

‘शैक्षिकतर्फको क्षतिको विवरण संकलन कार्य मन्त्रालयले जारी राखेको छ,’ प्रवक्ता भट्टराईले नागरिकसँग भने, ‘सबै ठाउँको क्षतिको विवरण आएपछि मन्त्रालयले एक अध्ययन टोली बनाएर समाधानको रणनीति बनाउने र त्यहीअनुसार अघि बढ्ने योजना तय गरेको छ।’

उनले विद्यालयका कक्षाकोठा, पर्खाल, भवन, शौचालयलगायतमा बढी क्षति भएको बताए। ‘थप विवरण आउने क्रममै छ,’ उनले भने। यसैगरी कतिपय बाढी र पहिरो प्रभावित क्षेत्रमा सुरक्षित सामुदायिक विद्यालयहरूलाई नै सेल्टरका रूपमा प्रयोग गरिएको समेत जानकारी मन्त्रालयमा प्राप्त भएको छ।

प्रकाशित: १५ आश्विन २०८१ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App