२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

छात्रवृत्ति नतिजाअगावै भर्ना नगर्नुहोला

एसइई उत्तीर्णलाई महानगर मेयर बालेनको आग्रह

काठमाडौं महानगरपालिकाले यसपटक कक्षा ११ मा उपलब्ध गराउने छात्रवृत्ति खेर जान नदिन विद्यार्थीलाई छात्रवृत्ति नतिजाअगावै भर्ना नहुन आग्रह गरेको छ।

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले बुधबार सामाजिक सञ्जालमार्फत सकेसम्म बढीभन्दा बढी विद्यार्थीले देशभरिबाट छात्रवृत्ति परीक्षामा सहभागिता जनाऊन् र महानगरले उपलब्ध गराउने छात्रवृत्तिबाट लाभ उठाऊन् भन्ने उद्देश्यले उनीहरूलाई छात्रवृत्ति नतिजा कुर्न आग्रह गरेका छन्।

बालेनले देशभरिबाट कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिका लागि महानगरले खुला गरेको अनलाइन फाराम भर्नसमेत अनुरोध गरेका छन्। ‘काठमाडौं महानगरभित्र सञ्चालित कक्षा ११ मा अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र ०८१/०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि साउन ४ गते परीक्षा सञ्चालन हुन्छ’, मेयर साहले अनुरोध गरेका छन्, ‘असार २९ गते राति ११ बजेर ५९ मिनेटसम्ममा फाराम भर्न विद्यार्थी भाइबहिनीलाई म आग्रह गर्दछु।’

बालेनले छात्रवृत्ति फाराम भरेका विद्यार्थीलाई नतिजा प्रकाशन हुनुअगाडि भर्ना नहुन आग्रह गरेका छन्। उनले भने, ‘यदि भर्ना भएमा छात्रवृत्तिमा सहजीकरण गर्न सकिन्न।’

काठमाडौं महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१/०८२ का लागि चार हजार ६ सय २४ छात्रवृत्ति कोटा छुट्ट्याइएको महानगरका शिक्षा विभाग प्रमुख गोविन्द शर्माले बताए। उनले छात्रवृत्तिको लाभ उठाउन खोज्ने विद्यार्थीले नतिजा कुर्नैपर्ने बताए।

‘महानगरलाई निजी शैक्षिक संस्थाले उपलब्ध गराएको यसपटकको छात्रवृत्तिअनुसार कुल चार हजार ६ सय २४ मध्ये विज्ञानमा १७५२, व्यवस्थापनमा २४९३, कानुनमा एक सय ३६, शिक्षातर्फ ७० र मानविकीतर्फ एक सय ७३ सिट रहेको छ’, शिक्षा विभाग प्रमुख शर्माले भने, ‘हालसम्म ६ हजार पाँच सयजनाले अनलाइन फाराम भरिसकेका छन्।’

उनले गत वर्ष पर्याप्त सूचना अभावका कारण ५० प्रतिशत छात्रवृत्ति कोटा खेर गएकाले यस वर्ष ती सबै कमीकमजोरी दूर गरी समयमै छात्रवृत्ति फाराम खुलाई आवेदन दिन सूचना प्रकाशित गरिएको बताए। उनले भने, ‘यसपटक विद्यार्थीले भरपूर लाभ लिने महानगरको विश्वास छ।’

महानगरले एसइई उत्तीर्ण देशभरिका विद्यार्थीले छात्रवृत्तिको भरपूर सदुपयोग गर्न पाऊन् भन्ने उद्देश्यले एसइई नतिजा प्रकाशन भएलगत्तै छात्रवृत्तिका लागि आवेदन फाराम अनलाइन खोलेर दूरदराजका विद्यार्थीका लागि सहज वातावरण बनाएको महानगरअन्तर्गतको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले बताए।

उनले यसअनुसार महानगरभित्रका धेरैजसो संस्थागत विद्यालयले पनि कक्षा ११ को नयाँ भर्नाका लागि प्रवेश परीक्षा असार २९ गते सञ्चालन गर्ने तय गरेको जनाए। छात्रवृत्तिका लागि आवेदन दिने योग्य विद्यार्थीले एसइईमा न्यूनतम जिपिए १.६ ल्याई परीक्षा पूरा गरेको हुनुपर्ने मापदण्ड तय गरिएको छ। उनीहरूले सामुदायिक विद्यालयबाट अध्ययन गरी एसइई पूरा गरेको हुनुपर्छ।

