२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसइईमा अनुत्तीर्णको अभिभावक महानगर!

एसइईका पूरक परीक्षार्थीलाई क्याम्पमा पढाउने शिक्षकका लागि आयोजित प्रशिक्षण कार्यक्रम।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका तर अनुत्तीर्ण भएका विद्यार्थीलाई पूरक परीक्षामा उत्तीर्ण गराउन विशेष पहल थालेको छ। परीक्षा दिएका कुल विद्यार्थीमध्ये अनुत्तीर्ण २२ प्रतिशतलाई पूरक परीक्षामा जसरी पनि उत्तीर्ण गराउने उद्देश्यले महानगरले आइतबारबाट क्याम्पमा राखेर परीक्षा तयारी गराउन थालेको छ।

महानगरले स्रोत केन्द्रहरूमा क्याम्पको व्यवस्थापन गरेपछि विद्यालय तथा अभिभावक खुसी भएको काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए। अनुत्तीर्ण २२ प्रतिशत विद्यार्थीलाई एसइईको पूरक परीक्षामा उत्तीर्ण शतप्रतिशत नतिजा पुर्‍याउन महानगरले विद्यार्थीलाई स्रोत केन्द्रहरूमा राखेर खाजा र खाना उपलब्ध गराई शिक्षकहरूको व्यवस्था गरी आइतबारबाटै पढाउन सुरु गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको नतिजाअनुसार एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको नतिजा भने सामुदायिकतर्फ ७८ प्रतिशत छ।

देशको समग्र एसइई नतिजामा सामुदायिक स्कुलको उत्तीर्ण प्रतिशत ३५.६५ प्रतिशत मात्र रहेकोमा काठमाडौंको सरकारी विद्यालयबाट उच्च नतिजा अर्थात् ४ जिपिए ल्याउने विद्यार्थी १० जना छन्।

विद्यार्थीलाई खुसी बनाएको हुनाले नै अहिलेको उच्च नतिजा हासिल भएको महानगरको बुझाइ छ। ‘महानगरका सामुदायिक विद्यालयको उत्तीर्ण नतिजा ७८ प्रतिशत छ तर २२ प्रतिशत अनुत्तीर्ण विद्यार्थीको पनि महानगरको अपनत्व लिनु निकै महत्त्वपूर्ण कुरा हो,’ प्रअ कँडेलले नागरिकसँग भने, ‘विद्यार्थीलाई स्रोत केन्द्रमा क्याम्पमै राखेर उनीहरूको कमजोरी पत्ता लगाई विषयगत शिक्षकको व्यवस्थापन महानगरले गरेको छ। महानगरले विद्यार्थीका लागि खाना र खाजाको समेत व्यवस्था गरेको छ। यसबाट विद्यार्थी, अभिभावक र विद्यालयको भावनात्मक सम्बन्ध बनेको छ। महानगरले आफ्नो विद्यार्थीको अभिभावकत्व लिएकोमा सबै खुसी हुनुभएको छ।’

महानगरभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागी हुन ३ हजार ९५९ विद्यार्थीले आवेदन दिएका थिए। जसमध्ये ३ हजार ८६ जना अर्थात् ७७.९४ प्रतिशत उत्तीर्ण भए। ८७३ जना अर्थात् २२ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने भएको छ।

‘हाम्रो महानगरभित्रका विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प बनाएर कक्षा सुरु गरिएको हो। विद्यार्थी केन्द्रित स्रोत केन्द्रहरू छनोट गरिएका छन्,’ महानगरअन्तर्गतको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले नागरिकसँग भने, ‘यी कक्षाहरूमा विद्यार्थी ल्याएर पास गराउनभन्दा पनि शिक्षण सिकाइको उपयुक्त वातावरण तयार गर्न जोड दिएका छौं।’

उनले अनुत्तीर्ण विद्यार्थीको अगाडि बढ्ने अवसर अहिलेसम्म नगुमेको प्रतिक्रिया दिँदै भने, ‘विद्यार्थीलाई उपचारात्मक कक्षा सञ्चालन गरी शिक्षण सिकाइको वातावरण तयार पारिएको छ। यस प्रकारको वातावरण तयार पार्न विद्यार्थीलाई स्वच्छ खाना र खाजाको समेत प्रबन्ध गरिएको छ। १ सय जना शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन थालिएको उनले जानकारी दिए।

झाका अनुसार अहिले बर्खे बिदाको समय भएकाले त्यसको सदुपयोग गर्न पनि विद्यार्थीलाई केन्द्रमा राखेर कक्षा सञ्चालन गरिएको हो। शिक्षकलाई प्रोत्साहन स्वरुप केही रकम दिने व्यवस्था समेत गरिएको छ। व्यक्तिगत परामर्श, पियर लर्निङ (दुई जनाका बीचमा हुने अन्तक्र्रियात्मक सिकाइ) र समूहगत सिकाइजस्ता विधि अवलम्बन गरेर कक्षा सञ्चालन गरिनेछ।

‘यो महानगरका लागि पनि परीक्षा हो,’ सचिवालय सल्लाहकार सस्मित पोखरेलले भने, ‘विद्यार्थीलाई कठिन लागेको विषयमा उनीहरू अनुत्तीर्ण भएका हु्न्। यही कठिन विषयमा उनीहरूमा रुचि जगाउनु छ, अध्ययनका लागि उत्प्रेरित गर्नु छ। यसमा ग्रेड वृद्धि गराउनु छ। यो परीक्षा विद्यार्थीको नभएर महानगरको हो। जसरी पनि उत्तीर्ण गर्नुपर्ने अवस्था छ।’

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी विद्यार्थीमध्ये ५४५ जना अर्थात् १७.६६ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको इन्जिनियर झाले बताए। गत वर्ष ४ जिपिए ल्याउने ३.८३ प्रतिशत मात्र थिए।

यसरी हेर्दा गएको वर्षभन्दा उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष बढेको छ। यसपटक महानगरले विद्यार्थीलाई पायक पर्ने केन्द्रबाट शिक्षण सिकाइ गराउने व्यवस्था गरेको छ। जसका लागि ६७ वटा कक्षा सञ्चालन भइरहेका छन्।

प्रकाशित: २४ असार २०८१ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App