२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

‘प्रथम दीक्षान्त समारोह’ को तयारीमा जुट्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ। यही भदौ २३ गते हुने दीक्षान्त समारोहका लागि प्रतिष्ठानले तयारी थालेको छ। 

स्थापनाकालको १३ वर्षपछि पहिलो पटक दीक्षान्त समारोह हुन थालेको प्रतिष्ठानका उपकुलपति डा।मंगल रावलले बताए। समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आईसकेकोले त्यसको तयारीमा जुटेको उनी बताउँछन्। 

उनका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनका लागि योग्य छन्। उपकुलपति डा. रावलले भने, ’प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपति समक्ष पत्र पठाएका थियौं। सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार विहान साढे १० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ। सोही अनुसार तयारी गर्दैछौं।’

उपकुलपति डा. रावलले भने,‘प्रतिष्ठानबाट अहिलेसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ उत्तीर्ण विद्यार्थीहरुलाई दीक्षित गरिनेछ। करिब डेढ दशकपछि पहिलो पटक ऐतिहासिक दीक्षान्त समारोह गर्न पाउँदा खुशी छौँ।’

प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित जम्मा ५६ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन्।

उक्त दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसंगै सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सहभागिता हुनेछ। सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

समारोहमा विश्व स्वास्थ्य संगठनको सहयोगमा ईलोक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ। बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईत, विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा।राजेश सम्भाजीराव पाण्डवसमेत समारोहमा सहभागी हुने जनाइएको छ।

प्रकाशित: ७ भाद्र २०८१ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App