‘तर काठमाडौं महानगरपालिकाका स्थायी वासिन्दा, ल्यान्डफिल्ड साइड प्रभावित क्षेत्रका स्थायी वासिन्दा र पाँच प्रतिशत सिटको हकमा संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थी पनि छात्रवृत्तिमा समावेश हुन पाउने व्यवस्था गरिएको छ’, सदस्य इन्जिनियर झाले नागरिकसँग भने, ‘यस्तै आवेदन दिन काठमाडौं महानगरपालिकाका स्थायी वासिन्दाको हकमा जन्मदर्ता वा नागरिकता वा बसाइँसराइको पत्र पेस गर्नुपर्ने छ।’

उनले थपे, ‘ल्यान्डफिल्ड साइडमा प्रत्यक्ष प्रभावित क्षेत्र नुवाकोट जिल्ला ककनी गाउँपालिकाको वडा नं १, २, ३ र धादिङ जिल्लाको धुनिबेसी नगरपालिका वडा नं १, ३, ४ का स्थायी वासिन्दाले छात्रवृत्तिका लागि सहभागिता जनाउन पाउनेछन्। यस्ता विद्यार्थीले सम्बन्धित वडाको सिफारिस पत्र, नागरिकता वा जन्मदर्ता पेस गर्नुपर्ने छ।’

विद्यार्थीले संस्थागत विद्यालयमा कक्षा १० सम्म छात्रवृत्तिमा अध्ययन गरेको हुनुपर्ने छ।

संस्थागत विद्यालयले उपलब्ध गराउने कम्तीमा १० प्रतिशत छात्रवृत्तिलाई शतप्रतिशत मानी महानगरले कोटा निर्धारण गरेको छ, जसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत र संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई पाँच प्रतिशत कोटा निर्धारण गरेको छ।

‘यसैगरी काठमाडौं महानगरभित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि १४ प्रतिशत र ल्यान्डफिल्ड साइडका प्रभावित क्षेत्रका सामुदायिक/संस्थागत विद्यालयमा अध्ययन गरेकाको हकमा एक प्रतिशत कोटा निर्धारण गरिएको छ’, सदस्य इन्जिनियर झाले भने, ‘बाँकी रहेको ४० प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागु हुने गरी छात्रातर्फ ३३ प्रतिशत, आदिवासी/जनजातितर्फ १५ प्रतिशत कोटा निर्धारण गरिएको छ।’

यसैगरी मधेसीतर्फ १२ प्रतिशत, दलित नौ प्रतिशत, खस–आर्य १७ प्रतिशत, मुस्लिम दुई प्रतिशत, थारू चार प्रतिशत, अपांगता व्यक्ति दुई प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्ति चार प्रतिशत, सहिद÷बेपत्ता पारिएका नागरिकको परिवार/द्वन्द्वपीडित नागरिकका परिवारलाई दुई प्रतिशत कोटा निर्धारण गरिएको छ। ‘यहाँ यस खण्डको परियोजनाका लागि पिछडिएको क्षेत्रका व्यक्ति भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी वसोबास गरिरहेको व्यक्तिलाई जनाउँछ’, इन्जिनियर झाले भने, ‘आरक्षण क्षेत्रमा तोकिएबमोजिम संख्या विद्यार्थी उपलब्ध नभएमा काठमाडौं महानगरवासीलाई प्राथमिकता दिइने छ।’

गत वर्ष महानगरपालिकाले छात्रवृत्तिसम्बन्धी पहिलोपटक व्यवस्थापन गरेकाले पर्याप्त सूचना प्रवाह गर्न सकेको थिएन। यसकारण पनि गत वर्ष महानगरको छात्रवृत्तिसम्बन्धी खासै तयारी पुगेको थिएन। जसका कारण कागजात अपलोड गर्न नजानेका, कलेज म्याचिङ गर्न प्राथमिकता छनोट गर्न नजानेका, अनलाइनसँग अभ्यस्त नभएका तथा वेबसाइट खोल्नसमेत नजानेका कारण विद्यार्थीको छात्रवृत्ति खेर जाने अवस्था आएको थियो।

गत वर्ष शिक्षा, विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा प्राविधिक विषयका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा कुल सिट संख्या चार हजार तीन सय ४५ कायम गरिएको थियो। परीक्षामा कुल ६ हजार १७ परीक्षार्थी सहभागी थिए, जसमध्ये चार हजार पाँच सय ५१ जना पूर्ण छात्रवृत्ति परीक्षामा पास भए पनि ५० प्रतिशत छात्रवृत्ति कोटा खेर गएको थियो।

प्रकाशित: २७ असार २०८१ ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App