ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकाले पालिकाका माध्यमिक र आधारभूत तह सञ्चालन भएका सबै विद्यालयमा प्रयोग भइसकेको सेनिटरी प्याड सुरक्षित डिस्पोजल गर्ने मेशिन जडान गरिएको छ।
‘सुरक्षित महिनावारी,हाम्रो जिम्मेवारी’ नारा अनुसारको कामलाई सुरक्षित र स्वच्छ बनाउन पालिकाले प्रयोग भइसकेको सेनिटरी प्याड सुरक्षित व्यवस्थापन गर्ने डिस्पोजल मेशिन जडान गरेको पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिए।
उनका अनुसार पालिकामा माध्यमिक तह सञ्चालनमा रहेका ७ तथा आधारभूत तह(कक्षा १–८) सञ्चालनमा रहेका ८ गरी १५ विद्यालयमा एकसाथ उक्त मेसिन जडान गरिएको छ। पालिकाले जडान भएका उपकरणको उचित व्यवस्थापन तथा संरक्षणमा ध्यान दिन सम्बन्धित विद्यालय प्रशासनलाई आग्रह समेत गरेको छ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले सेनिटरी प्याडको प्रयोग र यसको सुरक्षित व्यवस्थापन दुबैलाई उत्तिकै महत्त्व ठानेर पालिकाको तर्फबाट यो कार्य गरिएको बताए। पालिकाका शिक्षा शाखा प्रमुख सुरेशकुमार पुरीले सेनिटरी प्याडको प्रयोगसँगै यसको सुरक्षित व्यवस्थापनमा देखिएको चिन्ता समाधानमा यो कार्य सार्थक हुने विश्वास लिएका छन्।
प्रकाशित: १८ भाद्र २०८१ १७:४४ मंगलबार



-600x400.jpg)

