२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरद्वारा एसइई पूरक परीक्षाको तयारी कक्षा सुरु

काठमाडौं महानगरपालिकाले आइतबारदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एसइई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ।

२०८० सालको एसइईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड पाउन नसकेका (एनजी) ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो। कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छुट्टाछुट्टै तयारी बैठक गरेका थिए।

महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ३ हजार ८६ जना (७८%) ले ग्रेड प्राप्त गरेका थिए। बाँकी ८७३  जना (२२%) विद्यार्थी ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुँदै छन्।

विषयगत रुपमा हेर्दा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन्। यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन्।

इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण छन्।

यी विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्रले बताए। 

झा भन्छन्, ‘यी कक्षाहरु पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि हुन्।’ भनाइलाई थप स्पष्ट पार्दै उनले भने, ‘पास गराउन पाठ पढाइन्छ। पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ। केही विग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ।’

महानगरका अनुसार ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्नेछन्। विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढ्न सक्छने महानगरकाे अनुमान छ।

प्रकाशित: २३ असार २०८१ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App